८ वैशाख २०८१ शनिबार
अन्य

संघर्षले खारिएकी तारादेवी

नामः तारादेवी सुवेदी
शिक्षाः साक्षर
घरको जिम्मेवारीः एक्लै (दुई सन्तानसमेतको)
मासिक आम्दानीः कम्तीमा ३०–४० हजार रुपैयाँ

माथिको परिचय झट्ट हेर्दा औपचारिक शिक्षा प्राप्त नगरेकी एउटी महिलाको मासिक आम्दानी कम्तीमा ३०–४० हजार रुपैयाँ भइरहेको देख्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । हुँदा पनि हो, विश्व विद्यालयका उच्चशिक्षाका थुप्रै उपाधि प्राप्त गरिसकेका कैयन युवायुवतीलाई राजधानीमा गुजारा चलाउनसम्म गाह्रो परिरहेको बेला एउटी साक्षर मात्र भएकी महिलाले सहजै ३०–४० हजार रुपैयाँ कमाउन सक्नु त्यति सजिलो भने पटक्कै छैन ।
आफूले गर्दै आइरहेको काम लगनशील भएर गर्ने हो भने मेहनत गर्नेलाई सामान्य रूपमा जिउने मात्र नभई फुर्माइस गर्ने रकमको समेत जोहो गर्न खासै गाह्रो हुँदैन भन्ने उदाहरण बनेकी छिन्– चितवन, राप्ती नगरपालिका–४ भण्डाराकी तारादेवी सुवेदी ।
...
२०५९ सालमा श्रीमान्सँग सम्बन्ध विच्छेद हुँदा तारादेवीलाई लागेको थियो– ‘अब जिन्दगी चलाउन नसकिने भयो ।’ एकातिर हातमा औपचारिक शिक्षाको प्रमाणपत्र थिएन भने अर्कोतर्फ एक सुको आम्दानी हुने कुनै स्रोत थिएन ।
त्यसमा स्कुल जाने अवस्थामा पुगिसकेका दुई सन्तानको पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारी उनीमाथि थियो । उनले वैदेशिक रोजगारीमा जाने निधो गरिन् । २०६६ सालमा अस्पतालको क्लिनरमा भन्दै रिचहुड म्यानपावरले उनलाई लेबनान पठायो । ६० हजार रुपैयाँ असुलेको म्यानपावरले अस्पतालको क्लिनर भनेर पठाए पनि तारादेवीलाई लेबनानमा ‘हाउसमेड’ को काममा लगाइयो । नेपालबाट जाने बेला दैनिक आठ घण्टा काम गर्ने बताइए पनि लेबनानमा दैनिक १६–१७ घण्टा काम गर्नु उनको दैनिकी बन्यो । ‘कुनै दिन चौबिसै घण्टा पनि काममा जोतिनुपर्यो,’ उनले भनिन्, ‘कहिलेकाहीँ त काम गर्दागर्दै मर्छु कि भन्ने पनि लाग्थ्यो ।’
उनलाई त्यहाँ टिक्न गाह्रो भयो । मासिक अमेरिकी तीन सय डलर पारिश्रमिक पाइने म्यानपावरसँगको सम्झौता भए पनि घर मालिकले उनलाई एक सय डलरभन्दा बढी दिन नसकिने बतायो । त्यो पनि घर मालिकले म्यानपावरलाई बुझाएको २ हजार ३ सय डलर काममा चुक्ता गरिसकेपछि मात्र । महिनामा एक सय डलर कटौती गर्दै २ हजार ३ सय डलर चुक्ता गर्नु कम्ती गाह्रो थिएन । जसोतसो उनी छ महिना लेबनानमा बसिन् । त्यसपछि भाइलाई उद्धार गरिदिन आग्रह गरिन् । विभिन्न निकायसँग हारगुहार माग्दै भाइले दिदीलाई उद्धार गरी घर फर्काए ।
घर फर्केपछिको अवस्था झन् विकराल थियो । यसपटक छोराछोरीको लालनपालन र शिक्षादीक्षा मात्र नभई लेबनान जाँदाको ६० हजार ऋण पनि थपिएको थियो । तैपनि, उनले हार खाइनन् । केही वर्ष काठमाडौँका विभिन्न कार्यालयमा जस्तो काम पाइन्छ त्यसै गर्दै गुजारा गरिन् । यता छोराछोरी हुर्कँदै थिए । अर्काको काम गरेर खर्च व्यवस्थापन गर्न नसकिने भएपछि तारादेवीले आफ्नै काम गर्ने विचार गरिन् ।
२०७१ सालतिर उनले साढे पाँच लाख रुपैयाँ ऋण लिएर काठमाडौँको स्युचाटारमा उनले सुरु गरिन्, ‘तारा स्टेसनरी’ । त्यसपछि आफू र छोराछोरीको गुजारा चलाउन खासै गाह्रो नभएको उनी बताउँछिन् ।  ‘बीबीएस अध्ययनरत दुई छोराछोरी र आफ्नो खर्चको जोहो यही स्टेसनरीबाट जुटाइरहेकी छु,’ उनी भन्छिन्, ‘वैदेशिक रोजगारीमा नगएको भए मैले सायद संघर्षको महत्व बुझ्दैन थिएँ होला !’
स्टेसनरी सुरु गर्दाको ऋण सकिँदै गएको उनी बताउँछिन् । ‘ऋण बिस्तारै घट्दैछ, अब व्यापार–व्यवसाय विस्तार गर्दै समाजमा छुट्टै पहिचान बनाउने सोच छ,’ उनी भन्छिन् ।

 

प्रकाशित: ६ असार २०७४ ०८:०३ मंगलबार

नागरिक परिवार