७ वैशाख २०८१ शुक्रबार
खेल

अस्ट्रेलियाले पुनरागमन गर्ने प्रशिक्षकको विश्वास

सोची(एएफपी)– कन्फेडेरेसन कपको पहिलो खेलमा जर्मनीसँग ३–२ ले पराजित भएपछि निराश बनेका अस्ट्रेलियाका मुख्य प्रशिक्षक एङ्गे पोस्टेकोग्लुले बिहीबार हुने क्यामरुनविरुद्धको खेलमा टोलीले पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतियोगिता सुरु हुनुअघि गत साता मेलबर्नमा भएको ब्राजिलसँगको मैत्रीपूर्ण खेलमा ४–० को पराजय बेहोरेको अस्ट्रेलिया फेरि विश्वविजेता जर्मनीसँग स्तब्ध भएको छ। सोमबार सोचीमा जर्मनीले कम अनुभवी युवा खेलाडीलाई स्थान दिएको थियो।

जर्मनीले पाँचौं मिनेटमा लार्स स्टेनडलको गोलबाट अग्रता लिएको थियो । ४१औं मिनेटमा टोम रोजिकले बराबरी गोल फर्काए । पहिलो हाफको अन्तिम मिनेटमा जर्मनीका कप्तान युलियान ड्राक्सलरले पेनाल्टीमा गोल गर्दै पुनः जर्मनीलाई अग्रता दिए । ४८औं मिनेटमा लियोन गोरेट्जकाले जर्मनीका लागि अर्को गोल थपे । त्यसको ८ मिनेट नबित्दै टोमी जुरिकले गोल गर्दै अस्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरे पनि टोली सफल हुन सकेन ।

रोविइ क्रुज र जेम्स ट्रोइसीले जर्मन गोलकिपरलाई दबाब दिए पनि अस्ट्रेलियाले बराबरी गर्न सकेन । प्रशिक्षक पोस्टेकोग्लु टोलीले गरेको सुरुआतबाट असन्तुष्ट रहे ।

‘यो नतिजाबाट सन्तुष्ट हुन सकिँदैन । पहिलो हाफमा हामीले राम्रो गर्न सकेनौं,’ अस्ट्रेलियाका प्रशिक्षक पोस्टेकोग्लुले भने, ‘दोस्रो हाफमा हामीले सुधारिएको प्रदर्शन ग¥यौं । तर नतिजा निकाल्न सकेनौं । त्यसको जिम्मेवारी मैले लिनुपर्छ । खेलाडीलाई दोष दिने ठाउँ छैन । उनीहरूले पहिलो हाफमै अग्रता लिएकाले हाबी भए ।’

पछिल्लो पटक २००५ को कन्फेडेरेसन कपमा अस्ट्रेलियाले खेलेका तीनै खेलमा पराजय भोगेको थियो। अस्ट्रेलियाले अब समूह ‘बी’ को दोस्रो खेलअन्तर्गत सेन्ट पिटर्सबर्गमा क्यामरूनसँग प्रतिस्पर्धा गर्नेछ। मुख्य खेलाडीबिना उत्रिएको जर्मनीसँग पराजित भएको अस्ट्रेलियालाई क्यामरूनले पनि कडा चुनौती दिने निश्चित छ।

‘यसमा कुनै शंका छैन। विश्वको उत्कृष्ट टोलीविरुद्ध खेल्नु सहज पक्कै हुने छैन,’ ५१ वर्षे प्रशिक्षक पोस्टेकोग्लुले भने, ‘जर्मनीले हामीलाई बायाँ भागबाट दबाब दियो । दोस्रो हाफमा हामीले त्यसमा सुधार गर्‍यौं। उनीहरूले हाम्रो कमजोरी पहिल्याउँदै पाएको अवसरलाई सदुपयोग गरे। त्यस्तो गल्ती क्यामरुनविरुद्ध नदोहोरिने विश्वास लिएको छु।’

जर्मनीका प्रशिक्षक जोचिम लोउले २०१३ मा पोस्टेकोग्लुले प्रशिक्षणको जिम्मा सम्हालेपछि अस्ट्रेलियाको प्रदर्शनमा सुधार आएको बताए । लोउले २०१० विश्वकपको समूहचरणमा जर्मनीसँग ४–० पराजित भएयता अस्ट्रेलियाले लामो यात्रा तय गरिसकेको विश्वास व्यक्त गरे ।

‘२०१० मा मैले देखेको अस्ट्रेलियन टोलीमा अहिले धेरै सुधार आइसकेको छ । तथापि उनीहरूले लामो बल खेल्न मन पराए जसले गर्दा हामीलाई सहज भयो,’ लोउले भने, ‘पछिल्लो तीन वर्षमा कुनै पनि टोलीले त्यस्तो सकारात्मक सुधार गरेका छैनन् ।’

विश्वकप जित्दा पहिलो रोजाइमा परेका खेलाडीलाई घरमै छाडेर आएको जर्मनीका प्रशिक्षकले युवा खेलाडीलाई मौका दिएका छन् । टोलीका सबै खेलाडीको अन्तर्राष्ट्रिय अनुभव जोड्दा १ सय ३८ खेल मात्र हुन्छ । प्रशिक्षक लोउले चिलीविरुद्ध पनि युवा खेलाडीले मौका पाउने बताए ।

‘खेलाडीहरूले एकै ठाउँमा बसेर १० दिन मात्र अभ्यास गरेका छन् । जति समय हामीले सँगै बितायौं। त्यसअनुसार हामीले धेरै राम्रो गरेका छौं,’ लोउले भने, ‘चिलीविरुद्धको खेल भिन्न हुनेछ । उनीहरू तीव्र गतिमा फुटबल खेल्छन् । यो प्रतियोगिताको मात्र नभएर उनीहरू विश्वकै उत्कष्ट टोली हुन् । उनीहरू अनुभवी छन् र प्रत्येक खेलाडी राम्रा छन् । त्यसैले हामीले ९० मिनेट नै राम्रो खेल्नु आवश्यक छ।’

 

प्रकाशित: ७ असार २०७४ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App