coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बुटवलमा सुकुमवासी मत निर्णायक

शेरबहादुर केसी, रोशन सेढाई

बुटवल- राजनीतिक दलका ध्वजापताकाले बस्ती रंगिएका छन्। टोलटोलमा दलहरूका चुनावी गीत घन्काउँदै रिक्सा कुँदिरहेका छन्। चुनावी गीत घन्किँदा घरभित्र बसेका महिला र केटाकेटी बाहिर निस्केर जम्मा भइहाल्छन्। अरु बेला सुनसानजस्तै देखिने यहाँका सुकुमवासी बस्तीमा अहिले रौनक बेग्लै छ।  सुकुमवासी मत तान्न दलहरूको दिनहुँ घरदैलो र भेटघाट तीव्र छ। मत तान्न आश्वासन बाँड्न दलहरूबीच यही बस्तीमा होड चलेको छ।

१२ हजारको हाराहारीमा सुकुमवासी  मत रहेको दलहरूको आकलन छ। छिट्टै प्रभावित हुने यही मत नै बुटवल उपमहानगरपालिकामा जित-हारका लागि निर्णायक मानिन्छ।

बुटवल उपमहानगरपालिकाको तिनाउ नदी किनारका सुकुमवासी बस्तीका मत तान्न राजनीतिक दलले प्राथमिकता दिएर प्रचार अभियान केन्द्रित गरेपछि यहाँका बासिन्दा पनि आश्चर्यमा परेका छन्। ‘अरु बेला देखानपर्ने नेता अहिले देखापरेका छन्, अरु बेला हाम्रा समस्याबारे चासो नदिनेहरू पनि अहिले सबै पूरा गछर्ौं भनिरहेका छन्', सुन्दरनगरका ७४ वर्षीय थम्मनसिंह थापाले भने।

बुटवलमा धेरै पहिलेदेखि सुकुमवासी समस्या छ। २०५१ सालमा गठन भएको सुुकुमवासी आयोगले धेरैजसो सुकुमवासीलाई लालपुर्जा वितरण गरेको थियो। त्यसपछि २०५५ सालमा गठन भएको अर्को आयोगले बाँकी सुकुमवासीलाई लालपुर्जा वितरण गर्‍यो। त्यसपछि पनि सुकुमवासी समस्या समाधान  भएन।  २०५९ सालपछि स्थानीय निकाय जनप्रतिनिधिविहीन भयो।  यही मौकामा  तिनाउ नदीको तटीय क्षेत्र र नगरमा भएका अन्य खाली जग्गा अतिक्रमण गरियो। एकातिर सशस्त्र द्वन्द्वको रापतापमा गाउँमा टिक्न नसकेर सहर झरेका धेरै खाली जग्गा अतिक्रमण गर्दै टहरा बनाएर बस्न थाले।  अर्कोतिर सुकुमवासीका नाउमा जग्गा अतिक्रमण गर्नेहरू पनि यही बेला सलबलाए। अनियन्त्रित रुपमा ढुंगागिटी निकासी भएपछि गहिरिँदै गएको तिनाउ नदी किनारम सुकुमवासी बस्न थाले।  अहिले औसतभन्दा केही ठूलो  बाढी आउँदा किनारका बस्तीमा बाढी पस्न थालेको छ। यही असुरक्षित बस्तीमा दलहरूले लालपुर्जा बाड्ने भन्दै प्रचार अभियानलाई उत्कर्षमा पुर्‍याएका छन्।

सुकुमवासी बस्तीमा पहिलेदेखि संगठन र प्रभाव भएको पहिलो पार्टी एमाले हो। त्यसपछि  माओवादीले संगठन विस्तार गरी प्रभाव जमाएको छ। सुकुमवासी बस्तीमा संगठन र प्रभाव कम भएको पार्टी कांग्रेस हो। विगतमा एमालेको प्रभावलाई खुम्च्याएर सुकुमवासी बस्तीमा आक्रामक संगठन बनाएको माओवादी अहिले शिथिल देखिएको छ। सुकुमवासी बस्तीमा पुगेर कुराकानी गर्ने क्रममा २०७० सालमा तत्कालीन  एमाओवादी उम्मेदवार बाबुराम भट्टराईलाई भोट दिएकाहरू अहिले असन्तुष्ट देखिए। त्यो असन्तुष्टिलाई थामथुम पार्न अहिलेको माओवादी केन्द्रले पनि त्यति धेरै चासो दिएको देखिँदैन।

बुटवल उपमहानगरपालिकामा कांग्रेस—माओवादी गठबन्धन बनेको छ। कांग्रेस—माओवादी गठबन्धन र एमालेबीच चुनावी रस्साकस्सी तीव्र छ। सुकुमवासी बस्तीको मतको महŒव बुझेर अहिले आक्रामक नारा दिइरहेको कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले भने, 'कांग्रेसले जिते कोही लालपुर्जाविहीन हुनुपर्दैन, हामीले लालपुर्जा वितरणलाई पहिलो प्राथमिकता दिन्छौं।’ विगतमा सुकुमवासी बस्तीको मतलाई प्राथमिकता नदिने र भित्री सहरको मतलाई ध्यान दिने कांग्रेसले अहिले सुकुमवासीको मत तान्न मिहिनेत गरिरहेको छ। र, नदीको बहाव क्षेत्र अतिक्रमण गरेर बसेकालाई लालपुर्जा दिने आर्कषक नारा दिइरहेको छ।

विगतमा यस्तै आर्कषक नारा दिने एमाले पनि कांग्रेसले आर्कषक नारा दिएको देखेर आश्चर्यमा छ। उसले सुकुमवासी र अव्यवस्थित बसोवास गर्नेलाई व्यवस्थित गर्ने बताएर सुुकुमवासी बस्तीको मत सुरक्षित गर्न खोजेको छ।  ‘हामीले पहिले धेरै उठायौं, कति गर्न सकिन्छ कति सकिँदैन, अहिले विचार गर्नुपर्ने बेला पनि हो, पछि समस्यामा परिन्छ भन्ने हेक्का हुनथालेको छ,' एमाले एक नेताले भने।

बुटवलमा ६६ हजार ८ सय ४३ सय मतदाता छन्। तीमध्ये १२ हजारको हाराहारीमा सुकुमवासी  मत रहेको दलहरूको आकलन छ। छिट्टै प्रभावित हुने यही मत नै बुटवल उपमहानगरपालिकाको जित–हारका लागि निर्णायक मानिन्छ। त्यो मत मध्ये दुईतिहाइ तिनाउ र दानो नदी किनारमा रहेको असुरक्षित बस्तीको मत हो।

नदी किनारको असुरक्षित बस्तीलाई सुरक्षित ठाउँमा सार्ने र सुरक्षित बनाउने विषयमा चासो दिनेभन्दा दलहरूको चासो लालपूर्जामा गएको छ। ‘लालपुर्जाको आर्कषक नाराले भोट तान्न सकिने भएकाले त्यतातिर ध्यान गएको हो, मतदाता आर्कषक नारामा  झुम्मिन्छन्,' बुटवल बहुमुखी क्याम्पस समाजशास्त्र विभाग प्रमुख जीवनारायण अधिकारीले भने, 'सस्ता नाराले समाजलाई राम्रो गर्दैन्। समाजमा दलप्रति झन वितृष्णा बढेर जान्छ।’

उपमहानगरपालिका वडा १, २, ३, ५, ६, ९, ११, १२, १७ र १८ मा सुकुमवासी बस्ती बढी छ। यी वडामा सुकुमवासी मत नै निर्णायक हुन्। सबैभन्दा धेरै मतदाता रहेको वडा नम्बर ११ हो। यहाँ ११ हजार ५ सय १६ मतदाता रहेकोमा ५ हजार भन्दा बढी सुकुमवासीको मत रहेको दलहरूको आकलन छ।

 कांग्रेस—माओवादी केन्द्र गठबन्धनले एमाले ‘किल्ला’ तोड्न सुकुमवासी समुदायलाई आकर्षित गर्न थालेपछि संगठन बलियो भएको ठान्ने एमाले पनि सुकुमवासी बस्तीमै केन्द्रित छ। ‘मतदाता आश्वासन होइन, व्यवहारमा धेरै काम भएको हेर्न चाहन्छन्, हामीले काम गरेर देखाएका छौं,' पूर्वनगरप्रमुखसमेत रहेका एमाले उपमहानगर निर्वाचन परिचालन कमिटी संयोजक भोजप्रसाद श्रेष्ठले भने, 'मतदाता सचेत छन्,  कोही प्रभावित हुन्नन्।   

प्रकाशित: ९ असार २०७४ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App