७ वैशाख २०८१ शुक्रबार
राजनीति

मालिक र कमैया प्रतिस्पर्धामा

बालकृष्ण अधिकारी /योगेश रावल

टीकापुर- मुक्त कमैया सुदेशनी चौधरी संघर्षशील महिला हुन्। २०४० सालमा कैलालीको धनसिंहपुरमा जन्मिएकी उनी आफ्नै मिहिनेतले सफलताको सिँढी चढिरहेकी छन्। १० वर्षको उमेरमा इँटाभट्टामा मजदुरी गर्न थालेकी सुदेशनीको जीवनयात्रा निकै कष्टकर छ। उनी ४ दिदीबहिनी र २ दाजुभाइमा सबैभन्दा कान्छी हुन्।

घरको आर्थिक अवस्था दयनीय भएपछि उनले स्कुल जाने उमेरलाई इँटभट्टातर्फ डोर्‍याउनुपर्‍यो। काँचो माटोसँग लड्दालड्दै उनी कलिलै उमेरमा दाम्पत्य जीवनमासमेत बाँधिनुपर्‍यो। १४ वर्षको उमेरमा आमाबुबाले इँटाभट्टामा सँगै काम गर्ने वसन्तलाल चौधरीसँग उनको बिहे गरिदिए। घरपरिवारको दबाबमा उनले बिहे गरिन। 'बिहेबारे थाहै थिएन', उनले भनिन्, 'आमाबुबाले भनेपछि गर्नैपर्ने भयो।'

इँटाभट्टाको काम निकै जोखिमपूर्ण थियो। रातिको समयमा काम गर्नुपर्थ्यो। एक हजार इँटा तयार पारेपछि ३० रुपैयाँ पाइन्थ्यो। त्यो पनि वर्षको छ महिना मात्रै। बाँकी छ महिना बेरोजगार बस्नुपर्थ्यो। त्यही बेरोजगारीले उनलाई व्यवसायतर्फ आकर्षित गर्‍यो। इँटाभट्टा नजिकैको बाटोमा दैनिक सयौं मान्छे ओहोरदोहोर गर्थे। त्यहीं उनले २०५५ सालतिर सानो पसल थापिन। पसलमा गुट्खा, चुरोट, सुर्ती, चकलेट, बिस्कुट पाइन्थ्यो। ओहोरदोहोर गर्ने मान्छेले किन्न थालेपछि उनको पसल राम्रै चल्यो।

२०६० चैत महिनामा टीकापुर नगरपालिका–८, विजयनगरमा मुक्तकमैया बस्ती बस्यो। उनको परिवारले समेत दुई कट्ठा जमिन पायो। उनको बसाइ इँटाभट्टाबाट विजयनगर सर्‍यो। पसलसमेत त्यहीं सारियो। एक हजार आठ सय घरधुरी रहेको मुक्तकमैया बस्तीमा उनको पसल राम्रैसँग बढी चल्न थाल्यो। उनले व्यवसाय विस्तार गर्दै टीकापुर नगरपालिकाको कम्पाउण्ड नजिकै खोका पसल खोलिन। त्यहाँ उनले १२ वर्ष बिताइन।

त्यसपछि उनले नगरपालिका कम्प्लेक्समा मासिक दस हजार भाडा तिर्नेगरी २०७२ जेठ २९ गते सुदेशनी फेन्सी स्टोर सञ्चालनमा ल्याइन। २०७२ भदौ ८ गतेको शंखपुर घटनाबाट उनी पनि अछुतो रहिनन्। उनको पसल मात्र होइन १ लाख ५६ हजार नगद लुटियो। सबै गरी ५६ लाख ७९ हजार ८ सय १० रुपैयाँ नोक्सान भएको उनले सुनाइन्। उनी ऋणसापट गरेर फेरि व्यवसायमा फर्किन्। आज तिनै सुदेशनी स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकामा उपप्रमुखको उम्मेदवार बनेकी छिन्।

नेपाल लोकतान्त्रिक फोरमबाट उपप्रमुख उम्मेदवार बनेकी सुदेशनीका प्रतिस्पर्धी कांग्रेसकी ईश्वरी बिष्टसहित आठ जना छन्। केही वर्षअघिसम्म बिष्टकै इँटाभट्टामा काम गर्दै आएकी सुदेशनी अहिले उनैसँग नेतृत्वका लागि प्रतिस्पर्धामा छन्। बिहानदेखि रातिसम्म चुनाव प्रचारमा खटेकी सुदेशनी भन्छिन्, 'समय र परिस्थितिले मान्छेलाई फरक जिम्मेवारीमा पुर्‍याउँदो रहेछ।'

२०७२ भदौ ७ पछि विस्तारै फोरमको राजनीतिमा सक्रिय सुदेशनी विगतमा जस्तै चुनावमा पनि सबैको सहयोग र माया पाउने विश्वासमा छिन्। सामान्य साक्षार उनी भन्छिन्, 'सबैले भोट दिन्छु भन्नुभएको छ, जित्छु।'

कांग्रेसबाट उपमेयरकी उम्मेदवार बिष्टले सुदेशनीले आफ्नो इँटाभट्टामा काम गरेको स्वीकारिन। 'हो, उहाँले हाम्रो इँटाभट्टामा धेरै समय काम गर्नुभयो,' उनले भनिन्, 'लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो।'

आफूले चुनाव जित्नेमा ढुक्क बिष्ट भन्छिन्, 'फैसला गर्ने अधिकार जनताको हो तर, न्याय, समानता र स्वतन्त्रताका लागि लड्नेलाई जनताले भोट दिनेमा म ढुक्क छु।'

टीकापुर नगरपालिकाको उपप्रमुखमा कांग्रेस, एमाले, माओवादी, फोरम लोकतान्त्रिकसहित नौ जनाले उम्मेदवारी दिएका छन्। 

प्रकाशित: ९ असार २०७४ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App