काठमाडौं- बहुसँख्यक नेपालीको बोलीचालीको भाषा नेपाली हो। तर यसै भाषामा सन्तोषजनक अंक ल्याउन नसक्दा ६५ हजारभन्दा बढी विद्यार्थीका लागि कक्षा ११ पढ्ने ढोका बन्द भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई) को नतिजामा कुल ४ लाख ६२ हजार १ सय ३६ विद्यार्थीले परीक्षा दिएकोमा नेपाली विषयमा डि (२० देखि ३० मुनि) र ई ग्रेड (२० भन्दा कम) प्राप्त गर्ने कुल ६५ हजार ७० विद्यार्थी छन्। ए प्लस अर्थात् ९० भन्दामाथि अंक ल्याउनेको संख्या १ सय ८१ मात्र छ।
सरकारले यस वर्ष विज्ञान, व्यवस्थापन, मानविकी, प्राविधिक शिक्षालगायत जुनसुकै समूहमा अध्ययन गर्न अनिवार्य नेपालीमा डि प्लस अर्थात् ३० देखि ४० मुनि अंक प्राप्त गर्नैपर्ने अनिवार्य आधार तोकेको छ। जसले गर्दा यस वर्ष कक्षा ११ मा नेपाली विषयकै कारणले भर्ना हुनबाट ६५ हजारभन्दा बढी विद्यार्थी रोकिने भएका छन्।
नेपालीमा किन धेरै विद्यार्थी डि र ई ग्रेड प्राप्त गरेका हुन् भन्नेबारे गहन अनुसन्धान हुनुपर्ने परीक्षा नियन्त्रक अम्बिका रेग्मी औल्याउँछन्। उनले सबै स्कुलले अंग्रेजी, गणित र विज्ञानलाई प्राथमिकता दिने र नेपालीको पठनपाठनमा हेलचक्रयाइँ गर्नाले पनि नेपालीमा कमजोर नतिजा भएको उनको आकलन छ। 'गत वर्ष पनि धेरै विद्यार्थी नेपाली विषयमै कमजोर थिए,' नियन्त्रक रेग्मीले भने, 'अब सरकारले नेपाली भाषामा विद्यार्थीको कमजोरीबारे अध्ययन गरी सुधारको बाटो खोज्नुपर्छ।'
शिक्षाविद् टंकनाथ शर्माको विश्लेषणमा दात्री निकायको इशारामा सरकारले नीति तथा कार्यक्रम तय गर्ने गलत प्रवृत्तिका कारण समग्रमा विद्यार्थीको नतिजा कमजोर भएको छ। नेपालीलाई नकारात्मक नजरले हेर्ने भएकाले पनि यस विषयमा नतिजा कमजोर भएको उनको ठहर छ। 'नेपाली भाषामा कमजोर नतिजा आउनु भनेको विद्यार्थी नभएर नेपाली विषयका शिक्षक असफल हुनु हो,' शिक्षाविद् शर्माले भने, 'शिक्षकले विद्यार्थीलाई कक्षाकोठामा नेपाली सिकाउनुको साटो विद्यालयलाई जागिर खाने थलो बनाएका छन्।' उनले राष्ट्रिय,कामकाजी, मातृभाषा र लेखपढ गर्ने माध्यम नेपाली भाषामा धेरै विद्यार्थी कमजोर हुुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। अभिभावकले पनि अंग्रेजी भाषा बोल्ने स्कुल खोज्छन्। नेपाली भाषा माध्यम भएको स्कुल रुचाउँदैनन्। आफनै भाषालाई विदेशी भाषाजस्तो मान्ने गलत मानसिकताका कारण नेपाली भाषा ओझेलमा पर्दै गएको उनको ठम्याइ छ।
'मेरै आँखाअगाडि एउटा निजी स्कुलमा नेपाली बोलेकै कारण विद्यार्थीलाई एक पटकमा ५ रूपैयाँ जरिवाना तिराइएको थियो,' शिक्षाविद् शर्माले भने। शिक्षाको स्तर बढाउन देशको परिवेशअनुसार नानीहरूलाई शिक्षा दिनुपर्ने उनको सुझाव छ।
अर्का शिक्षाविद् बासुदेव काफ्लेले स्कुलमा नेपाली विषयका विज्ञ नहुनु र जुनसुकै विषय भएकाले पनि नेपाली पठनपाठन गराइदिनाले पनि विद्यार्थीलाई नेपाली बुझ्न नै असहज भएको बताए। 'सरकारले विद्यालयमा दरबन्दी दिँदा पनि अंग्रेजी,गणित,विज्ञानलाई नै प्राथमिकता दिन्छ। भाषिक समूहमा राखिने हुँदा नेपाली प्राथमिकतामा पर्दैन,' शिक्षाविद् काफ्ले भन्छन्, 'अचेल निजी विद्यालयसँग अंग्रेजी भाषाकै लागि सामुदायिक विद्यालयले प्रतिस्पर्धा गर्न थालेका छन्। उनले धेरै सामुदायिक स्कुलले समेत नेपाली माध्यमलाई विस्थापित गरी अंग्रेजी माध्यम अपनाएको छन् जनाए। सरकराले नेपाली भाषा जोगाउनका लागि अभियान नै सञ्चालन गर्नुपर्र्ने उनको कथन छ।
प्रकाशित: ८ असार २०७४ ०३:२५ बिहीबार