coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘गोर्खाल्याण्ड’को समर्थन गर्दै इलाममा र्‍याली

गोर्खाल्यान्ड आन्दोलनको समर्थनमा इलाममा बिहीबार पश्चिम बंगाल घर भइ इलाममा विभिन्न सिलसिलामा बसोबास गर्नेहरूले निकालेको र्याली । तस्बिर : भीम चापागाईं

इलाम – भारतको पश्चिम बंगालमा जारी गोर्खाल्याण्ड आन्दोलनको समर्थन गर्दै पश्चिम बंगाल घर भएका इलामबासीले बिहीबार सदरमुकाममा र्याली प्रदर्शन गरेका छन् । उनीहरूले ठूलो टुँडिखेलदेखि मालापथ हुँदै चोकबजारसम्म र्याली प्रदर्शन गरे । 

डेढ–दुई सय हाराहारी संख्यामा उपस्थित भएका उनीहरूले ‘वि वान्ट गोर्खाल्यान्ड’, ‘गोर्खाहरू आतंककारी होइनन्’, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । कसैले ‘गोर्खाल्यान्ड’ लेखिएका टि–सर्टसमेत लगाएका थिए । र्यालीमा दार्जिलिङ, खर्साङ, मिरिक, कालिम्पोङलगायतका स्थानमा घर भएर इलाममा रोजगारी, व्यवसाय गरिरहेका नागरिक सहभागी थिए । पश्चिम बंगालमा आफन्त भएका इलामबासीले पनि उनीहरूलाई समर्थन गरेका थिए । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता परियारसमेत र्याली समापन समारोहमा सहभागी भएकी थिइन्। 

‘माइती दार्जिलिङ समूह’ले र्याली आयोजना गरेको हो । ‘अहिले दार्जिलिङलगायत पहाडी क्षेत्र आन्दोलनले अस्तव्यस्त छ, हामी उता जान नसकेपनि यतैबाट जोडदार समर्थन गरेको संकेत गरेका हौं,’ पश्चिम बंगालबाट आएर इलाममा शिक्षण पेसामा आबद्ध सुधा मुखियाले भनिन्, ‘हाम्रो घर–गाउँ दिनहुँको आन्दोलनले जलिरहेको छ, यता हाम्रो मुटु पनि उसरी नै भक्कानिएको छ । त्यसैले चुप रहन सकेनौं ।’ 

गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा भारत दार्जिलिङमा अहिले पनि आन्दोलन जारी छ । मोर्चालाई स्थानीय ५ दल, नागरिक समाज, बुद्धिजीवी र साहित्यकारले पनि सघाएका छन् । आन्दोलनक्रममा दार्जिलिङसहितको पहाडी क्षेत्र सातायता ठप्प छ । मोर्चाले आमहड्ताल आह्वान गरेपछि बजार, पसल, स्कुल, सवारी साधनलगायत सबै ठप्प छन् । बन्दका कारण सयौं पर्यटक अलपत्र परेका छन् । प्रहरीले केही पर्यटकलाई बसमा राखेर तराईसम्म पुर्याइदिएको थियो ।

पश्चिम बंगालको पहाडी क्षेत्रका कक्षा १ देखि १० सम्मको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गर्ने पश्चिम बंगाल राज्य सरकारका शिक्षामन्त्री पार्थ चटर्जीको घोषणापछि दार्जिलिङलगायत पहाडी क्षेत्र महिनायता अशान्त भएको हो । शिक्षामन्त्री चटर्जीको घोषणाप्रति विरोध गर्दै मोर्चाले दार्जिलिङ, खर्साङ, कालिम्पोङ र मिरिक क्षेत्रका आन्दोलन चर्काइरहेको छ । तर, मोर्चाले गोर्खाल्यान्ड नभएसम्म आन्दोलन नरोकिने उद्घोष गरेको छ। आन्दोलनक्रममा सेनाको गोलीले ३ जनाको मृत्यु भएपछि तनाव चुलिएको छ। 

 

प्रकाशित: ८ असार २०७४ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App