८ वैशाख २०८१ शनिबार
अर्थ

निगम जहाजको खरिद अर्डर आयो : एयरबस

काठमाडौं- नेपाल वायुसेवा निगमले खरिद गर्न लागेका दुईथान ठूला (वाइड बडी) आकारका जहाजको अर्डर प्राप्त भएको युरोपेली जहाज निर्माता कम्पनी एयरबसले औपचारिक घोषणा गरेको छ।

एयरबसले आफ्नो बेबसाइटमार्फत गरेको घोषणामा वायुसेवा निगमको नाम उल्लेख भने गरेको छैन। एयरबसले वाइडबडी जहाज भाडामा उपलब्ध गराउने पोर्चुगलको हाइफ्लाई एयरलाइन्सले 'ए३३०–२००' सिरिजका दुईथान वाइड बडी जहाज सिर्धा खरिद अर्डर गरेको उल्लेख गरेको छ।

पोर्चुगलको हाइफ्लाई एयरलाइन्समार्फत दुईथान ए३३०–२०० वाइड बडी जहाजको खरिद अर्डर आएको एयरबसको औपचारिक घोषणा

हाइफ्लाई त्यही कम्पनी हो, जसले अमेरिकी कम्पनी एएआर कर्पोरेसनमार्फत निगमलाई जहाज बेच्न प्रस्ताव गरेको थियो। एएआरले निगमको ग्लोबल टेन्डर जितेर खरिद सम्झौतासमेत गरिसकेको छ। जसअनुसार निगमले गत शुक्रबार पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ पठाइसकेको छ।

'हाइफ्लाईले गरेको दुइटा वाइड बडी खरिद अर्डर निगमकै लागि हो,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बुधबार नागरिकसँग भने, 'जहाज आउने त पहिल्यै निश्चित थियो र अब एयरबसले नै आधिकारिक घोषणा गरेपछि थप निश्चित भयो।'

एयबसका अनुसार हाइफ्लाईले दुईथान ए३३०–२०० जहाज सिधा खरिद अर्डर गरेको छ। यसबाहेक हाइफ्लाईसँग यही सिरिजका १४ थान वाइड बडी छन्। ए३३० जहाजमा १८ बिजेनस क्लास र २ सय ५६ इकोनोमी क्लास सिट हुन्छन्। हाइफ्लाईले वायुसेवा कम्पनी, टुर अपरेटर, सरकार, अन्य कम्पनी वा व्यक्तिलाई जहाज भाडामा उपलब्ध गराउनेदेखि बिक्री समेत गर्दै आएको छ।

निगमका एक अधिकारीका अनुसार निगमलाई जहाज बेच्ने ग्लोबल टेन्डर जितेको अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसन, पोर्चुगलको हाइफ्लाई एयरलाइन्स र जर्मन क्यापिटलको सहवित्तीयकरणमा खडा भएको कम्पनी 'हाइफ्लाई एक्स' को नाममा पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ गत शुक्रबार पठाइएको थियो। हाइफ्लाईले त्यही रकम एयरबसलाई पठाएर दुइटा ए३३० खरिद अर्डर गरेको हो।

'हामीले पठाएको ८ अर्ब रुपैयाँ एयरबसको खातामा पुगेको छ। त्यही भएर एयरबसले जहाज अर्डर भएको घोषणा गरेको हो। पैसा निगमको भए पनि हाइफ्लाईबाट खरिद अर्डर गएका कारण निगमको नाम एयरबसले उल्लेख नगरेको हो। जहाज तयार भएपछि हाइफ्लाईले सिधै हामीलाई आपूर्ति गर्नेछ,' ती अधिकारीले भने, 'निगमको हातमा जहाज नआएसम्म हाइफ्लाईले थप जहाज अर्डर गर्न नपाउने एयरबसको भनाइ छ।'

निगमले दुईथान वाइड बडी जहाज खरिद गर्न आवश्यक २४ अर्ब रुपैयाँमध्ये १२ अर्ब कर्मचारी सञ्चय कोष र बाँकी १२ अर्ब रुपैयाँ नागरिक लगानी कोषसँग लिन हालै ऋण सम्झौता गरेको थियो। जसअनुसार दुई जहाजको पहिलो किस्ता ८ अर्ब दुवै संस्थाबाट आधा–आधा लिएर पठाएको थियो। दुवै सरकारी वित्तीय संस्थासँग

सरकारले गत वैशाख ७ गते वायुसेवा निगमले खरिद गर्ने दुईथान वाइड बडी जहाजलाई आवश्यक करिब २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेको थियो। विगतदेखि नै निगमले सञ्चय कोषसँग ऋण लिन पटक–पटक छलफल गर्दै आएको थियो। लगानी कोषसँग भने अनौपचारिक छलफल गर्दै आएको थियो। 

निगमले एएआर कर्पोरेसनसँग २०७३ चैत २५ गते काठमाडौंमा दुइटा वाइड बडी किन्ने सम्झौता गरेको थियो। सम्झौताअुनसार दुई जहाजको मूल्य २० करोड ९६ लाख अमेरिकी डलर (२१ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ) पर्नेछ। यस हिसाबले सञ्चय कोष र लगानी कोष प्रत्येकको भागमा १० करोड ४८ लाख डलर (१० अर्ब ७९ करोड ४४ लाख रुपैयाँ) पर्ने छ। 

सम्झौताअनुसार एएआरले पहिलो वाइड बडी २०७५ असार १६ गतेभित्र काठमाडौं पठाउने छ भने लगत्तै एक महिनापछि दोस्रो जहाज आपूर्ति गर्ने छ। यसअघि उसले २०७४ मंसिरमा र दोस्रो लगत्तै फागुन अन्तिमसम्ममा काठमाडौं पठाउने तालिका दिएको थियो। ती जहाजका लागि निगमले दुई किस्तामा रकम पठाउने सम्झौता गरेको छ। पहिलो किस्तामा ८ करोड डलर (८ अर्ब २४ करोड रुपैयाँ) निगमले पठाएको छ। दोस्रो किस्तामा बाँकी १२ करोड ९६ लाख डलर (१३ अर्ब ३४ करोड ८८ लाख रुपैयाँ) पठाउने छ। बाँकी किस्ता जहाज आपूर्ति हुनुभन्दा एक महिनाअघि पठाइने निगमले जनाएको छ।

निगमले गत वर्ष फागुन ४ मा दुइटा बडी किन्न एएआरलाई प्रतिबद्धता रकम (बैना) स्वरूप १० लाख अमेरिकी डलर पठाएको थियो। एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइड बडी जहाज बिक्री गर्ने प्रस्ताव निगम सञ्चालक समितिले २०७३ माघ २ गते अनुमोदन गरेको थियो।

त्यसपछि माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। समझदारीपत्रमा 'जहाज नलिए प्रतिबद्धता रकम फिर्ता हुने' उल्लेख छ। युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा हाइफ्लाई एयरलाइन्सको अर्डरमा निर्माणाधीन दुईथान 'ए३३०–२००' जहाज नै एएआरले निगमलाई बिक्री गर्ने प्रस्ताव गरेको हो।

निगमलाई एयरबसमा उत्पादित दुई सय ५० देखि दुई सय ८० सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजका दुई थान वाइड बडी जहाज बिक्री गर्न कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए। तीमध्ये एएआरले सबैभन्दा सस्तो मूल्यमा दिने प्रस्ताव गरेको थियो। उसले 'ब्रान्ड न्यु' (एक मिनेट पनि नउडेको) जहाज दिने प्रस्ताव गरेको छ। निगमले दुइटै जहाजमा १६ बिजनेस क्लास र २ सय ६४ इकोनोमी क्लास सिट राख्ने छ। निगमले दुईथान वाइड बडी ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना बनाएको छ।

प्रकाशित: ८ असार २०७४ ०६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App