७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएनले सेनालाई सघाउने

काठमाडौं- गैरआवासीय नेपाली संघ(एनआरएन)ले नेपाली सेनालाई सघाउने सम्झौता भएको छ। सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र संघका तर्फबाट अध्यक्ष शेष घलेले समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेका हुन्। सहयोगको मापदण्ड र अवस्था निर्धारणका लागि सेना र संघको संयुक्त कार्यदल बनाउने समेत सहमति भएको छ। सेनाले संघसँग दुई वर्ष अवधिको समझदारी पत्रमा हस्ताक्षर गरेको हो।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार संघले विपद् व्यवस्थापनमा सेनालाई सहयोग तथा सहकार्य गर्ने समझदारी भएको हो। नेपाली सेनाको विपद् व्यवस्थापनमा क्षमता अभिवृद्धि गर्नका लागि आवश्यक सहयोग संघले उपलब्ध गराउनेछ। सेनाले नेपाल सरकार रक्षा मन्त्रालयबाट स्वीकृति भएबमोजिम कार्यक्रम सम्पन्न हुने जनाएको छ।

रक्षा मन्त्रालयले निर्धारण गरेका मापदण्ड अनुसार विपद् व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन,  उद्धार एवं राहत वितरण तथा सहकार्यका क्षेत्र निर्धारण गरिएको छ। संयुक्त कार्यदल निर्माण गरी सहयोगको क्षेत्र र आधार तय गर्नेसमेत समझदारी भएको हो। 

समझदारीले विपद्को समयमा खोज, उद्धार तथा राहत वितरण गर्र्न सहज हुनुका साथै पीडितहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयले जनाएको छ।

प्रकाशित: ६ श्रावण २०७३ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App