१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोनाल्डोले रियाल छाड्ने !

मड्रिड(एएफपी)– पछिल्ला केही दिनमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस कर अधिकारीहरूको व्यवहारबाट रुष्ट बनेको र रियाल मड्रिडले समेत पर्याप्त समर्थन नगरेको भन्दै युरोपियन च्याम्पियन टोली छोड्ने चेतावनी दिएका खबर सार्वजनिक हुँदै आएका छन्।

तर रियाल छोड्ने रोनाल्डोको चेतावनी आधिकारिक हो वा हल्ला मात्र भन्ने पुष्टि हुन सकेको छैन ।

पोर्चुगलका केही सञ्चारमाध्यमले विश्वका महँगा खेलाडी रोनाल्डो रियालबाट बाहिर लागेको भन्दै उनी जान सक्ने सम्भावित क्लबको बारेमा समेत उल्लेख गरेका थिए ।

त्यस्तै इटालियन पत्रिका गाजेट्टा डेल्लो स्पोर्टलले आइतबार रोनाल्डो जर्मन महारथी बायर्न म्युनिख जान सक्ने उल्लेख गर्दा ब्रिटेनका सञ्चारमाध्यमले उनी प्रिमियर लिग टोली चेल्सी, पूर्वक्लब म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन जान सक्ने बताएका छन् ।

तर रोनाल्डोले सान्टियागो बर्नाबेउ छोड्न लागेको बारेमा रियाल मड्रिड र स्वयम् रोनाल्डोेले कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । हाल रोनाल्डो अन्तरमहादेशीय कपका लागि रसियामा छन्।

गत मंगलबार स्पेनिस कर अधिकारीले पोर्चुगिज स्ट्राइकरले सन् २०११ र १४ को बीचमा १ करोड ४७ लाख युरो कर छलीको आरोपमा मुद्दा दर्ता गरेका थिए ।

उक्त आरोप पुष्टि भएमा ३२ वर्षे स्ट्राइकरमाथि २ करोड ८० लाख मिलियन जरिवाना र साढे तीन वर्षको जेल सजाय हुन सक्ने स्पेनिस कर कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

रियालले रोनाल्डोमाथि लागेको आरोपमा कुनेै सत्यता नभएको भन्दै उनले आफू निर्दोष रहेको प्रमाणित गर्ने बताएको थियो  । साथै क्लबले उनीप्रति पूर्ण विश्वास रहेको समेत बताएको थियो।

‘हामीलाई थाहा छ उनले स्पेनको कानुनबमोजिम बुझाउनुपर्ने सम्पूर्ण कर बुझाएका छन्,’ रियालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘कहीलेकाहीँ चुप लागेर बस्नु नै सही जबाफ हो,’ रोनाल्डोले गत बिहीबार सामाजिक सञ्जाल इन्स्ट्राग्राममा लेखेका छन् ।

यता स्पेनको एक पत्रिकाले आइतबार रियालका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई क्लबमै रहन मनाउन आफ्नो बिदा छोट्याएको उल्लेख गरेको छ ।

गत मेमा रियाललाई ५ वर्षपछि ला लिगाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले कर छलीको आरोपपछि स्ेपनिस सञ्चारमाध्यमले आफूलाई कैदीसरहको व्यवहार गरेको बताएका थिए ।

‘मानिसहरूले मेरो बारेमा थाहा नपाए पनि विभिन्न अड्कलबाजी गर्दै हिँड्छन् यसले मलाई निराश बनाएको छ । तपार्इंहरु मेरो वास्तविकता थाहा नपाई अनावश्यक रूपमा मेरा विरुद्ध हल्ला फिँजाउँदै हुनुहुन्छ । म भगवान् होइन, तर म अरूले सोचेजस्तो राक्षस पनि होइन ।’

प्रकाशित: ७ असार २०७४ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App