coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रातो प्लेट राखेर सरकारी गाडी दुरुपयोग

काठमाडौं- सुरक्षाका कारण देखाउँदै सयौं सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर सञ्चालन गरेको पाइएको छ। निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसाधनको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेबारे कुनै निकायले अनुगमन गरेको छैन।

गृह मन्त्रालयले एक वर्षयता दुई सयभन्दा बढी सवारीसाधनलाई निजी नम्बर प्लेट राखेर प्रयोग गर्न दिएको छ। संवैधानिक निकाय तथा प्रायः सबै मन्त्रालयका उच्च अधिकारीले रातो नम्बर प्लेट प्रयोग गरेका छन्। सुरक्षा खतरा छ वा छैन भन्नेबारे अध्ययन नगरी गृहले निजी नम्बर प्लेट राख्ने अनुमति दिएको स्रोतले बतायो।

सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटका सवारी प्रयोग गर्न नपाइने हुँदा सरकारी अधिकारी व्यक्तिगत काममा रातो नम्बर प्लेटका गाडी प्रयोग गर्छन्।

द्वन्द्वकालमा सरकारका उच्च अधिकारीलाई सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर प्रयोग गर्न दिने गरिएको थियो। शान्ति स्थापना भई संविधान निर्माण भइसकेको अवस्थामा पनि सरकारी अधिकारीले निजी प्लेट नम्बर राखेर गाडी चलाउन छाडेका छैनन्।

निजी नम्बर प्लेट माग गर्दै निवेदन दिनेको संख्या सयभन्दा बढी रहेको गृह स्रोतले जानकारी दियो। 'सरकारी गाडीलाई निजी नम्बर प्लेट बनाइपाऊँ भनी धेरै सरकारी अधिकारीको निवेदन दिएका छन्,' स्रोतले भन्यो। 

सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटका सवारी प्रयोग गर्न नपाइने हुँदा सरकारी अधिकारी व्यक्तिगत काममा रातो नम्बर प्लेटका गाडी प्रयोग गर्छन्। 'बिदाको दिनमा प्रयोग गर्न सजिलो भएका कारण पनि सरकारी अधिकारीले रातो नम्बर प्लेटतर्फ आकर्षित भएको देखिन्छ,' एक उच्च सरकारी अधिकारीले भने।

रातो नम्बर प्लेट राख्ने क्रम बढ्दै गएपछि संसद्को सुशासन तथा अनुगमन समितिले गत फागुनमा रोक्न निर्देशन दिएको थियो।   निजी नम्बर प्लेटमा परिवर्तन भएका सवारीसाधनलाई तुरुन्त सरकारी नम्बरमा परिवर्तन गर्नसमेत सरकारलाई निर्देशन दिएको थियो। तर समितिको निर्देशन कार्यान्वयन हुन सकेको छैन।

रातो प्लेटका गाडीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग र विभिन्न मन्त्रालयमा उपलब्ध गराइएको गृह स्रोतले जानकारी दियो। अख्तियार दुरुपयोग अनुन्धान आयोगलाई रातो नम्बर प्लेटका एक सय पाँचवटा कार उपलब्ध गराइएको छ।

अर्थ मन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय र वन मन्त्रालयका धेरैजसो गाडी निजी नम्बर प्लेटका छन्। निजी नम्बर प्लेट राखेर प्रयोग भइरहेका गाडीमा स्कारपियो जिप, मर्सिडिज कार, बोलेरो जिप, हुन्डाई कार, फोर्ड, क्रेटा जिप, होन्डा जिप, प्राडो जिप, इसुजु टुपर, फच्युन जिप, स्ट्रोम जिप, पोलो कार छन्। अर्थ सचिवले बा २ झ २००२ र २००३ का हुन्डाई जिप, बा २ झ २३२९ र बा २ झ २३२८ जिप तथा बा २ झ २०५७ नम्बरको स्कारपियो जिपमा रातो नम्बर प्लेट राखेर प्रयोग गरिरहेका छन्। 

अर्थ मन्त्रालयका पदाधिकारीका नाममा निजी नम्बर प्लेट राख्न अनुमति लिइएका बा २ झ २००० र बा २ झ १९९८ र बा २ झ १९९७ नम्बरका प्राडो जिप अहिले पनि प्रयोग भइरहेका छन्।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई बा १६ च ४६१० नम्बरको स्कारपियो जिप रातो नम्बर प्लेट राखेर प्रयोग गर्न दिइएको छ।

भौतिक मन्त्रालयका सहसचिवलाई बा २ झ ७६४ नम्बरको जिपमा रातो नम्बर प्लेट राखेर प्रयोग गर्न दिइएको छ। बा २ झ २२१४ नम्बरको फोर्ड गाडीमा रातो नम्बर प्लेट राखेर भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका महानिर्देशकले प्रयोग गरिरहेको पाइएको छ। महानिर्देशकले बा २ झ २२७१ नम्बरको कार पनि रातो नम्बर प्लेटको छ। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले रातो नम्बर प्लेट राखेर चढ्दै आएको बा २ झ १७०२ नम्बरको प्राडो जिप अहिले उच्च अधिकृतले प्रयोग गरिहेको पाइएको छ।  

वन तथा भूसंरक्षण मन्त्रालयका चारवटा गाडीलाई रातो नम्बर प्लेट दिइएको छ। मन्त्रालयमा बा २ झ १५२५ को जिप र २२०३ नम्बरको कार रातो नम्बर प्लेट राखेर प्रयोग गरिएको छ। 

यसैगरी, बा १ ञ्ा २०२९ नम्बरको फोर्ड गाडी र वन तथा भूसंरक्षण मन्त्रालयका महानिर्देशकले बा २ झ १५२५ नम्बरको जिपलाई रातो नम्बर प्लेट राखेर प्रयोग गरिरहेका छन्।  

पशुपक्षी विकास मन्त्रालयले बा २ झ १९७७ नम्बरको स्कारपियो जिपमा रातो नम्बर प्लेट राखेर प्रयोग गरेको छ। 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बा २ झ १०५५ को स्कारपियो जिपलाई रातो नम्बर प्लेट राखेर प्रयोग गरेको छ।

नेपाल कानुन आयोगका उपाध्यक्षलाई पनि बा २ झ २२०३ नम्बरको स्पोर्ट कारमा रातो नम्बर प्लेट राखेर प्रयोग गर्न दिइएको छ। परराष्ट्र मन्त्रालयका सचिवले चढ्ने बा २ झ २०७७ नम्बरको जिपमा रातो नम्बर प्लेट राखिएको छ।

परराष्ट्र मन्त्रालयको राहदानी विभागमा बा २ झ १९३३ नम्बरको मर्सिडिज कार र बा २ झ १५२७ नम्बरको स्कारपियो जिपमा रातो नम्बर प्लेट राखेर प्रयोग गर्न दिइएको छ। 

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा बा २ झ ९५९ नम्बरको स्कारपियो जिप उपलब्ध गराइएको छ। सामान्य प्रशासन मन्त्रालयका सचिव चढ्ने बा १ झ ८५१९ नम्बरको बोलेर जिपमा रातो नम्बर प्लेट राखिएको छ।

शिक्षक सेवा आयोगका अध्यक्षलाई बा २ झ १९६५ नम्बरको स्कारपियो जिप उपलब्ध गराइएको छ।

सिँचाइ मन्त्रालयमा बा २ झ १०५० नम्बरको जिप रातो नम्बर प्लेट राखेर प्रयोग गर्न दिइएको छ। त्यस्तै  म १ झ ९५ नम्बरको रातो नम्बर प्लेटको कार अहिले पनि सिँचाइ मन्त्रालयमा प्रयोग भइरहेको छ।

सिँचाइ मन्त्रालयका सचिवले बा १ झ ९२९५ नम्बरको जिप पनि रातो नम्बर प्लेट राखेर प्रयोग गरिहेका छन्।

जनसंख्या तथा वातावरण मन्त्रालयका सचिवलाई पनि बा २ झ २०६४ नम्बरको जिपमा रातो नम्बर प्लेट उपलब्ध गराइएको छ। वाणिज्य मन्त्रालयमा पनि बा २ झ २३४६ नम्बरको जिपमा रातो नम्बर प्लेट  उपलब्ध गराइएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवले  बा १ झ ९२६४ नम्बरको जिपमा रातो नम्बर प्लेट प्रयोग गरेर चढेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचललाई पनि बा २ झ २१२७ नम्बरको स्कारपियो गाडीमा रातो प्लेट नम्बर राखेर प्रयोग गर्न दिइएको छ।

कृषि विकास मन्त्रालयका सचिवले बा १ झ ९९९२ नम्बरको हुन्डाई कारमा रातो नम्बर प्लेट राखेर चढ्ने गरेका छन्।

आपूर्ति मन्त्रालयका सचिवले बा १ ञ्ा २१४४ नम्बरको जिप रातो नम्बर प्लेट राखेर चढ्ने गरेका छन्। सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पनि बा १ झ ९१२६ नम्बरको जिपमा रातो नम्बर प्लेट राखेर  प्रयोग गरिएको छ। प्रशासकीय अदालतका अध्यक्षले पनि दुईवटा बा २ झ १३७१ र बा २ झ ९२७ फोर्ड गाडीमा रातो नम्बर प्लेट राखेर प्रयोग गरेका छन्। शिक्षा मन्त्रालयले बा १ झ ९९१४ नम्बरको कारमा रातो नम्बर प्लेट राखेको छ।

प्रकाशित: ८ असार २०७४ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App