सोची- विश्वकपको उपाधि जित्दाका कुनै सदस्य टोलीमा सहभागी नभएकाले रूसमा जारी अन्तरमहादेशीय कप विश्वविजेता जर्मनीका युवा खेलाडी सामु सिनियर टोलीमा प्रभाव छोड्ने सुनौलो अवसर बन्न सक्छ। २०१४ मा विश्वकप जित्दाका केही खेलाडीले संन्यास लिइसकेका छन् भने केही चोटका कारण टिममा छैनन्। यसै गरी प्रशिक्षक जोचिम लोउले केहीलाई अन्तरमहादेशीय कपमा आराम दिएका छन्।
गत सिजन साल्केबाट राम्रो प्रदर्शन गर्न नसकेका मिडफिल्डर लियोन गोर्टेज्काले सोमबार समूह चरणको पहिलो खेलमा अस्ट्रेलियामाथि ३–२ को जित हासिल गर्दा गोल गर्दै टोलीमा प्रभाव पार्ने संकेत गरे।
तर चिलीविरुद्ध बिहीबार काजानमा हुने समूहचरणको दोस्रो खेलमा अस्ट्रेलियासँगको जस्तो प्रदर्शन पर्याप्त नहुनेमा जर्मन युवा खेलाडीहरू सचेत छन्। त्यसैले उनीहरू सामु यो खेलमा अझ सुधारिएको प्रदर्शन गर्दै टोलीमा प्रभाव पार्ने चुनौती हुनेछ।
‘हामी चिलीविरुद्ध गल्ती गर्न चाहँदैनौं। हामीले अग्रपंक्तिमा अझै धेरै सुधार गर्नुपर्छ,’ पहिलो रोजाइमा पर्न सफल बायर्न म्युनिखका २२ वर्षे रक्षक जास्वा किमिचले भने।
लोउले जर्मन युवा टोलीलाई अस्ट्रेलियाविरुद्धको खेलमा जस्तो ६० मिनेट मात्र नभई पूरै ९० मिनेट खेलमा केन्द्रित हुन सचेत गराइसकेका छन्। जसमा गोर्टेज्काले पनि सहमति जनाएका छन्।
‘अस्ट्रेलियाविरुद्धको खेलमा राम्रो र नराम्रो दुवै पक्ष रह्यो। हामीले केही समय राम्रो फुटबल खेल्न सक्षम छौं भन्ने देखायौं। तर अन्तिम २०/२५ मिनेट हामीले खेलमाथिको नियन्त्रण गुमायौं,’ गोर्टेज्काले भने, ‘अस्ट्रेलियाभन्दा चिलीको क्षमता फरक छ। उनीहरूसँग विश्वका उत्कृष्ट खेलाडी छन्।’
मिडफिल्डर टोनी क्रुज र सामी खेदिराको अनुपस्थितिमा टोलीमा स्थान बनाउन सफल गोर्टेज्काले अर्को वर्ष रूसमा हुने विश्वकप टोलीमा पर्न आफू सक्षम रहेको संकेत गरिसकेका छन्।
‘नेतृत्व गर्न चाहनेले सर्वप्रथम आफूले राम्रो प्रदर्शन गर्न आवश्यक छ,’ २२ वर्षे रक्षक किमिचले भने, ‘त्यो पहिलो कदम हो त्यसपछि मात्र तपाईंले टोलीका अन्य सदस्यलाई निर्देशित गर्दै राम्रो प्रदर्शन गर्न प्रेरणा दिन सक्नुहुन्छ। म सुधार गर्दै छु। तर त्यो खेल मेरो अहिलेसम्मकै सफल खेल हो। म टोलीको नेतृत्व देऊ भनेर माग गर्ने पक्षमा छैन। म अन्य खेलमा टोलीलाई सहयोग गर्ने कोसिस गर्छु।’
गोर्टेज्काजस्तै त्यही खेलमा जर्मनीका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका स्टिनडेले पनि १० दिन मात्र सँगै अभ्यास गर्नाका बावजुद नयाँ जर्मन टोली प्रभाव पार्न सफल भएको दाबी गरे।
‘हामीले केही दिन मात्र सँगै अभ्यास गरेका थियौं। पहिलो हाफमा हामीले अभ्यासमा जस्तै उत्कृष्ट प्रदर्शनका साथ खेल नियन्त्रणमा लियौं,’ उनले भने।
उक्त खेलमा सान्ड्रो वाग्नरले पहिलो हाफमा गोल गर्ने दुईवटा सुनौला अवसर खेर फाल्दा जर्मनीले सुरुआती अग्रता लिने मौका खेर फालेको थियो।
समूह 'बी' को अर्को खेलमा क्यामरुनले अस्ट्रेलियाको सामना गर्दै छ।
प्रकाशित: ८ असार २०७४ ०५:०७ बिहीबार