१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेलम्चीले झन्डै आधा पानी ट्यांकर विस्थापित गर्ने

काठमाडौं- निकट भविष्यमै आउन लागेको मेलम्ची खानेपानीले काठमाडौं उपत्यकामा पानी आपूर्ति गरिरहेका ट्यांकर व्यवसायीलाई भने मर्कामा पार्ने देखिएको छ। मेलम्ची पानी आएपछि उपत्यकामा सञ्चालित ४० प्रतिशत ट्यांकर विस्तापित हुने व्यवसायीको आँकलन छ।

अचेल उपत्यकामा सञ्चालित पानी ट्यांकरमध्ये झन्डै ४० प्रतिशत विस्थापित हुन सक्ने उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालले बताए। 'मेलम्ची खानेपानीले हाम्रा ४० प्रतिशत व्यवसायीलाई विस्थापित गर्न सक्छ,' दाहालले भने, 'बाँकी ट्यांकर सञ्चालनमै रहने छन्।' पहिलो चरणमा आउने मेलम्चीले ४० प्रतिशत र दोस्रो चरणकोले पूरै विस्तापित गर्ने दाहाल बताउँछन्।

हाल उपत्यकामा लगभग ६ सय ट्यांकरले पानी आपूर्ति गरिरहेका छन्। यीमध्ये दुई सय ४० भन्दा धेरै ट्यांकर मेलम्ची खानेपानी आएपछि विस्थापित हुनेछन्। सञ्चालनमा रहेका ट्यांकरमध्ये कतिपय २० वर्ष पुराना भएकाले आफैं विस्थापित हुने र कतिपय उपत्यकाबाहिर सञ्चालन गर्ने तयारी गरिरहेको व्यवसायी बताउँछन्।

उपत्यकाबाहिरका सहरमा पनि पानी अभाव बढ्दै गएकाले ती सहरमा ट्यांकर जान सक्ने दाहालले बताए। सरकारले दसैं मै मेलम्ची पानी ल्याउन सकेन भने पनि अबको ७–८ महिनामा आइसक्छ। मेलम्ची आएपछि उपत्यकामा दैनिक १७ करोड लिटर पानी थपिने छ।

हाल उपत्यकामा दैनिक ३७ करोड लिटर पानी माग रहेकोमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले केही अंश मात्र आपूर्ति गर्छ। केयुकेएलका अनुसार सुक्खा समयमा आठ करोड र बर्खामा १५ करोड लिटर पानीमात्र दैनिक वितरण हुन्छ। उपभोक्तालाई आवश्यक पर्ने अन्य पानीको मागलाई भने पानी ट्यांकर व्यवसायीले पूरा गरिरहेका छन् । 

मेलम्ची खानेपानीको दोस्रो चरणको योजनामा भने सिन्धुपाल्चोकका लार्के र याङ्रीबाट पानी ल्याउने उद्देश्य छ। सन् २०२२ सम्ममा उपत्यकामा ल्याउन भनेर सुरु गरिएको दोस्रो चरणमा दैनिक ३४ करोड थपिने छ। मेलम्ची दोस्रो आयोजना सम्पन्न भएपछि उपत्यकामा चल्ने सम्पूर्ण ट्यांकर व्यवसायी विस्थापित हुने छन्। मेलम्ची दोस्रो आएपछि १–२ वटा फाट्टफुट्ट चले पनि अरु सबै विस्थापित हुने दाहालले बताए।

उपत्यकामा निजी पानी ट्यांकर व्यवसायीबाहेक केयुकेएलले पानीको धारा नपुग्ने ठाउँमा आफ्ना ट्यांकरबाट पानी उपलब्ध गराइरहेको छ। केयुकेएलसँग हाल १२ वटा ट्यांकर छन्। केयुकेएलमा दैनिक ५० ट्यांकरसम्म पानीको माग छ। उपत्यकामा दुई लाख धारा जडान गरिसकेको केयुकेयलले हाल ६ दिनदेखि १३ दिनको पालोमा धारामा पानी दिने गरेको छ।

सरकारी निकायबाट मागको धेरै कम मात्र पानी वितरण भइरहेकाले बाँकी निजी क्षेत्रले उपलब्ध गराउँदै आएको छ। ट्यांकर व्यवसायीहरू जमिनमुनिको स्रोतबाट पानी वितरण गरिरहेका छन्। काँडाघारी, मातातीर्थ, बालाजु, चोभार, जोरपाटी, लगायत ठाउँमा धेरै व्यवसायीले बोरिङ गरेका छन्। त्यसबाहेक केहीले मातातीर्थ, टौदह, गोदावरी जस्ता स्रोतबाट पनि ट्यांकर भरेर ल्याउने गरेका छन्। उपत्यकामा हाल ६५ वटा स्रोत (उद्योग) बाट ट्यांकरले पानी वितरण गरिरहेका छन्।

ट्यांकर व्यवसायीले घर, अस्पताल, बिजनेस कम्प्लेक्स, स्कुल लगायतमा पानी वितरण गर्दै आएका छन्। उपत्यकामा ठूलो संख्यामा पानी ट्यांकर व्यवसायी भए पनि यसको मूल्य, गुणस्तरको विषयमा भने सधैं प्रश्न उठ्ने गरेको छ।

पानी ट्यांकरले वितरण गर्दै आएको पानीकोे गुणस्तरमा प्रश्न उठेपछि अहिले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र व्यवसायीको संयुक्त प्रयासमा ट्यांकरमा स्टिकर लगाउन सुरु गरिसकेको छ। केही समयअघि यस सम्बन्धी निर्देशिका जारी गरेर अहिले ट्यांकरमा स्टिकर लगाउने काम भइरहेको दाहालले बताए।

दाहालका अनुसार अहिलेसम्म दुई सय ७० वटा ट्यांकरमा स्टिकर लगाइसकेको छ। अरु स्टिकर लगाउने प्रक्रियामा छन्। 

प्रकाशित: ८ असार २०७४ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App