७ वैशाख २०८१ शुक्रबार
राजनीति

महानगरका प्रत्येक वडालाई २२ लाख

 काठमाडौं- काठमाठौं महानगरपालिकाले असार मसान्तभित्र कार्यक्रम तय गर्न महानगरपालिकाभित्रका ३२ वडालाई २२ लाख २५ हजार रुपैयाँका दरले बजेट दिने निर्णय गरेको छ।

मंगलबार बसेको नगर कार्यपालिकाको दोस्रो बैठाकले चुनावबेला जनप्रतिनिधिसमक्ष गरेका केही प्रतिवद्धताहरु पुरा गर्न चालु आर्थिक वर्ष २०७३/०७४ भित्रै कार्यक्रम तय गर्न बजेट दिने निर्णय गरेको हो। 

‘स्थानीय तहको निर्वाचनबाट निर्वाचित महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुले मतदातासमक्ष महानगरपालिकाको विकास निर्माण, सहरी सेवा द्रुत गतिमा गर्ने प्रतिवद्धता जनाएका छन्,’ महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यले भने, ‘ती प्रतिवद्धता तत्कालै पुरा गर्नको लागि सबै वडालाई विभिन्न शिर्षकमा बराबरी बजेटको व्यवस्था गरिएको हो ।’ पाँच वटा उपशिर्षकमा खर्च गर्न पाउने गरी बजेट उपलब्ध गराइने उनले बताए।

प्रमुख शाक्यका अनुसार सडक तथा फुटपाथ व्यवस्थापनको लागि १० लाख, ढुंगा तथा इटा छाप्नको लागि ७ लाख, ढल मर्मतको लागि ३ लाख, सडक सरसफाईको लागि २ लाख र अतिथि सत्कारको लागि २५ हजार रुपैयाँ बजेको व्यवस्था गरिएको छ । उक्त बजेटमा असार मसान्तभित्र कार्यक्रम तय भएर सञ्चालन भइसक्नुपर्ने छ । तत्कालको लागि एउटा वडामा २२ लाख बराबर बजेटले जन्ताको दैनिकीमा प्रत्यक्ष असर गर्ने धेरै समस्याको समधान गर्न सकिने अनुमान महानगरको छ।

सबै वडामा सडकको कारणले धेरै समस्या भइरहेको हुँदा सडकलाई केन्द्रमा राखेर बजेट उपलब्ध गराइएको शाक्यले बताए।

बैठाकले निर्वाचित बनेर आएका जनप्रतिनिधिको मासिक तलब पनि व्यवस्था गरेको छ। ‘जनप्रतिनिधिको पदबहालीसँगै सेवा सुविधा पाउनुपर्ने भएपनि स्थानीय तह कार्यसञ्चालन कानुन नहुँदा तलब सुविधा पाउन सकिरहेका छैनन्,’ शाक्यले भने, ‘यसैलाई मध्येनजर गर्दै चालु आर्थिक वर्षको बजेटमा तलब पारिश्रमिक सुविधा शीर्षकमा विनियोजित बजेमा फरक नपर्ने गरी ३५ लाख रुपैयाँ थपघट गर्नेगरी जनप्रतिनिधिको तबल सुविधाको लागि बजेट व्यवस्था गरिएको छ।’

त्यसैगरी, निर्वाचित पदाधिकारीहरु महानगरपालिका नगर कार्यपालिका अन्तर्गत रहेर जिम्मेवारी अनुसार कार्य सम्पादनको बाटो खुलेको पनि बैठाकले स्पष्ट पारेको छ।

४ जना कर्मचारीलाई उप–निर्देशकमा बढुवा, महानगरको हालको प्रशासनिक सांगठानिक संरचनाको पुर्नसंरचना गर्न २ महिनाभित्र विज्ञ समूह खडा, १४ जिल्लाका भूकम्प पीडितलाई उपलब्ध गराउने १५ सय ट्याक्सी उपत्यकामा नचलाउने लगातयतका आठ वुद्धे निर्णय बैठकले गरेको हो ।

त्यसैगरी, महानगरपालिकाले दिँदै आएको ८८ वर्ष नाघेकालाई सम्मान स्वरुप वार्षिक १० हजार रुपैयाँ महानगर भक्ता उपलब्ध गराउँदै आएकोमा चालु आर्थिक वर्षभित्र दुई हजार थप गरी १२ हजार पुर्याई तत्काल वितरणको गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख शाक्यले जानकारी दिए।

प्रकाशित: ६ असार २०७४ १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App