७ वैशाख २०८१ शुक्रबार
राजनीति

वडाध्यक्षमा परेनन् तेह्रथुमका महिलाहरू

तेह्रथुम– स्थानीय तह निर्वाचनमा जिल्लाका ४३ वडामा कुनै पनि वडामा अध्यक्षपदमा महिला निर्वाचित नहुने भएका छन् । निर्वाचनमा चालिस प्रतिशत महिला सहभागिता अनिवार्य भनिए पनि सबै वडाअध्यक्ष पदमा पुरुषको मात्र उम्मेद्वारी परेकोले महिला निर्वाचित नहुने निश्चित भएको हो । 

मुख्य दलहरुले समेत वडाअध्यक्षमा महिलालाई उम्मेद्वार नबनाए पछि प्रमुख पदका लागि पुरानै परम्परा दोहोरिएको हो । प्रमुख र उपप्रमुख मध्ये एक महिला अनिवार्य हुनु पर्ने भए पनि दलहरुको तालमेलले गर्दा महिलाको कोटा खोसिएको महिला नेतृहरुले गुनासो गरेका छन् । 

जिल्लाको ६ स्थानीय तहका ४३ वडामा कुनै पनि महिलाको नाम दलहरुले उम्मेद्वारको रुपमा अगाडि नल्याएकाले पनि यस्तो समस्या आएको जानकारहरुले बताएका छन् । फेदाप गाउँपालिकामा मुख्य दलहरुको तालमेलका कारण यसअघि उम्मेद्वार बन्ने भनि चर्चा गरिएका नेतृहरु समेत उम्मेद्वार बन्नबाट वञ्चित भएका छन् । तालमेलले राज्यबाट प्रदान गरिएको आरक्षण सहितको सुविधा मात्र खोसिएको छैन् नेतृत्व गर्ने अवसर समेत खोसिएको महिला नेतृहरु बताउँछन् । 

फेदाप गाउँपालिकामा कांग्रेस, माओवादी र संघीय गठबन्धनको नाममा उप पदमा पुरुषलाई नै अघि सारिएको छ । जहाँ काँग्रेस, माओवादी केन्द्रबाट युवानेता सिव कुरुम्बाङलाई उपप्रमुखको रुपमा उम्मेद्वार बनाएको छ । यहाँ दुई नगरपालिका ४ गाउँपालिका गरी ६ एकाइमा ४३ वडा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति, राष्ट्रिय जनमुक्ति पार्टी, मञ्च सम्बद्ध संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माले लगायत १४ दल सहित केही स्वतन्त्र उम्मेद्वारहरू  निर्वाचनमा भिड्दैछन् । यतिका दलले पनि कुनै वडा अध्यक्षमा समेत मुख्यपदमा महिलालाई विश्वास नगरे पछि अझै राजनीतिक विकास हुन नसकेको भन्दै सरोकारवालले चिन्ता व्यक्त गरेका छन् । 

जिल्लामै तेश्रो शक्तिको रुपमा रहेको माओवादी केन्द्रले मेन्छ्यायेम गाउँपालिकाको प्रमुखमा पूर्वसांसद फुर्वी सेर्पालाई उम्मेद्वार उठाए बाहेक अन्य ठूला दलहरुले वडामा समेत मुख्यपदमा महिलालाई उठाउन नसकेको मतदाताहरुले टिप्पणी गरेका छन् ।

जिल्लामा २ सय २७ पदका लागि  ७ सय ७४ जनाको उम्मेद्वारी परेको छ । जसमा ५ सय १ पुरुष र २ सय ८३ महिलाको उम्मेद्वारी परेको छ । २०६८ को जनगणना अनुसार जिल्लामा १लाख १ हजार ५ सय ७७ जना छन् । जसमा यस पटकको स्थानीय तहको निर्बाचनमा ६० हजार ७ सय २१ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्लाका ५७ स्थानमा ८५ मतदान केन्द्र तोकिएको छ । 

प्रकाशित: ८ असार २०७४ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App