८ वैशाख २०८१ शनिबार
खेल

क्रिकेट उकास्न पुनःसंरचना

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को बैठक सामान्यतया दुबईमा हुने गर्छ। तर यसपालिको वार्षिक बैठक दुई साताअघि आयरल्यान्डको इडिनबरामा भयो। यो चाँडै क्रिकेटलाई माथि उकास्ने उद्देश्यमा गरिएको ठूलो परिवर्तनको संकेत हुनसक्छ।

दुई वर्षअघि विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीको पुनर्संरचना भएको थियो। जसले पैसा र शक्ति सबै क्रिकेटका तीन ठूला देश अस्ट्रेलिया, इङ्ल्यान्ड र भारततिर केन्द्रिकृत गर्‍यो। परिवर्तनले तीन देशलाई आइसिसीका महत्वपूर्ण निर्णय गर्ने मुख्य कमिटीहरूमा स्थायी रूपमा स्थान दियो। आइसिसीको आम्दानीमा पनि अन्य सम्पूर्ण १ सय २ सदस्यको एकमुष्ठभन्दा पनि बढी हिस्सामा यिनै तीन देशलाई हक दिनेगरी पुनर्संरचना भएको थियो। जसले विश्वव्यापी रूपमा आलोचना निम्त्यायो। ट्रान्सपरेन्सी इन्टरनेसनल यसको सबैभन्दा कटु आलोचक थियो।

बितेको वर्ष आइसिसीले फरक दिशा लिन सुरु गर्‍यो। शशांक मनोहरले नारायणस्वामी श्रीनिवासनलाई भारतीय क्रिकेटको सर्वोच्च निकाय (बिसिसिआई) र आइसिसी दुवैको अध्यक्षका रूपमा स्थानान्तरण गरे। सत्तारोहण गरेलगत्तै उनी २०१४ मा भएको परिवर्तनको कट्टर आलोचकमा प्रस्तुत भए। नोभेम्बरमा उनले भने, 'म तीन देशको सिन्डिकेटको पक्षमा छैन। शक्ति छ भन्दैमा गरिबलाई झन् गरिब र धनीलाई झन् धनी बनाउन मिल्दैन। आइसिसीले विश्वभर क्रिकेट सञ्चालन गर्नुपर्छ।'

त्यसयता आइसिसीको अध्यक्ष कुनै देशको प्रतिनिधिभन्दा पनि बढी स्वतन्त्र बनाइयो। एकैपटक देशभित्र र आइसिसीको सत्ता आफूसँग हुँदा स्वतन्त्र भूमिकामा पुगेका मनोहरले विश्व क्रिकेटको सर्वोच्च निकायमा कायम रहन बिसिसिआईबाट राजीनामा गरे। तीन ठूला देश (बिग थ्री) आइसिसीको कार्यकारी समितिका साथै आर्थिक तथा व्यापारिक कमिटीमा स्थायी रूपमा स्वतः रहने व्यवस्था खारेज गरियो।

अहिले आइसिसी अझै अगाडि बढ्न खोजिरहेको छ। २०१४ मा भएको पुनर्संरचनाको विषयमा विस्तृत समीक्षा गर्न पाँच सदस्यीय कमिटी गठन भएको थियो। जसले इडिनब्रोमा प्रतिवेदन पेश गर्‍यो। कमिटीको उद्देश्य परिवर्तनलाई सबैबाट मान्यता दिलाउने थियो। मनोहर भने आइसिसीको आम्दानीबाट बिसिसिआईको हिस्सा घटेको हेर्न चाहन्थे। तर, बिसिसिआईमा उनलाई स्थानान्तरण गरेका नयाँ अध्यक्ष अनुराग ठाकुरले भने यसै महिनाको पूर्वार्द्धमा यो अझै छलफलकै विषय रहेको बताएका छन्। आइसिसीले प्रस्ताव सकारात्मक लिए पनि उनले कुनै ठोष निर्णय भने गरिहालेनन्।

काउन्सिलका लागि अहिले दुई वर्षअघिको निर्णयबाट फर्कनु वा त्यसलाई कार्यान्वयन गर्नु भन्दा पनि टेस्ट क्रिकेटको भविष्य सुरक्षित गर्नु ठूलो चुनौती बनेको छ। क्रिकेटमा सबैभन्दा प्रतिष्ठित स्वरुप भए पनि टेस्टको भविष्य अन्योलमा छ। १८७७ देखि टेस्ट खेलिन थालेको भए पनि लामो समयको यो स्वरुपको अस्तित्व नै संकटमा पर्न थालेको छ। छोटो स्वरुपको ट्वान्टी–२० क्रिकेटले समर्थकलाई पूर्ण रूपमा आफ्नो वशमा पारिसकेको छ। खासगरी अस्ट्रेलिया, भारत र वेस्ट इन्डिजको घरेलु क्रिकेटमा २० ओभरको विधा अत्यन्तै लोकप्रिय हुन थालेको छ। आधुनिक विश्वमा समयको पाबन्दी हुने भएकाले छोटो स्वरुपको खेल लोकप्रिय हुन थालेको हो। साथमा टेस्ट खेललाई दिइने महत्व क्रिकेट प्र्रशासनले नै कम गरेपछि यसको लोकप्रियता झनै खस्किन थाल्यो। विश्व वरीयताका लागि टेस्टलाई महत्वमा राखिए पनि समग्र लिग संरचनामा टेस्टको उपस्थिति छैन। टेस्ट क्रिकेट जोगाइराख्ने हो भने यो स्वरुपमा पनि धेरै टोली हुनु आवश्यक भएको क्रिकेट काउन्सिलले बुझिसकेको छ। विश्व क्रिकेटको वर्तमान संरचनामा १० देशसँग मात्र टेस्ट खेल्ने मान्यता छ।

'हामीले टेस्ट शृंखलालाई उपाधि र वरीयतामा मात्र सीमित नगरी योभन्दा बृहत रूपमा नलगेसम्म गाह्र्रो छ। टेस्ट क्रिकेट विस्तार गर्न सकियो भने मात्र यो विधाको प्रतिष्ठा कायम रहन्छ,' आइसिसीका कार्यकारी प्रमुख डेविड रिचार्डसनले यसै महिनाको पूर्वार्द्धमा भनेका थिए, 'टेस्ट क्रिकेट जोगाइराख्नकै लागि पनि हामीले यो विधामा टिम संख्या थप्नुपर्छ। टेस्टमा पनि रेलिगेसन र प्रमोसनको व्यवस्था गरेर नयाँ संरचनाका प्रतियोगिता सुरु गर्नुपर्छ। जहाँ सीमित टोलीको मात्र वर्चस्व हुने छैन।'

टेस्ट क्रिकेटका लागि काउन्सिलले नयाँ संरचना प्रस्ताव गरेको छ। जहाँ शीर्ष डिभिजनमा सात टोली तथा दोस्रो डिभिजनमा पाँच टोली हुनेछन्। दुवै डिभिजनमा सबै देशले एकअर्कासँग होम एन्ड अवे पद्दतिमा दुई खेल खेल्नेछन्। दुई वर्षको बीचमा लिग सम्पन्न हुनेछ, जहाँ पुछारका टोली रेलिगेसनमा पर्नेछन् भने शीर्ष टोली माथिल्लो श्रेणीमा बढुवा हुनेछन्। तल्ला डिभिजनमा पनि यस्तै व्यवस्था गरिनेछ। जहाँबाट दोस्रो डिभिजनसम्म जाने बाटो सबै टोलीसँग हुनेछ। जबकि यस्तै योजना विगतमा असफल भइसकेको छ। आइसिसीले २००४ मा यस्तै रेलिगेसन–प्रमोसनको व्यवस्थासहितको लिग गर्ने असफल प्रयास गरेको थियो।

यसपालि यो योजनाबाट सकारात्मक आशा गरिएको छ। शीर्ष डिभिजनमा सात टोली हुने व्यवस्था पारित हुन हाल रहेका आइसिसीका १० पूर्ण सदस्यमध्ये सात देशको मत आवश्यक हुन्छ। साथमा आइसिसीका सदस्यहरूले आफै परिवर्तनको सम्वाहक बन्नुपर्ने रिचार्डसन बताउँछन्। आइसिसीले तत्काल कुनै निर्णय नलिए पनि यसलाई अधिकांस सदस्यहरूले सकारात्मक रूपमा ग्रहण गरेकाले आश गर्न सकिने अवस्था बढेको जानकारहरू बताउँछन्।

'धेरै सदस्य राष्ट्रहरूले दुईदेशीय क्रिकेटमा टेलिभिजन अधिकारबाट पर्याप्त रकम पाइरहेका छैनन्। त्यसैले उनीहरूलाई केही अर्थपूर्ण परिवर्तन  आवश्यक छ,' रिचार्डसनले भने।

यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि १३ देशबीचको नयाँ लिग सुरु गर्ने विषयमा सोच सुरु भएको छ। टेस्ट क्रिकेटमा जस्तै दुई डिभिजनको स्पष्ट व्यवस्था गरेर २०१९ देखि लिग सुरु गर्ने योजना छ। उदीयमान देशहरूलाई अगाडि बढ्ने मौका प्रदान गर्दै दर्शक र व्यावसायिक सहयात्रीहरूको चासो बढाउने आधार तयार गर्ने उद्देश्यमा यस्तो नयाँ व्यवस्थाको सोच ल्याइएको हो।

न्युयोर्क टाइम्समा टिम विग्मोर लेख्छन्, 'ट्वान्टी–२० क्रिकेटको उदयबाट काउन्सिल भयभित भएको सन्दर्भमा ट्वान्टी–२० विश्वकपलाई चार वर्षको बीचमा गर्ने निर्णय लागू नभइकनै दुई वर्षमै झारिनुबाट फाइदा लिन सकिन्छ। २० ओभरको विश्वकपका धेरै संस्करणबाट बढ्ने आम्दानी टेस्ट क्रिकेटको प्रस्तावित दुई डिभिजनको संरचना गर्न प्रयोग हुनसक्छ। यसरी ट्वान्टी–२० ले टेस्ट क्रिकेट समाप्त पार्नुको साटो त्यसलाई जोगाउन सहयोग गर्न सक्छ।'

प्रकाशित: ६ श्रावण २०७३ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App