coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

च्याम्पियन्स ट्रफी अन्योल

लन्डन- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रमुख डेभिड रिचर्डसनले प्रत्येक दुई वर्षमा ट्वान्टी–२० प्रतियोगिता गर्ने तयारी भइरहेको भन्दै च्याम्पियन्स ट्रफी अब नहुने सङ्केत गरेका छन्।

यस संकरणको फाइनलमा पाकिस्तानले आइतबार ओभलमा भारतलाई १ सय ८० रनले हराउँदै उपाधि जितेको थियो। जुन खेल विश्वभरका लाखौं मानिसले टेलिभिजनमार्फत हेरेका थिए।

तर केही अधिकारीले ८ टोली सम्मिलित प्रतियोगिता आइसिसीले नै आयोजना गर्ने विश्वकप क्रिकेटजस्तै भएको बताउँदै आएका छन्। इङ्ल्यान्डमै हुने २०१९ को विश्वकपमा १० टोलीले मात्र प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि यसले झन् विवाद थपिएको छ।

च्याम्पियन्स ट्रफीको २०२१ संस्करण भारतमा हुने तालिका छ। सोमबार आइसिसी प्रमुख रिचर्डसनले प्रतियोगिता अब नगर्ने संकेत गरेका हुन्। दक्षिण अफ्रिकाका पूर्वविकेटकिपर रिचर्डसनले २० टोली सम्मिलित विश्व ट्वान्टी–२० क्रिकेट प्रतियोगिता नियमित गर्ने जनाएका छन्।

‘हामीले आयोजना गर्ने प्रत्येक प्रतियोगिता फरक खालको होस् भन्ने हाम्रो चाहना हो। जसले प्रतियोगितामा धेरैको ध्यान केन्द्रित गर्न सकोस्,’ लन्डनको वार्षिक सभालाई सम्बोधन गर्दै आइसिसी प्रमुख रिचर्डसनले भने, ‘अहिलेको अवस्थामा च्याम्पियन्स ट्रफीको अर्को संस्करण भारतमा हुने तालिका छ। यद्यपि यो परिवर्तन हुन पनि सक्छ। यो प्रतियोगिता चार वर्षमा २ वटा ट्वान्टी–२० प्रतियोगितामा परिवर्तित हुन सक्छ। यसको मतलब च्याम्पियन्स ट्रफी विश्व ट्वान्टी–२० मा परिवर्तन हुन्छ।’

पछिल्लो समय ट्वान्टी–२० क्रिकेटमा बढ्दै गएको चासोप्रति रिचर्डसनले थपे, ‘विश्व ट्वान्टी–२० ले धेरैको ध्यान आकृष्ट गर्न सक्छ। यसले टेलिभिजन कम्पनीहरूबाट लाभांश पनि बढी उठ्नेछ। सबैभन्दा महत्वपूर्ण पक्ष यसले धेरै टोलीलाई सहभागिता जनाउने अवसर प्रदान गर्छ।’

‘एकदिवसीय विश्वकप थप प्रतिस्पर्धात्मक र गुणस्तरीय होस् भनेर हामीले १० टोलीमा सीमित गर्ने निर्णय गर्‍यौं। त्यसको सट्टा विश्व ट्वान्टी–२० मा १६ टोलीबाट बढाएर २० टोली बनाउन सकिन्छ,’ रिचर्डसनले थपे, ‘एकदिवसीयमा एकै खालका दुई प्रतियोगिता गर्नु आवश्यक छैन।’

ओभलमा आइसिसीले यसै साता आयरल्यान्ड र अफगानिस्तानलाई टेस्ट राष्ट्रको मान्यता दिने सम्भावना बलियो छ। जुन बिहीबार घोषणा हुनेछ।

प्रकाशित: ८ असार २०७४ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App