८ वैशाख २०८१ शनिबार
राजनीति

धनगढीमा प्रमुख दललाई स्वतन्त्र उम्मेदवारको चुनौती

बालकृष्ण अधिकारी/दिलबहादुर छत्याल

धनगढी- प्रमुख राजनीतिक दललाई धनगढी उपमहानगरपालिकाको परिणाम आफ्नो पक्षमा पार्न कडा मेहनत गर्नुपर्ने भएको छ। पार्टीभित्रको आन्तरिक विवाद र गोपाल हमालको स्वतन्त्र उम्मेदवारी प्रमुख दलका लागि सबैभन्दा चुनौतीको विषय बन्न पुगेको छ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा उम्मेदवारी छनोटलाई लिएर सुरु भएको असन्तुष्टि समाधान हुन नसक्दा निर्वाचनको परिणाम फेरबदल हुने सम्भावना छ नै, त्यसमाथि उद्योगी हमालको उम्मेदवारी प्रमुख दलका लागि अर्को टाउको दुखाइको विषय बनेको छ। पार्टीभित्रको असन्तुष्टि पोख्ने ठाउँ हमाल हुने त होइनन् भन्ने भयले प्रमुख दलले शीर्ष नेतालाई नै धनगढीमा उतारिरहेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा उम्मेदवारी छनोटलाई लिएर सुरु भएको असन्तुष्टि समाधान हुन नसक्दा निर्वाचनको परिणाम फेरबदल हुने सम्भावना छ नै, त्यसमाथि उद्योगी हमालको उम्मेदवारी प्रमुख दलका लागि अर्को टाउको दुखाइको विषय बनेको छ।

कांग्रेसले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई धनगढीमा आमन्त्रण गरेको छ। उनी बिहीबार धनगढी आइपुग्नेछन्। दोस्रो संविधानसभामा देउवाले यही क्षेत्रबाट चुनाव जितेका हुन्। देउवाले निर्वाचनको परिणाम पार्टीको पक्षमा पार्न र आन्तरिक विवाद समाधान गर्न एक दिनको समय खर्चनेछन्।

जिल्ला तहबाट आन्तरिक विवाद समाधान हुन नसक्दा तीन वडामा बागी उम्मेदवारी कायमै छ। त्यसले वडामात्र नभएर प्रमुख र उपप्रमुखको परिणामलाई पनि असर पुग्ने कांग्रेसको विश्लेषण छ। पार्टीभित्रको विवाद समाधान भए कांग्रेसले नै निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सक्ने अनुमान छ।

हमालको उम्मेदवारीले सबैभन्दा नोक्सान कांग्रेसलाई पुर्‍याउन सक्ने स्थानीय प्रमोद पाठकको बुझाइ छ। कांग्रेस, एमाले, माओवादी र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन गर्दै उनले भने, 'स्वतन्त्र उम्मेदवार हमालले पाउने मतले धेरै कुरा निर्धारण गर्नेछ।'

कुनै दलसँग आबद्ध नभए पनि कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भएका बेला हमाल सुन्दर सुदूरपश्चिम अभियान चलाएर चर्चामा आएका थिए। धनगढी विमानस्थलको कालोपत्रेदेखि स्थानीय स्तरमा विकास निर्माणमा हमालले महŒवपूर्ण योगदान पुर्‍याएको स्थानीय बताउँछन्। छ भोट पार्टीलाई एक भोट विकासलाई भन्ने आवाज पनि सुनिने गरेको कैलाली उद्योग वाणिज्य संघका पूर्वमहासचिव मोहन शर्माले बताए। उनले भने, 'एमालेलाई भन्दा हमालको उम्मेदवारीले कांग्रेस उम्मेदवारलाई बढी असर गर्नसक्ने देखिन्छ।' सबै पक्ष र समुदायसँग सुमधुर सम्बन्ध राख्न हमाल सिपालु रहेको सुनाउँदै कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेश भण्डारीले भने, 'राज्यबाट पछाडि पारिएको यो क्षेत्रको मुहार बदल्न हमाल उपयुक्त व्यक्ति हुन सक्छन् भन्ने बुझाइ छ।'

विगतलाई नियाल्दा परिणाम स्वाभाविक रुपमा कांग्रेसको पक्षमा पर्ने देखिए पनि जातजातिका साथै क्षेत्रीयताले पनि असर गर्ने सम्भावना छ। निर्वाचनको परिणामलाई राना, डोटेली (डोटीबाट झरेका), अछामी, कर्णालीपारिबाट आएका समुदायको मतले प्रभाव पार्नेछ। राना थारुपछि डोटेलीको बाहुल्य रहेको धनगढीमा ७६ हजार ४ सय ३० मतदाता छन्। तीमध्ये झन्डै २८ हजार राना थारु छन्। उनीहरुले निर्वाचनमा आफ्नो मत कसरी प्रयोग गर्छन् भन्ने विषयले नतिजामा असर पार्नेछ।

कांग्रेस र एमालेले मेयरमा क्रमशः नृप वड र दुर्गाप्रसाद जोशीलाई मैदानमा उतारेका छन्। कांग्रेसले नगरसभापति वडलाई उम्मेदवार बनाएको हो। एमाले उम्मेदवार जोशी सचिवालय सदस्य हुन्। पुख्यौली घर अछाम भएका वडलाई प्रमुखमा अघि सारेर सबैको मन जित्ने प्रयास गरे पनि पार्टीभित्रै असन्तुष्टि छ। क्षेत्रीयताले निर्वाचन परिणामलाई असर पर्ने विश्लेषणमा रहेका कांग्रेसका कतिपय नेता डोटी पुर्ख्याैली घर भएका नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउनुपर्ने पक्षमा थिए।

एमालेमा जोशीभन्दा पूर्वसभासद् नारदमुनी राना वा पूर्वमेयर खेमराज पाण्डेलाई अघि सारेको भए निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सहज हुने विश्लेषण गरिएको थियो। तर, जिल्ला अध्यक्ष दीर्घ सोडारीले आफूनिकट नेतालाई रोजेको कार्यकर्ताको गुनासो छ। संविधानसभाको भोटलाई कायमै राख्न सके निर्वाचन परिणाम उल्ट्याउन सकिने विश्लेषण एमालेको छ। हमालले कांग्रेसकै भोट बढी काट्ने अड्कलसहित एमाले आफ्ना मतदाता जोगाउन सक्रिय छ। एमालेका एक नेताले भने, 'बुद्धि पुर्‍याएको भए अवस्था थप सहज हुने थियो।'

यता माओवादी केन्द्रले राजशमज रानालाई अघि सारेको छ। कांग्रेस र एमालेले राना थारुबाहिरबाट प्रमुख र उपप्रमुखको उम्मेदवार बनाएका छन् भने माओवादीले थारु समुदायबाट नै उम्मेदवारी दिएको छ। त्यसको लाभ उठाउने रणनीतिमा माओवादी केन्द्र जुटेको छ।

त्यस्तै, फोरम लोकतान्त्रिकले प्रेम बिसीलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुबहादुर साहु खडा छन्। राप्रपाको प्रभावशाली उम्मेदवार नहुँदा त्यसको लाभ स्वतन्त्र उम्मेदवार हमाललाई पुग्नसक्ने आकलन छ। सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार हेमराज पन्तले धनगढीमा रोचक प्रतिस्पर्धा हुने बताए। 'जनताले देखिने खालको परिवर्तन गर्न सक्ने नेता खोजेका छन्,' उनले भने, 'ठूला तीन दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ।' हमालको उपस्थिति पुराना ठूला दललाई चुनौती बनेको उनले सुनाए।

अत्तरिया नगरपालिकाका ९ र ११ वडा गाभेर हाल १९ वडा रहेको धनगढी उपमहानगरपालिकाको प्रमुखमा ११ जना चुनावी प्रतिस्पर्धामा छन्। १५ हजारसम्म मत सुरक्षित गर्न सक्ने उम्मेदवारै उपमहानगरपालिकाको नेतृत्वमा पुग्नेछन्। प्रमुख, उपप्रमुखसहित ९७ पदका लागि ४ सय ९६ जनाले उम्मेदवारी दिएका छन्।

धनगढीमा २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेस र २०५४ मा एमाले विजयी भएका थिए। धनगढी रहेको क्षेत्रमा २०४८ को संसदीय चुनावमा कांग्रेस, २०५१ मा एमाले, २०५६ मा फेरि कांग्रेस र २०६४ को पहिलो संविधानसभामा माओवादी विजयी भएका थिए। त्यसपछिको संविधानसभा चुनावमा कांग्रेसले जितेको थियो।

आफैंले जित्ने सबैको दाबी

धनगढी उपमहानगरपालिका प्रमुखका सबै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। जनतामाझ बसेर निरन्तर काम गरेकाले जित निश्चित भएको सबैको दाबी छ। कांग्रेसले प्रमुख, उपप्रमुखसहित १३ वडामा जित्ने दाबी गरेको छ भने एमाले पनि प्रमुख, उपप्रमुखसहित बहुमत वडा जित्ने दाबी गर्छ। त्यस्तै, माओवादीले प्रमुख, उपप्रमुखसहित आधा वडामा जित निकाल्ने दाबी गरेको छ।

कांग्रेस उम्मेदवार वडले जनताको बीचमा रहेर निरन्तर सेवा गरेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। 'जनताले माया गर्नेमा ढुक्क छु,' उनले नागरिकसँग भने, 'पार्टी सभापतिले नै चुनाव लडेको क्षेत्र भएकाले संगठन पनि मजबुत छ।' कांग्रेसले ढल निकास, सडक, खानेपानी, नदी नियन्त्रणसहितका विषयलाई चुनावी अजेन्डा बनाएको छ।

एमालेका उम्मेदवार जोशीले पार्टीले राष्ट्रिय राजनीतिमा लिएको विचारका आधारमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। 'संगठन मात्र होइन, विचार र अजेन्डालाई पनि जनताले रुचाएका छन्,' उनले भने, 'पार्टीभित्र र बाहिरको परिस्थिति पनि मेरा लागि अनुकूल छ।' एमालेले पेपरलेस गभर्नेन्स, विकासका लागि बौद्धिक क्रान्तिजस्ता अजेन्डा अघि सारेको छ।

माओवादी केन्द्रीय सदस्यसमेत रहेका रानाले पार्टी संगठन, अजेन्डाका साथै किसान र पछि परेका समुदायको उत्थानका लागि लिएको नीति जितको आधार भएको बताए। माओवादीले ठेक्का प्रक्रिया बन्द गरेर जनताबाटै बलियो र गुणस्तरीय काम गर्ने, किसानलाई पेन्सन दिनेसहितका चुनावी नारा दिएको छ।

फोरमका उम्मेदवार बिसीले ३० वर्षदेखि जनताकै माझ बसेर काम गरिरहेको दाबी गरे। 'जनताको सेवामा पनि लागेको छु, पछाडि परेको समुदायको पनि प्रतिनिधित्व गर्ने भएकाले जनताले मलाई जिताउनेछन्,' उनले भने। उनले सबै वडा छुने सडक सञ्जाल बनाउने, खोलानालाको अतिक्रमण रोकेर दुवै किनारमासडक बनाउने अजेन्डा अघि सारेका छन्। स्वतन्त्र उम्मेदवार हमालले आर्थिक समृद्धि र विकासका लागि उम्मेदवारी दिएको बताए। 'विकास र समृृद्धि सबैलाई चाहिएकाले एक भोट सबैले मलाई नै दिनेछन्,' उनले भने, 'विकासपे्रमी जनताले मलाई रोजेका छन्।' 

शीर्ष नेता आउँदै

प्रमुख राजनीतिक दलका शीर्ष नेता धनगढी उपमहानगरपालिकाको परिणाम आफ्नो पक्षमा पार्न कैलाली आउने क्रम सुरु भएको छ। कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न धनगढी आउन थालेका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार नै नेपालगन्ज हुँदै टीकापुर आइपुगेका छन्। बिहीबार धनगढीको फूलबारीसहितका कार्यक्रममा दाहाल सहभागी हुनेछन्। त्यस्तै, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि बिहीबारै धनगढी आइपुग्नेछन्। उनले यहाँ पार्टीका विभिन्न चुनावी सभालाई सम्बोधन गर्नेछन्। १४ गते मतदान गरेर मात्र काठमाडौं फर्कने गरी आउन लागेका देउवाले शुक्रबार कञ्चनपुर र शनिबार डडेलधुराका चुनावी सभालाई सम्बोधन गर्नेछन्।

त्यस्तै, एमालेका शीर्ष नेता पनि आउने तयारीमा रहेको स्थानीय नेताले जानकारी दिएका छन्। पार्टी अध्यक्ष केपी ओली वा माधवकुमार नेपालमध्ये एक नेता धनगढीको चुनावी सभालाई सम्बोधन गर्न आउने उनीरुले बताए।

प्रकाशित: ९ असार २०७४ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App