coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

निगरानी बढाउन यादवको निर्देशन

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनका क्रममा राजनीतिक दल र उम्मेदवारबाट हुने पैसाको चलखेल र आचारसंहिता उल्लंघनमा निगरानी बढाउन निर्देशन दिएका छन्।

असार १४ गते हुने निर्वाचनको वातावरण र गतिविधि अध्ययन गर्न बुधबार आयोजित अनुगमनकर्ता अभिमुखीकरण कार्यक्रममा यादवले निर्वाचनका बेला हुने दल र नेताका गतिविधिमा निगरानी बढाउन निर्देशन दिए। 'निर्वाचन प्रचारप्रसारका क्रममा हुन सक्ने आचारसंहिता उल्लंघन र पैसाको चलखेल रोक्न निगरानीसहित सूचना संकलन गरी आयोगलाई उपलब्ध गराउनुस्,' यादवले भने, 'कुन उम्मेदवारले कति खर्च गरेका छन्? कति पैसा बाँडेका छन्? मौन अवधिको उल्लंघन भएको छ कि छैन? निर्वाचनको स्वच्छता र मर्यादामाथि प्रश्न उठाउने काम हुन भएन, यो निर्वाचनलाई नमुना बनाउने ढंगले काम गर्नुहोला।'

तथ्यांक संकलन र सञ्चार व्यवस्थापनका लागि भनेर आयोगले थुप्रै विज्ञ नियुक्त गरे पनि चार दिनसम्म कुल उम्मेदवारको संख्या यकिन गर्न सकेको छैन।

आयोगले बुधबारदेखि नै दोस्रो चरणको निर्वाचनका लागि ७५ जना सूक्ष्म अनुगमनकर्ता खटाएको छ। स्थानीय तहको निर्वाचनमा संवेदनशील मानिएका गाउँपालिका र नगरपालिकामा आयोगले उपसचिव र अधिकृत गरी ७५ सूक्ष्म अनुगमनकर्ता खटाएको हो। प्रमुख आयुक्त यादवले राजनीतिक दलका नेतासँग समदुरी कायम गरी काम गर्न समेत अनुगमनकर्तालाई निर्देशन दिएका छन्।

दोस्रो चरणअन्तर्गत ३५ जिल्लाका ३ सय ३४ तहमा हुने निर्वाचनका लागि आयोगले बुधबारदेखि निर्वाचनको वातावरण र गतिविधिको अध्ययन गर्न अनुगमनकर्ता खटाएको हो। यादवले दोस्रो चरणको निर्वाचनअन्तर्गत उम्मेदवारी दर्तामा देखिएको सहभागिता प्रशंसनीय रहेको बताए। आयोगले निर्वाचनमा धेरै मतदाता सहभागी गराउने कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ।

अनुगमनमा आयुक्त

निर्वाचन आयोगले निर्वाचन अनुगमन गर्न आयुक्तको नेतृत्वमा छुट्टाछुट्टै अनुगमन टोली खटाएको छ। आयोगले दोस्रो चरणअन्तर्गत निर्वाचन हुने तीन प्रदेशमा आयुक्तको नेतृत्वमा छुट्टै अनुगमन टोली खटाएको हो। आयोगले प्रदेश नम्बर १ मा निर्वाचन आयुक्त नरेन्द्र दाहाल, प्रदेश नम्बर ५ मा ईश्वरीप्रसाद पौडेल र प्रदेश नम्बर ७ मा सुधीरकुमार साहको नेतृत्वमा अनुगमन टोली खटाएको छ।

उम्मेदवार कति, आयोगसँगै तथ्यांक छैन

उम्मेदवारले मनोनयन दर्ता गराएको चार दिन बितिसक्दा पनि उम्मेदवारको वास्तविक संख्या निर्वाचन आयोगले उपलब्ध गराउन सकेको छैन।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार दोस्रो चरणअन्तर्गत ३ सय ३४ स्थानीय तहमध्ये ३ सय १८ स्थानीय तहको विवरणमात्रै आयोगले प्राप्त गरेको छ, जसअनुसार ३ सय १८ स्थानीय तहमा ५९ हजार ६ सय जनाले उम्मेदवारी दिएका छन्। पछिल्लो समयमा मुलुकमा टेलिफोन, इमेल, इन्टरनेट र अन्य अत्याधुनिक सूचना प्रविधिको विकासका कारण एक ठाउँको सूचना छिनभरमै अर्काे ठाउँमा पुग्ने भए पनि निर्वाचन आयोग भने आफैंले गरेको काममा पनि बेखबर छ।

तथ्यांक संकलन र सञ्चार व्यवस्थापनका लागि भनेर आयोगले थुप्रै विज्ञ नियुक्त गरे पनि चार दिनसम्म कुल उम्मेदवारको संख्या यकिन गर्न सकेको छैन। आयोगका प्रवक्ता शर्माले केही ठाउँमा टेलिफोन र इन्टरनेट सुविधा नपुगेका कारण सबै तथ्यांक आइनसकेको बताए। 'भौगौलिक विकटता र सञ्चारको पहुँच नभएका कारण १६ स्थानीय तहको उम्मेदवार सूची आउन बाँकी छ,' आयोग प्रवक्ता शर्माले भने, 'मनोनयन दर्ता गराएका उम्मेद्धारको कुल संख्या समेत अहिलेसम्म नआइएकाले उम्मेदवारी फिर्ता लिएपछि अन्तिम उम्मेदवार कति कायम भए भन्ने तथ्यांक आउन केही दिन लाग्छ।'

प्रकाशित: ८ असार २०७४ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App