coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आफैंले चुनाव जित्ने दाउमा उम्मेद्वार

इलामको दुर्गम पुवामझुवा गाउँमा घरदैलो अभियानमा पुगेका इलाम नगरपालिकाको मेयरका उम्मेदवार महेश बस्नेत । तस्बिर : भीम चापागार्इं

इलाम – दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न मेची पहाडका राजनीतिक दलहरू जोडतोडसाथ खटिरहेका छन् । मतदाता रिझाउन दलका जिल्ला तहका नेताको रासोबासो मतदातासँगै रहेका बेला केन्द्रीयस्तरका नेतासमेत चुनावी माहोल बनाउन गाउँ–गाउँ घुमिरहेका छन् । 

इलाम, पाँचथर र ताप्लेजुङका नगर र गाउँपालिकामा अहिले दिनहुँ चुनावी सभा, भेला र घरदैलो अभियान चलिरहेको छ । मतदातालाई छुनेखालका योजना के हुन सक्छन् भन्नेबारे दलहरू घनीभूत छलफलमा छन् ।  उनीहरू स्थानीयस्तरका योजना सम्पन्न गरिदिने प्रतिबद्धता गर्दै मतदाता ‘कन्भिन्स’ गरिरहेका छन् । आफ्ना ‘क्लियर’ कार्यकर्ताभन्दा निर्णायक मत दिने मतदातातिर दलहरूको ध्यान केन्द्रित छ । दलहरू निर्णायक मत दिने कार्याकर्तालाई आफ्नो पक्षमा पार्न रात–दिन नभनी खटिरहेका देखिन्छन् ।

स्थानीय तह निर्वाचन नभएको लामो समय बितिसकेकाले आउँदो निर्वाचनको परिणाम कसको पक्षमा पर्छ भन्ने आँकलन गर्न मुस्किल हुन्छ । तर, २०५४ सालको स्थानीय निकाय निर्वाचनपछि ०६४ साल चैत र २०७० साल मंसिरमा भएका संविधासभा निर्वाचनको परिणामलाई लिएर विभिन्न अनुमान भइरहेका छन् । पहिलो संविधानसभा निर्वाचन र दोस्रोमा पनि मतअन्तर देखिएकाले ती दुवै निर्वाचनलाई आधार मानेर पनि यकिन परिणाम निकाल्न चाहिँ मुस्किल हुने दलका नेता स्वयं बताउँछन् । 

मेची पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा ६ नगरपालिका र १९ गाउँपालिका छन् । यसबीचमा भएको स्थानीय तहको भौगोलिक पुनर्संरचनाले आउँदो निर्वाचनको परिणाम पहिलाको भन्दा फरक बनाउने छ । त्यसैले पनि कतिपय दल र विश्लेषक नै अब आउने चुनावी परिणामबारे अन्योलमा देखिन्छन् । तर, यसअघिका निर्वाचनहरूमा विजयी भएका मात्र होइन, पराजित भएका र निर्वाचनमा सहभागी नै नभएका दल पनि आफूले जित्ने दाबी भने गरिरहेका छन् । 

तीनै जिल्लामा अहिलेसम्म भएका निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसले विजय हासिल गरिरहेका छन् । अहिले पनि नेपाली कांग्रेस र एमाले आउँदो निर्वाचनको निकटतम् प्रतिद्वन्द्वी एक–अर्कालाई नै देखाउँछन् । तर, माओवादी, संघीय समाजवादी फोरम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि कतिपय स्थानीय तहमा चुनाव जित्नेमा आफू ढुक्क रहेको दाबी गर्छन् । 

२०७० सालको संविधानसभा निर्वाचनमा इलामका ३ निर्वाचन क्षेत्रमध्ये १ र २ नेकपा एमाले तथा ३ कांग्रेसले जितेका थिए । पहिलो संविधानसभा निर्वाचनको परिणाम पनि त्यही थियो । दुवै निर्वाचनमा माओवादी केन्द्र तेस्रो दल भएको थियो । ०५४ सालको स्थानीय निर्वाचनमा जिल्लाका साविक ४८ गाविस र १ नपाका अध्यक्ष–उपाध्यक्षमध्ये ३ वटामा कांग्रेस र बाँकी सबै एमालेले जितेको थियो । 

नेकपा एमालेका उपसचिव उमेश गुरुङ आउँदो निर्वाचनमा एमालेले जिल्लाका कम्तीमा ८ स्थानीय तहमा विजय हासिल गर्ने लक्ष्य रहेको बताउँछन् । ‘नगरपालिकाहरूसहित ८ स्थानीय तहमा ५ सयदेखि २ हजार मतसम्मको अन्तरले एमाले विजयी हुनेछ,’ उनले भने, ‘बाँकी २ स्थानीय तहमा मिश्रित परिणाम आउन सक्छ ।’ एमालेका जनप्रतिनिधिले आफ्नो कार्यकालमा जनमुखी काम गरेको र आफ्नै नेतृत्वमा नयाँ संविधान निर्माण, कार्यान्वयन गर्दै राष्ट्रियताको पक्षमा गहकिलो अडान राखेकाले पनि एमाले जनताबाट अनुमोदिन हुने उनको दाबी छ ।

नेपाली कांग्रेसले भने जिल्लाका सबै स्थानीय तहमा विजयी हुने दाबी गरेको छ । ‘पहिलेका चुनावमा परिणाम जे भएपनि अहिले कांग्रेसको पक्षमा जनलहर आएकाले हामी सबै स्थानीय तहमा विजयी हुनेछौं,’ कांग्रेस जिल्ला सचिव निरोज खड्गीले भने, ‘कांग्रेसमा युवाको आकर्षण बढेको छ, हाम्रो जित्ने आधार त्यही हो ।’ 

माओवादी केन्द्रले पनि आउँदो निर्वाचनमा जिल्लाका ४ मध्ये १ नगरपालिका, ३ गाउँपालिका र २८ वटा वडामा विजयी हुने आँकलन गरेको छ । सिंहदरबारमा भएका अधिकार अहिले माओवादी पहलमा गाउँ आइपुगेकाले जनताले माओवादीकै नेतृत्व चाहेको माओवादी महाधिवेशन आयोजक समिति सदस्य तथा जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा (रमण)ले बताए । ‘हामीले सरकारमा हुँदा पनि काम गरेर देखाएका छौं, त्यसैले पनि हामीलाई चुनावमा जनताले रोज्नेछन्,’ उनले भने, ‘माओवादीले नै अहिलेको परिवर्तन ल्याएको हो भने जनताले भोट नहाल्ने त कुरै हुँदैन ।’

१ नगरपालिका र ७ गाउँपालिका रहेको पाँचथरमा पनि एमाले र कांग्रेस नै अहिलेसम्मका चुनावमा अगाडि छन् । यहाँका २ निर्वाचन क्षेत्रमध्ये २०६४ सालको निर्वाचनमा क्षेत्र १ मा कांग्रेस र २ मा एमाले विजयी भएका थिए । ०७० सालको निर्वाचनमा भने यो परिणाम ठीक उल्टो भएको थियो । ०५४ को स्थानीय निर्वाचनमा भने धेरै गाविसमा एमालेले विजय हासिल गरेको थियो । जिल्लाका साविक ४१ मध्ये २८ गाविसमा अध्यक्ष–उपाध्यक्षसहित र बाँकी ५ गाविसमा पनि अध्यक्ष पद एमालेले जितेको थियो । ११ इलाकामध्ये सभापतिसहित ८ मा एमाले र बाँकीमा कांग्रेस विजयी भएको थियो ।  

आउँदो चुनावमा पाँचथर कांग्रेस फिदिम नपाबाहेकका ७ गाउँपालिकाको नेतृत्व आफ्नो पक्षमा पर्ने दाबी गर्दैछ । ‘हामीले नयाँ संविधान बनेदेखि नै स्थानीय तहको चुनावलाई तयारी गरिरहेकाले आउँदो चुनावको परिणाम कांग्रेसको पोल्टामै पर्छ भन्नेमा ढुक्क छौं,’ कांग्रेस जिल्ला सभापति नरेन्द्रकुमार केरुङले भने, ‘अहिलेसम्मका चुनावी परिणाम पनि हाम्रा लागि सुखद् नै थिए ।’ 

नेकपा एमाले चाहिँ कांग्रेस नेतृत्वलाई पाँचथरबासीले धेरै वर्ष हेरिसकेकाले अब एमालेलाई जनताले काम गर्ने अवसर दिनेमा ढुक्क छ । अहिले कांग्रेस त्यागेर आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको र एमालेले नै जिल्लाको सबै क्षेत्रमा रचनात्मक काम गर्न सक्ने जनतामा विश्वास भएकाले एमालेले चुनाव जित्ने निश्चित रहेको पार्टी जिल्ला अध्यक्ष राजकुमार थापाको दाबी छ । ‘एमालेले नागरिकलाई जीवनयापन गर्नेगरीको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना ल्याएको छ,’ उनले भने, ‘कृषि, पर्यटन विकास, सामाजिक सुधार र शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्रमा जिल्लालाई उदाहरणीय बनाउने भएकाले पनि एमालेप्रति मतदाताको विश्वास छ ।’

माओवादीले पनि जिल्लाका सबैखाले समस्या हल गर्न, जनतालाई राज्यले दिएका सुविधा र अधिकार सदुपयोग गर्ने पहुँचसम्म पुर्याउने कामको नेतृत्वका लागि जनताले माओवादीलाई जिताउनले दाबी गरेको छ । ‘विकासको गति अघि बढाउन, सबैलाई समृद्धिको दिशातिर लैजाने कामको अगुवाई गर्न, प्रत्येक वडामा बाटो, प्रत्येक घरमा बिजुली, खानेपानी, खेतीमा सिँचाइ, पर्यटकीय क्षेत्रको पहिचान र विकासका लागि जनताले हाम्रो नेतत्व चाहेका छन्,’ माओवादी महाधिवेशन आयोजक समिति सदस्य राधाकृष्ण न्यौपानेले भने । 

ताप्लेजुङमा भने दलीय तालमेलले पनि चुनावको नतिजा फरक पार्ने सम्भावना देखिएको छ । कांग्रेस र माओवादीले विभिन्न स्थानमा तालमेल गरी साझा उम्मेदवार उठाएका छन् । एमाले सिदिङ्वा गाउँपालिकाबाहेक सबैतिर एक्लै चुनाव लड्दैछ । ०७० सालको संविधानसभा निर्वाचनमा एमालेले यहाँका दुवै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो भने ०६४ सालको निर्वाचनका १ का कांग्रेस र २ मा एमाले विजयी भएका थिए । ०५४ सालको स्थानीय निर्वाचनमा एमालेले सबै गाविसको नेतृत्व जितेको थियो भने ११ इलाकामध्ये एउटामा मात्रै कांग्रेस विजयी भएको थियो । 

कांग्रेस जिल्ला सभापति लीला बोखिम एमालेको धेरै वर्षको नेतृत्वले जनता वाक्क भएकाले अबको चुनावमा कांग्रेसलाई रोज्ने विश्वास व्यक्त गर्छिन् । ‘एमालेको लामो समयको नेतृत्वले पीडित भएको जनगुनासो पनि सुनिएकाले अबको चुनावमा जनताले हामीलाई रोज्नेछन्,’ उनले भनिन्, ‘जनताले परिवर्तन चाहनु र माओवादीसँग धेरै ठाउँमा तालमेल हुनुले पनि हाम्रो विजयको संकेत गर्छ ।’

एमाले भने पहिलादेखि एकलौटी जितिरहेकाले आउँदो चुनाव पनि जित्ने दाउमा छ । ‘पहिला जितेको आधारले मात्रै होइन, यो अवधिमा पार्टीभित्र धेरै सुधार आइसकेकाले पनि हामीलाई जनताले भोट दिएर विजयी बनाउनेमा ढुक्क छौं,’ एमाले ताप्लेजुङका अध्यक्ष बलबहादुर साम्सोहाङले भने, ‘एमाले कमजोर रहेका गाउँमा पनि अहिले बलियो भइसकेको छ ।’ उनले धेरै गाउँपालिकामा महिलालाई अवसर दिएकाले पनि महिला नेतृत्वले विजय हासिल गर्ने बताए । नेकपा माओवादीका खेलप्रसाद बूढाक्षेत्रीले सिंहदरबारको अधिकार गाउँमा ल्याउने एजेन्डा माओवादीकै भएकाले यो पटक जनताले माओवादीको नेतृत्व चुन्ने दाबी गरे । ‘हामीले धेरै ठाउँमा कांग्रेससँग चुनावी तालमेल गरेकाले हाम्रा उम्मेदवार विजयी हुने विश्वास छ,’ उनले भने ।

मेची पहाडका तीन जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चालगायतका दलले चुनावी प्रतिस्पर्धा गर्दैछन् । यीबाहेक केही उम्मेदवार स्वतन्त्र रूपमा पनि चुनावी मैदानमा उत्रिँदैछन् । 

 

प्रकाशित: ८ असार २०७४ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App