पाँचथर- जिल्ला शिक्षा कार्यालय पाँचथरका सव-इन्जिनियरलाई १ लाख २५ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। अख्तियारको क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले जिल्लाको एक विद्यालय विद्यालयबाट घुसलिइरहेको अवस्थामा मनोज कुमार यादवलाई पक्राउ गरेको हो। विद्यालयको नाम गोप्य राखिएको छ।
टोलीका अनुसार कार्यालय समय सुरु भएको एक घण्टाको समयमा यादवलाई कार्यालयमै घुस लिँदै गर्दा पक्राउ गरेको हो। जिल्लाको एक विद्यालयको भवन निर्माणको फर्स्यौट सम्बन्धमा यादवले घुस लिएको खुल्न आएको छ।
विद्यालयको चार कोठे निर्माणको क्रममा काम ढिला भएर रोकिएको खाता सञ्चालन तथा फर्स्यौटका लागि को १ लाख २५ हजार घुस मागेको बताइएको छ। उजुरीका आधारमा अख्तियारको टोलीले घुस लिँदै गर्दा यादवलाई पक्राउ गरेको हो।
विद्यालय भवनका लागि ७० प्रतिशत कार्यालयले र बाँकी ३० प्रतिशत स्थानीयले रकम जुटाउनुपर्ने हुन्छ। स्थानीयले जुटाउनुपर्ने रकम मिलाइदिने र बाँकी १ लाख ६० हजार फर्स्यौट गरी तथा खाता फुकुवा गर्न लागि यादवले घुस मागेको अख्तियार स्रोतले जानकारी दिएको छ।
२४ लाखको ४ कोठे विद्यालय भवन निर्माणको क्रमममा घुस मागेको खुल्न आएको छ। थप अनुसन्धानका लागि क्षेत्रीय कार्यालय लैजाने तयारी भएको छ।
प्रकाशित: ६ असार २०७४ ०७:०६ मंगलबार