७ वैशाख २०८१ शुक्रबार
कला

क्यान्सरले सिकायो योग : मनिषा कोइराला

काठमाडौं- बलिउड अभिनेत्री मनीषा कोइरालाको जीवन स्वस्थ रहिरहेको भए सायदै उनी योग अभ्यासमा सक्रिय हुन्थिइन्। सन् २०१२ मा उनलाई पाठेघरको क्यान्सर देखियो। तर त्यसको तीन वर्षपछि उनी त्यसबाट मुक्त पनि भइन्। रोगविरुद्ध लड्ने क्रममा उनले योग सिकिन् र अहिले उनलाई योग नै प्रिय लाग्न थालेको छ।

तेस्रो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले योगले नै आफ्नो जीवनमा परिवर्तन ल्याएको बताइन्। 'मेरो स्वास्थ्यमा समस्या नआएको भए सायदै म योगमा लाग्थे हुँला। तर, क्यान्सरलाई पराजित गरेपछि म योगमा लागें,' उनले भनिन्, 'हुनत म योगविज्ञ हैन। योगको विद्यार्थी मात्र हुँ। तर योग सुरु गरेपछि मेरो स्वास्थ्यमा कुनै समस्या आएको छैन।'

क्यानसरको उपचारमा तीन वर्षमा धेरै पैसा खर्च भएको उनले बताइन्। 'मेरो उपचारमा धेरै पैसा खर्च भयो। रोग पनि निको भयो,' उनले भनिन्, 'स्वास्थ्य राम्रो भएपछि स्वास्थ्य विज्ञ, चिकित्सकसँग आफ्नो स्वास्थ्यलाई पहिलाकै अवस्थामा ल्याउन के गर्ने भन्ने विषयमा सल्लाह लिएँ। उहाँहरूकै सल्लाह अनुसार म योगतिर लागें। क्यान्सरबाट मुक्ति पाएपछि जीवनको अर्थ के रहेछ भन्ने कुरा बुझें।'

उनले मान्छे स्वस्थ्य रहन योगसँगै शाकाहारी भोजनको पनि आवश्यकता रहने बताइन्। 'योग गरेर स्वस्थ्य रहन चाहनेले सागसब्जी, फलफूल, पोषणयुक्त खानेकुरा खानुपर्छ,' उनले भनिन्, 'योग गर्दा के हुन्छ र भन्ने नकारात्मक सोच भन्दा योगाले जीवन राम्रो बन्छ धारणा राख्नुपर्छ। मान्छे स्वस्थ हुने माध्यम योग पनि हो।'

भारतीय राजदूतावास र इन्डियन वुमन एसोसिएनले आयोजना गरेको अन्तरसंवादमा मनीषाले आफूलाई क्यान्सले सबै कुरा सिकाएको बताइन्। 'क्यान्सरले मलाई योग सिकायो। सफलता सिकायो। म को हुँ, म कहाँबाट किन आएँ र मेरो सेवा कार्य के हो भन्ने कुरा पनि सिकायो,' मनिषाले भनिन्, 'योगमा लागेपछि जीवन कसरी जिउने भन्ने कुरा सिकें। मलाई लाग्छ, योगको सिकाइ आम मानिसका लागि फलदायी छ।'

केही साताअघि मात्र रिलिज बलिउड फिल्म 'डियर माया'मा मायाको लागि घरपरिवार सबै त्यागेकी चरित्रमा देखिएकी मनीषाले भारतले आफूलाई ठूलो करियर दिएको बताइन्। 'भारत मेरो दोस्रो घर हो। अहिलेको मेरो उचाइ र करियर नै भारतबाट बनेको हो,' मनिषाले भनिन। कार्यक्रममा मनिषाले योग गर्दा अपनाइने प्राणायम शैली सिकाएकी थिइन्।

कार्यक्रममा भारतीय राजदुत मञ्जिव सिंह पुरीले योगदिवसको दिन बलिउड अभिनेत्री मनीषाबाट योग सम्बन्धी केही कुरा सुन्ना पाउँदा खुशी लागेको बताए।

प्रकाशित: ८ असार २०७४ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App