coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजपा उम्मेदवार भन्छन्- 'बुलेटको जबाफ ब्यालेटबाट'

कपिलवस्तु- असार २ गतेसम्म स्थानीय तकको निर्वाचन बहिष्कारमा लागेका राष्ट्रिय जनता पार्टीका जिल्लास्तरीय नेता रामादास गुप्ता अहिले चुनावी प्रचारप्रसारमा जुटेका छन्।

कपिलवस्तु राजपा अध्यक्षमण्डलका सदस्यसमेत रहेका ७४ वर्षीय गुप्ताले आन्दोलन त्यागेर चुनाव रोजेका हुन्। कपिलवस्तु नगरपालिकाको प्रमुखमा स्वतन्त्रको हैसियतमा उम्मेदवारी दिएर उनी चुनाव अभियानमा होमिएका हुन्।

२०२४ सालदेखि राजनीतिमा सक्रिय उनले आन्दोलनको बाटो छाडेर आफू लोकतान्त्रिक तरिकाले मधेसी जनतालाई अधिकार दिलाउन चुनावमा लागेको बताए। '  मधेसीको अधिकार बुलेटबाट होइन ब्यालेटबाट स्थापित गर्न चुनावमा भाग लिएको हुँ', आफनो उम्मेदवारीबारे जानकारी दिँदै उनले भने, 'राजपाको निर्णय बिरुद्ध मैले चुनावमा भाग लिएको छु, उम्मेदवार बनेकोमा कुनै पछुतो पनि छैन,' उनले भने।

२० वर्षपछि हुन लागको चुनावमा जनभावनाको कदर गर्न  आफू उम्मेदवार बनेको स्पष्ट पार्र्दै यसअघि ३ पटक नगरपालिकाका मेयर बनेका गुप्ताले भने, 'फेरि पनि जनताको सेवा गर्न उम्मेदवार बनेको छुँ।' 

उनी पञ्चायकालीन हस्ती भगवान दासका भाइ तथा वर्तमान सांसद बृजेशकुमारका काका हुन। आर्दश गाउँ प पञ्चायत, पञ्चालयकालीन नगरपालिका र प्रजातन्त्र बहालीपछि  २०५४ सालको स्थानीय निकाय निर्वाचन जितेर उनी प्रमुख भएका थिए।

सांसद गुप्ताको पकड क्षेत्र मानिएको कपिलवस्तु नगरपालिकाको प्रमुख पदमा रामदास गुप्ताको उम्मेदवारी दर्ता भएपछि राजपाको आन्दोलन रोकिएको छ। कार्यकर्ताले चुनावमा भाग नलिए सम्बन्ध नै तोडने चेतावनी दिएपछि  आफूले उम्मेदवारी दिएको उनले बताए। घरदैलोसहित चुनावी अभियानमा लागेका उनले आफ्नो पहिलाको कार्यकालमा अधुरा रहेका योजना पूरा गर्न यसपटक पुनः उम्मेदवारी दिएको उनले सुनाए। नगरपालिका घोषणा भएपछि २०४२ सालमा पहिलोपटक प्रमुखमा विजयी हुँदा आफू निकै खुसी भएको बताउँदै उनले ऐतिहासिक नगरपालिकाको भौतिक, पर्यटकीय र कृषि क्षेत्रको विकास आफ्ना अजेन्डा रहेको सुनाए।

५० वर्षदेखि निरन्तर जनताको सेवा गरेकाले यसपकट पनि आफ्नो विजय सुनिश्चित रहेको दाबी उनले गरे। कपिलवस्तु नगरपालिकामा प्रमुख, उपप्रमुखसहित १२ वटै वडामा राजपाका उम्मेदवार छन्।

राजपा आन्दोलन परिचालन जिल्ला समिति सदस्य गंगेश तिवारी पनि आन्दोलन छाडेर जनतासँग भोट माग्न थालेका छन्।  उनले महाराजगन्ज नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी 'गाउँगाउँमा मधेसीको साथ, मधेसी जनताको विकास' भन्ने नारा लिएर चुनावमा होमिएका छन्।

 'सरकारले जसरी पनि चुनाव गराउँछ भन्ने लागेपछि मधेसी जनताको हकअधिकार स्थपनाका लागि चुनावमा सहभागी बनेको हुँ', ३७ वर्षीय तिवारीले भने 'बहिष्कार गरे स्थानीय तहमा मधेसीको उपस्थिति नै हुँदैन। त्यसपछि  मधेसी अधिकारबाट बञ्चित हुन्छन् जस्तो लाग्यो। त्यसैेले उम्मेदवारी दिएँ।'

नगरपालिकाको समग्र विकास नै आफ्नो प्रमुख लक्ष्य रहेको भन्दै उनले युवाको साथ रहेकाले  जित सुनिश्चित रहेको बताए।

यस्तै आन्दोलन छाडेर शिवराज नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका राजपाका जिल्लास्तरीय नेता मोहम्मद मन्सुरी खाँले आन्दोलनभन्दा निर्वाचनले नै जनताको अधिकार सुनिश्चित हुने बताए। 'जनताले पनि आन्दोलनभन्दा चुनाव नै चाहेकाले उनीहरूको भावनाअनुसार उम्मेदवार बनेको हुँ,' उनले भने, 'पार्टीभन्दा जनताको भावनाको कदर गर्न मन लाग्यो।' चुनावी अभियानलाई तीव्रता दिएका उनले नगरको विकास र रोजागरी सिर्जनालाई प्रमुख अजेन्डा बनाएको बताए।

 राजपा जिल्ला नेता दिनेश गुप्ता पनि आन्दोलनको साटो अहिले मतदाता आकर्षित गर्न लागेका छन्। कृष्णनगर नगरपालिकाको उपप्रमुखमा स्तन्त्रको हैसियतमा उम्मेदवार बनेका गुप्ताले पनि आन्दोलनलेभन्दा चुनावले नै अधिकार स्थापित गराउने बताए। 'अहिले छुटे ५ वर्षपछि चुनाव हुन्छ, जनताले अहिले नै चुनाव चाहेका छन्', उनले भने, 'जनमतको कदर गर्न उम्मेदवारी दिएको हँु', उनले भने।

राजपा जिल्लानेता रामदेव कलवारले पनि यशोधरा गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदारी दिएका छन्। २० वर्षपछि  हुनलागेको निर्वाचनले नै जनताको हक अधिकार सुनिश्चित गर्नेे भएकाले चुनावमा सहभागी भएको उनले बताए। तत्कालीन तमलोपाका नेताहरू नै दक्षिणी भेगका स्थानीय निकायमा स्वतन्त्र हैसियतमा उम्मेदवार बनेका छन्। आन्दोलनरत दलका नेता नै कपिलवस्तु, महाराजगन्ज, शिवराज, र कृष्णनगर नगरपालिका तथा यशोधरा गाउँपालिकामा उम्मेदवार बनेपछि चुनावी वातावरण पनि तातेको छ।

प्रकाशित: ९ असार २०७४ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App