coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रभुत्व जोगाउन/भत्काउन प्रतिस्पर्धा

अजित तिवारी/दुर्गा दुलाल

विराटनगर- नयाँ मेगा सिटीका रुपमा हेरिएको विराटनगर महानगरपालिकामा चुनावी सरगर्मी बढ्दै गएको छ। उम्मेदवारहरू मतदाताको घरदैलो, टोल र चिया पसलमा पुगेर मत मागिरहेका छन्।

विराटनगर उपमहानगरबाट महानगरपालिका बनेको धेरै भएको छैन। यसलाई मोरङ जिल्लाकै आकर्षण केन्द्रका रुपमा हेरिएको छ। विराटनगरलाई एक नम्बर प्रदेशको सम्भावित राजधानीका रुपमा पनि हेरिएको छ।

विराटनगरमा कांग्रेस आफ्नो पकड कायमै राख्ने रणनीतिअनुसार चलेको छ भने एमाले–फोरम लोकतान्त्रिक नेपाल गठबन्धन तथा संघीय समाजवादी फोरम–माओवादी गठबन्धन त्यसलाई तोड्ने कसरतमा छन्।

विराटनगर विगतमा नेपाली कांग्रेसको नेतृत्व गरेका  कोइराला परिवारको अस्तित्वसँग पनि गाँसिएको छ। बिपी र जिपी कोइरालादेखि शेखर कोइरालासम्मको राजनीतिक परिचय धानेको छ विराटनगरले। महानगरपालिकाभित्र संसदीय निर्वाचनका ५, ६ र ७ क्षेत्र पर्छन्। यी कांग्रेस नेता अमृत अर्याल, महेश आचार्य र शेखर कोइराला निर्वाचित क्षेत्र हुन्। उनीहरू यस क्षेत्रका चर्चित र केन्द्रीय राजनीतिमा प्रभाव पार्ने नेता हुन्। त्यसैले पनि विराटनगरमा कांग्रेसले आफ्नो पकड कायमै गर्ने र अन्य पार्टी त्यसलाई तोड्ने हिसाबले प्रचारमा सक्रिय छन्। यसै कारण विराटनगर महानगरपालिकाको चुनावमा प्रभुत्व कायम राख्ने र भत्काउनेबीच प्रतिस्पर्धा हुने विश्लेषण राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको छ। विराटनगरलाई कांग्रेसको पकड क्षेत्रका रुपमा हेरिन्छ।

'नेपाली कांग्रेस र एमालेले मेयर पदमा चर्चित अनुहार उठाएका छन्', आचार्यले भने, 'स्थानीय तहमा प्रभावशाली र केन्द्रसँग सम्बन्ध भएको उम्मेदवारले  बाजी जित्ने देखिन्छ।' 

कांग्रेसलाई घरभित्रैबाट चुनौती

चुनावमा कांग्रेसको मुख्य चुनौती पार्टीभित्रैबाट हुने अन्तर्घात रहेको विश्लेषण आचार्यको छ। टिकट पाउने र नपाउने नेता एकै ठाउँमा उभिएर प्रचारमा नजानु कांग्रेसका लागि आन्तरिक चुनौती रहेको उनको बुझाइ छ। मेयरमा टिकट पाउने चर्चामा रहेका सांसद अमृत अर्याल, महिला नेत्री डिला संग्रौला र टिकट पाएका भीम पराजुली  एकैमञ्चमा उभिएको आफूले नदेखेकाले यसलाई आन्तरिक समस्याका रुपमा हेनुपर्ने आर्चायले बताए। केन्द्रीय नेताहरूले आफू अनुकूल कार्यकर्ताहरूको गुट बनाएकाले पनि कांग्रेसलाई समस्या पर्ने उनको बुझाइ छ। शेखर कोइराला, मिनेन्द्र रिजाल, सुजाता कोइराला र महेश आचार्यले  आफूअनुकूल  'कोटरी' निर्माण गरेको अवस्थामा कांग्रेसले एक भएको सन्देश दिन नसके असर चुनावमा पर्ने उनले बताए। 'हुन त सबै केन्द्रीय नेताले कांग्रेसले जित्नुपर्ने सर्तमा काम गरेको देखाउन खोजेका छन्,' उनले भने, 'त्यसलाई व्यावहारिक कार्यान्वयन गरे भने मात्र जित निश्चित छ नत्र समस्या हुन सक्छ।'

कांग्रेसभित्रको विवादबाट फाइदा लिने तयारीमा एमाले र संघीय समाजवादी फोरमका उम्मेदवार छन्। स्थापना कालदेख कांग्रेसलाई नेतृत्व दिएको कोइराला परिवारको विरासतका रुपमा हेरिएको र १ नम्बर प्रदेशको राजधानी हुने सम्भावना बोकेकाले पनि विराटनगरमा पकड जमाउने प्रयासमा दलहरू देखिन्छन्।

एमालेले विजय गच्छादार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम तथा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले माओवादी केन्द्रसँग  चुनाव गठबन्धन गरेका छन्। कांग्रेसले कसैसँग तालमेल गरेको छैन।

संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवले एक्लै पनि कांग्रेसलाई टक्कर दिने अवस्थामा रहेका बेला माओवादी केन्द्रसँग तालमेल भएपछि आफूहरू झन् बलियो भएको  दाबी गरे।  'तालमेलपछि हामी  मेयर र उपमेयर दुवै पद जित्नेमा निश्चिन्त छौं', उनले भने, '९ वटा वडामा अहिलेसम्म हाम्रो जित निश्चित छ।

विराटनगरमा एमालेका चुनावी कमान्डर लालबाबु पण्डित पनि आफ्नो गठबन्धनका उम्मेदवारले जित्ने निश्चित रहेको दाबी गर्छन्। '२०५४ सालमा हामीले विराटनगरको मेयर जितेका थियौं। अहिले संगठन झन् बलियो भएकाले जित्नेमा ढुक्कै छौं', पण्डितले भने, 'जनाधार हाम्रै पक्षमा देखिएकाले अधिकांश वडामा जित्ने निष्कर्षमा पुगेका छौं।' 

कांग्रेस  मोरङ अध्यक्ष डिगबहादुर लिम्बुले आफ्नो  जनाधार  पुरानो रहेकाले जित्नेमा ढुक्क रहेको बताए। 'संविधानसभा चुनावमा पनि महानगरपालिकाभित्र पर्ने तीनवटा निर्वाचन क्षेत्रमा हामीले जितेका थियांै' उनले भने, 'सबै वडामा हामी नै अघि छांै, मेयरसहित सबै पद जित्छौं।'

एमालेसँग तालमेल गरेको नेपाल लोकतान्त्रिक फोरम मोरङ अध्यक्ष भक्तिनाथ माझीले यसपटक फरक नतिजा आउने बताए। यसपटक लोकतान्त्रिक र एमाले गठबन्धनले मेयर र उपमेयरसहित बहुमत वडामा जित्ने उनको दाबी छ। वडा तहमा भने तालमेल छैन। 

त्रिपक्षीय प्रतिस्पर्धा

विराटनगर महानगरपालिकाको मेयरमा  कांग्रेसका भीम पराजुली उम्मेदवार छन्। कांग्रेसबाट उपमेयरमा इन्दिरा कार्की मैदानमा छिन्। त्यसैगरी एमालेबाट मेयरमा विनोद ढकाल उम्मेदवार छन्। एमालेले नेपाल लोकतान्त्रिक फोरमसँग तालमेल गरेको छ। यो गठबन्धनबाट उपमेयरमा लोकतान्त्रिक फोरमबाट सूची चौधरी उम्मेदवार छिन्।

त्यस्तै संघीय समाजवादी फोरमबाट उमेश यादव मेयर उम्मेदवार छन्। यादवलाई माओवादी केन्›ले साथ दिएको छ। माओवादी केन्द्रबाट उपमेयरमा नमिता न्यौपाने छिन्। 

१९ वडा रहेको यो महानगरपालिकामा १ लाख १२ हजार ८ सय ३२  मतदाता छन्। त्रिपक्षीय प्रतिस्पर्धा भए पनि प्रमुख पद जित्नका लागि ३५ हजारभन्दा माथि मत ल्याउनुपर्ने देखिन्छ।

संविधानसभा चुनाव परिणाम

महानगरपालिकाभित्र पर्ने निर्वाचन क्षेत्र नम्बर ६ र ७ मा दोस्रो संविधानसभामा लोकतान्त्रिक फोरमका उम्मेदवार कांग्रेससँग थोरै मतले पराजित भएका थिए। यस आधारमा लोकतान्त्रिक फोरम विराटनगरमा कांग्रेसपछिको दोस्रो शक्ति हो। दोस्रो संविधानसभा निर्वाचन परिणामलाई आधार मान्ने हो भने माओवादी तेस्रो र एमाले चौथो हुन्। अहिले दोस्रो शक्ति लोकतान्त्रिक फोरमसँग एमालेले तालमेल गरेको छ।

दोस्रो संविधानसभा निर्वाचनको समानुपातिक मत परिणाम हेर्दा कांग्रेस पहिलो, राप्रपा दोस्रो, फोरम नेपाल तेस्रो, फोरम लोकतान्त्रिक चौथो, माओवादी पाँचौं र एमाले छैठौं स्थानमा छन्।

समानुपातिकतर्फ दोस्रो संविधानसभामा कांग्रेसले २९ हजार, राप्रपाले २३ हजार, फोरम नेपालले १८ हजार, फोरम लोकतान्त्रिकले १५ हजार, माओवादीले १२ हजार र एमालेले ११ हजार मत पाएका थिए।

ढुक्क कोही छैनन्

तीनै पार्टीले आफूले जित्ने दाबी गरे पनि कसैका लागि पनि जित हासिल गर्ने सहज अवस्था भने देखिँदैन। मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका कांग्रेस, एमाले र संघीय समाजवादी फोरमका उम्मेदवार कुनै पनि हालतमा जित्ने रणनीतिमा छन्।

कांग्रेसभित्र मतभेद रहेको भन्दै विपक्षीले प्रचार गरिरहेका छन् भने कांग्रेस केन्द्रीय नेताले यहाँ अड्डा जमाएर आफू एक भएको सन्देश दिएका छन्। केन्द्रीय नेता शेखर कोइराला घरदैलोमा जुटेका छन्। संघीय समाजवादी फोरमले अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिक अध्यक्ष गच्छादारलाई विराटनगर ल्याउने तयारी गरिरहेका छन्।

प्रकाशित: ८ असार २०७४ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App