coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अमेरिकी अवार्डमा दीपिकाको मनोनयन

मुम्बई – एक्सन लेडीको रूपमा फिल्म ‘ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केज’बाट हलिउड फिल्ममा डेब्यु गरेकी बलिउड अभिनेत्री दीपिका पादुकोण सोही फिल्मबाट अमेरिकाको एउटा अवार्डमा मनोनयनमा परेकी छिन् । दीपिका ‘टिन च्वाइस अवार्ड’का लागि सोही फिल्मबाट एक्सन अभिनेत्रीको रूपमा मनोनयनमा परेकी हुन् । हालसालै सार्वजनिक मनोनयनमा दीपिकाले ‘वन्डर वुमन’की गाल गादतसँग प्रतिस्पर्धा गर्नेछिन् । सोही विधाका लागि अन्य चार अभिनेत्री पनि मनोनयनमा छन् । जसअनुसार काया स्कोडेलारिया ‘पाइरेटस् अफ दि क्यारबियन’बाट उत्कृष्ट एक्सन लेडीको रूपमा मनोनयनमा छिन् भने माइकल रोड्रिगेज ‘फास्ट एन्ड फ्युरियस’को आठौं शृंखलाबाट मनोनयनमा परेकी छिन् । दीपिकाका अन्य प्रतिस्पर्धीमा निना डोबरेभ र रुबी रोज पनि छन् जो दीपिकाकै फिल्मबाट मनोनयनमा परेका हुन्। 

कान्स फिल्म फेस्टिभलमा यसै साल डेब्यु गरेकी दीपिकाका लागि यो दोस्रो अवार्ड शो हुनेछ जहाँ उनले सहभागिता जनाउनेछिन् । पहिलो फिल्मबाटै हलिउडमा आफ्नो छाप छाड्न सफल दीपिकाले सोही कारण ‘ट्रिपल एक्स’कोे चौथो शृंखलामा पनि ठाउँ पाइसकेकी छिन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका निर्देशक डिजे कारुसोले फिल्मकी अर्की कलाकार रुबी रोजले इन्स्टाग्राममा राखेको तस्बिरमा कमेन्ट गर्दै फिल्ममा दीपिका पनि हुने खुलासा गरेका थिए। 

गत वर्ष ‘एक्सएक्सएक्सः रिटर्न अफ जेन्डर केज’ले विश्वव्यापी ३ सय ४६ मिलियन अमेरिकी डलर कमाइ गरेको थियो । तर, दीपिकाभन्दा पहिले हलिउडमा पाइला टेकेकी प्रियंका चोपडाले अवार्डको मनोनयनमा कुनै स्थान पाएकी छैनन् । प्रियंकाको पनि डेब्यु फिल्म ‘बेवाच’ यही साल रिलिज भएको थियोे । प्रियंकाले फिल्मबाट कुनै मनोनयन नपाए पनि उनका को–एक्टर ड्वाइने जोनसोनले हास्य विधालगायतका तीन विधामा मनोनयन पाएका छन्। 

दीपिका हाल सञ्जयलीला भन्सालीको फिल्म ‘पद्मावती’मा साहिद कपुर र रणवीर सिंहसँग अभिनय गरिरहेकी छिन् । यो फिल्म आगामी नोभेम्बर १७ मा रिलिज हुँदैछ। 

टिन च्वाइस अवार्ड त्यस्तो फिल्म तथा टिभी शोलाई दिइन्छ जसले ठूलो संख्यामा दर्शक रिझाउँछ। 

प्रकाशित: ७ असार २०७४ ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App