coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

यु-२३ का लागि राजुकाजीलाई जिम्मेवारी

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना संयुक्त अरब इमिरेट्समा हुने एएफसी यु–२३ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि दक्षिण एसियाली खेलकुद (साग) का विजेता प्रशिक्षक राजुकाजी शाक्यलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

यसअघि मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी दिइएका मेघराज केसीले मंगलबार व्यक्तिगत कारण देखाउँदै युवा टोलीको नेतृत्व लिन अस्वीकार गरेपछि एन्फाले बुधबार शाक्यलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। सहायक प्रशिक्षकमा भने प्रकाश अर्यालकै निरन्तरता हुनेछ। एन्फाले शुक्रबार घोषणा गरेको यु–२३ टोलीमा मुख्य प्रशिक्षकको जिम्मेवारी 'सी' लाइसेन्स इन्सट्रक्टर कोर्सका लागि जापानमा रहेका केसीलाई सुम्पेको थियो। तर सोमबार जापानबाट फर्केका केसीले मंगलबार असमर्थता जनाएका थिए।

'मेघराजजीको अनुपस्थितिमा पनि टिम राजु दाइ (राजुकाजी शाक्य) ले हेर्नुभएको थियो। मेघराजजीले पनि राजु दाइलाई नै निरन्तरता दिने सल्लाह दिनुभयो। हामीले यहीअनुसार आज उहाँलाई प्रस्ताव राख्यौं, उहाँले सहर्ष हाम्रो प्रस्ताव स्वीकार गर्नुभयो,' तुलाधरले बुधबार नागरिकसँग भने।

शाक्यले एन्फाको प्रस्तावअनुसार आफूले युवा टोलीको नेतृत्व लिन स्वीकार गरेको बताए। 'एन्फाले मलाई आज प्रस्ताव गर्‍यो। पहिला मेघराजले टिम हेर्ने कुरा थियो, तर मेघराज नभएको बेला मैले नै प्रशिक्षण गराइरहेको थिएँ। त्यसैले मैले हुन्छ भनेँ,' छनोट प्रतियोगिताको कठिन समूहमा परेको बताउँदै शाक्यले भने, 'हामीलाई छनोट हुन सजिलो छैन। सबै प्रतिद्वन्द्वी राम्रा छन्। राम्रो टिमसँग खेल्न पाउनु हाम्रो युवा टोलीका लागि ठूलो अवसर हो। यस्तो खेलमा हामीले उत्कृष्ट खेल्नुपर्छ। विपक्षीहरू कडा भए पनि हामी छनोट हुनका लागि आफ्नो तर्फबाट पूरा प्रयास गर्नेछौं।'

भारतको गुवाहटीमा दुई वर्षअघि सम्पन्न १२औं दक्षिण एसियाली खेलुकदअन्तर्गत फुटबलको फाइनलमा भारतलाई हराएर नेपालले स्वर्ण पदक जित्दा पनि नेपाली यु–२३ टोलीको नेतृत्व शाक्यले मुख्य प्रशिक्षकका रूपमा गरेका थिए। नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान शाक्य खेलाडी र प्रशिक्षक दुवै भूमिकामा सागको स्वर्ण पदक जित्ने एक मात्र नेपाली फुटबलकर्मी हुन्।

तुलाधरका अनुसार छनोट प्रतियोगिताका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ। 'बंगलादेशसँग मैत्रीपूर्ण खेलका लागि कुरा भएको छ। उनीहरूले जुलाई १० देखि १३ सम्म काठमाडौंमा खेलौं भनेका छन्। हामीले हुन्छ भनेका छौं। बंगलादेशलाई नेपाल निम्त्याउनका लागि प्रक्रिया सुरु भइसकेको छ, सबै प्रक्रिया पूरा भयो भने काठमाडौंमा हामी बंगलादेशसँग अभ्यास खेल खेल्नेछौं,' तुलाधरले भने।

जुलाई  १९ देखि २३ सम्म युएईमा हुने एएफसी यु–२३ छनोटमा नेपालले आयोजक युएई, उज्वेकिस्तान र लेबनानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ८ असार २०७४ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App