७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भतिजा हटाएर छोरालाई युवराजधिराज घोषणा

रियाद- साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले वर्तमान युवराजधिराजलाई हटाएर आफ्ना छोरा मोहमद बिन सलमानलाई साउदी युवराजाधिराज घोषणा गरेका छन्। साउदीका राजाले यसअघि भतिज मोहम्मद बिन नायफलाई युवराजाधिराज नियुक्त गरेका थिए। राजा सलमानले भतिजालाई बर्खास्त गरी आफ्ना छोरा मोहम्मद बिनलाई युवराजाधिराज बनाएका छन्।

साउदी प्रेस एजेन्सीले बुधबार साउदी राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृत गर्दै दिएको समाचारमा उक्त विषय उल्लेख गरिएको छ।

साउदीका राजाको आदेश अनुसार मोहम्मद बिनलाई युवराजधिराजका साथै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा पनि नियुक्त गरिएको राजदरबारबाट प्रकाशित सूचनालाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।

यस अगाडि साउदी राजतन्त्रका उत्तराधिकारीका रुपमा लिइएका वर्तमान राजाका ५७ वर्षे भतिजा युवराज मोहम्मद बिन नायफलाई भने आन्तरिक सुरक्षाको प्रमुखको जिम्मेवारीबाट पनि हटाइएको बिबिसीले उल्लेख गरेको छ।

जिम्मेवारीबाट हटाएर साउदी राजसिहांसनको पदबाट विमुख गराइएपनि युवराज नायफले आफू नयाँ युवराजप्रति पूर्ण निष्ठावान् रहने प्रतिज्ञा गरेको बिबिसीले जनाएको छ।

साउदी अरबको राजतन्त्रात्मक इतिहासमा ३१ वर्षे युवराजलाई उत्तराधिकारी तोकिनुलाई एकदमै आश्चर्यका रुपमा हेरिएको छ किनभने साउदी अरबमा हालसम्म ७० र ८० वर्षको हाराहारीमा राजगद्दी सम्हालेका राजाहरुले मात्रै शासन गर्दै आएका छन्। 

युवराजधिराज मोहम्मद बिन सलमानलाई कम उमेरमै शासन सत्तामा स्थापित गराउनु साउदीमा घटनाक्रम परिवर्तन भइरहेको संकेतका रुपमा लिन सकिने बिबिसीले जनाएको छ।

युवराजमा पदोन्नति हुनुपूर्व युवराज सलमानले साउदी अरबले यमनसँग गरेको युद्धमा नेतृत्व सम्हालेका थिए भने देशको ऊर्जा नीति र आर्थिक सुधारमा काम गरेका थिए।

उनका बाबु एंव वर्तमान ८१ वर्षे राजा सलमानको स्वास्थ्य अवस्था खराब भएका कारणले पनि उनलाई युवराजधिराज नियुक्त गरेको हुनसक्ने अनुमान गरिएको बिबिसीले जनाएको छ।

युवराज मोहम्मद बिन सलमानले साउदी अरबलाई आन्तरिक स्थायित्वका साथ दशकौंसम्म शासन गर्नसक्ने अनुमान गरिएको छ। साउदीका नयाँ युवराज सलमान अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निकट रहेको र इरानलाई दबाबमा राख्न सक्ने व्यक्ति भएका कारण उनको उदयसँगै मध्यपूर्वमा तनाव बढ्नसक्ने अनुमान पनि गरिएको छ।

यमनमा साउदी अरबको अनिर्णित सैन्य अभियानको नेतृत्व गरेतापनि साउदी अरबका उनी प्रख्यात मानिन्छन्। उनी विशेष गरी साउदी अरबका युवा पुस्ताकाबीच प्रख्यात रहेको बिबिसीले जनाएको छ।

उनले साउदी सरकारमा धेरै लामो समयसम्म काम गरेका बुढ्यौलीले छोएका कर्मचारीलाई हटाएर पश्चिमा शिक्षित प्राविधिक युवा पुस्ताले विस्थापित गरेका थिए। उनले साउदीमा महत्वकांक्षी विकास कार्यक्रम 'भिजन २०३०' निर्धारण गरेका छन्। त्यसैगरी उनले राज्य संचालित आयल कम्पनी 'साउदी अराम्को' को केही अंश बेच्ने निर्णयसमेत गरेका छन्। उनले वासिङ्टन एंव ट्रम्प प्रशासनसँग पनि राम्रो सम्बन्ध बनाएका छन्। युवराजले साउदीमा महत्वपूर्ण एंव कठिन कार्यका रुपमा रहेको विद्यमान संर्किण धार्मिक व्यवस्थालाई केही सुधार गर्न प्रयास गरेकासमेत छन्। उनको प्रयासलाई वासिङ्टनले रुचाए पनि साउदीमा रहेका उनका निकट व्यक्तिले भने मन नपराएको बताइएको छ।

सन् २००६ मा राजा तथा युवराज नियुक्त गर्ने जिम्मेवारीसहित स्थापना भएको एक कमिटीले एउटा आदेश जारी गरेको थियो। कमिटी साउदीको राजपरिवारका वरिष्ठ राजकुमारहरु सदस्य रहने गरी बनाइएको थियो। जसलाई एलिजियन्स काउन्सिल भनिएको थियो।

मोहम्मद बिन सलमानलाई युवराजमा बढुवा गर्ने निर्णय काउन्सिलमा रहेका ३४ मध्ये ३१ सदस्यले पारित गरेको बिबिसीले जनाएको छ।

विश्लेषकहरुका अनुसार साउदी राजपरिवारको इतिहासमा शक्तिमा भएकाले आफ्ना छोराहरुलाई भूमिका भएको पदमा नियुक्त गर्ने र उनीहरुलाई बढुवा हुनमा मौका दिने गरेका छन्। त्यसैले जब राजा र युवराज परिवर्तन हुन्छन् उनीहरुका छोरा अगाडि आउने गर्दछन्। राजा अब्दुलाजिजका छोरा वर्तमान राजा सलमान उनका सौतेनी दाजु अब्दुल्लाह बिन अब्दुल अजिजको मृत्यु पछि सन् २०१५ मा साउदी अरबको शासन सत्तामा आएका थिए।

शासन सत्तामा आएको केही महिनापछि उनले मन्त्रीपरिषद्मा व्यापक परिवर्तन गर्दै मोहम्मद बिन नायफलाई युवराज र त्यस बेलासम्म अपरिचित मोहम्मद बिन सलमानलाई उपयुवराजमा नियुत्त गरेका थिए।

खाडी क्षेत्रमा प्रभावशाली राष्ट्र साउदी अरब अमेरिका र बेलायतसहित पश्चिमा शक्तिको महत्वपूर्ण गठबन्धन हो। साउदी विश्वमा ठूलो तेल उत्पादन गर्ने राष्ट्र पनि हो। त्यसैगरी साउदीको राजपरिवार विश्वको शासन गरिरहेको परिवारमध्ये सबैभन्दा धनी परिवार भएको पनि मानिन्छ।

साउदी इस्लाम धर्मको दुई प्रमुख धार्मिक स्थलको अभिभावक पनि हो भने उसले आफैलाई सुन्नी समुदाय भएको ठूलो देशका रुपमा पनि परिचित गराउने गर्दछ।

प्रकाशित: ८ असार २०७४ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App