८ वैशाख २०८१ शनिबार
राजनीति

२५ कटेपछि पहिलो भोट हाल्ने तरखर

खोटाङ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका खम्बीर शेर्पा २६ वर्षका भए । २०५४ साल यता निरन्तर प्रत्येक पाँच वर्षमा स्थानीय निकायको निर्वाचन भइदिएको भए उनले २०६९ सालमै आफ्नो मताधिकार प्रयोग गरिसकेका हुन्थे । तर, मुलुकको राजनीतिक अस्थिरताका कारण नियमित निर्वाचन नहुँदा शेर्पा २६ वर्षपछि मात्र पहिलोपल्ट आफ्नो मताधिकार प्रयोग गर्दैछन्।

‘१८ वर्ष पुगेपछि नै मताधिकार उपयोग गर्न पाउनु पर्ने हो,’ शेर्पाले भने, ‘तर निर्वाचन हुन नसक्दा २६ वर्षपछि मात्र मत हाल्ने अवसर आएको छ । उत्साहपुर्वक मत खसाल्ने छु ।’ उनी पहिलो पल्ट मताधिकार प्रयोगकै लागि १३ महिने बसाई छोट्याएर कतारबाट घर फर्किएका हुन् । 

यस्तै, स्थानीय निकायको नियमित निर्वाचन नहुँदा रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रामचन्द्र केसीले पनि १८ वर्ष पुगेको लामो समयसम्म मताधिकार प्रयोग गर्न पाएन । २०५४ सालको स्थानीय निकायको निर्वाचन हुँदा १४ वर्षका केसी २०५८ सालमा १८ वर्ष पुगेका थिए । नियमित निर्वाचन भएको भए केसीले २०५९ देखि नै भोट खसाल्न पाउँथे । तर, अशान्ती र अस्थिरताका कारण उनी आफै उम्मेद्वार बनेर १० वर्षपछि मात्र आफ्नो पहिलो मताधिकार प्रयोग गर्दैछन् । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नवराज गिरी पनि २८ वर्ष पुगेपछि असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा पहिलो भोट हाल्ने तरखरमा छन् ।  

स्थानीय निकायको नियमित निर्वाचन नहुँदा शेर्पा र केसीजस्ता जिल्लाका हजारौं युवा/युवती १८ वर्ष उमेर पुगेको वर्षौँपछि पहिलोपल्ट मताधिकार उपयोगमा सहभागी हुँदैछन् । २०५४ सालको निर्वाचनमा थोरै समयले उमेर नपुगेका कतिपय युवा त हाल कम्तीमा ३५ वर्ष पुगीसकेका छन् । उनीहरुले कम्तीमा दुई वटा मताधिकारबाट बञ्चित भएर यसपल्टको स्थानी तहको निर्वाचनमा ३५ वर्ष पुगेपछि पहिलो मत उपयोग गर्दैछन् । कतिसम्म भने २०५४ सालमा जन्मिएका बच्चा अहिले भोट खसाल्ने उमेरका भइसकेका छन् । ‘नियमित निर्वाचन भइदिएको भए यो पल्टसम्म दुईपटक भोट हालिसकेका हुन्थेँ,’ कांग्रेसकातर्फबाट वडाध्यक्षको उम्मेद्वार बनेका केसीले भने, ‘आफै उम्मेद्वार बनेर पहिलोपल्ट आफ्नो मताधिकार प्रयोग गर्न लागेको छु ।’ 

राजनीतिक अस्थिरता, अशान्ती, देशको नेतृत्व सम्हाल्ने नेताको कमजोरी लगायतका कारण उमेर पुगेको लामो समयसम्म मताधिकार प्रयोग गर्नबाट बञ्चित हुनु परेको युवाको गुनासो छ। नियमित निर्वाचन नहुँदाको सबैभन्दा ठूलो मारमा युवापंक्ती परेको एमालेका युवा नेता गोपालचन्द्र आचार्यले बताए । ‘मुलुकमा राजनैतिक अस्थिरता भयो, संक्रमणकालिन अवस्थामा फस्यो, परिणामस्वरुप लामो समयसम्म निर्वाचन हुन सकेन,’ एमाले रुपाकोट मझुवागढी नगरपालिका संगठन कमिटिका सदस्य रहेका आचार्यले भने, ‘जनप्रतिनिधि नहुँदा भ्रष्टाचार र अनियमितता बढेको छ । मुलुकमा बिकास नहुँदा युवाले बेरोजगारीको समस्या झेलीरहनु परेको छ ।’ 

प्रकाशित: ८ असार २०७४ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App