८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावले बढाउँदै सद्भाव

बालकृष्ण अधिकारी/योगेश रावल

टीकापुर- टीकापुरको शंखपुरमा नेपाल प्रहरीका एएसपीसहित नौ जनाको ज्यान गएको दुई वर्ष बित्न लागेको छ। २०७२ भदौ ७ मा १८ महिनाका बालकसहित सुरक्षाकर्मी मारिएपछि टीकापुरमा सामाजिक सद्भाव खलबलिएको थियो। त्यो खलबलिएको सद्भाव अहिले चुनावका माध्यमबाट ट्रर्‍याकमा ल्याउने प्रयास भइरहेको छ। 

टीकापुरवासी सम्हालिँदै विस्तारै त्यो घटना भुल्ने प्रयासमा छन्। घाउको खाटा कोट्याउनभन्दा उनीहरू मलम लगाएर पहाडिया र थारु समुदायबीच दूरी घटाउन सक्रिय छन्। तर पनि उनीहरूमा भय र त्रास भने उत्तिकै छ। फेरि अर्को त्यस्तै घटना हुने त होइन? एकअर्काप्रतिको आशंका र अविश्वास भने अझै हटिसकेको छैन।

'शंखपुर घटनापछि यहाँका जनतामा मानसिकरुपमा ठूलो खाडल परेको छ,' टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशवबहादुर कुँवरले नागरिकसँग भने, 'विस्तारै खाडल पुरिँदै गएको छ। सामाजिक सद्भाव बढ्दै गएको छ।'

स्थानीय तहको निर्वाचन टीकापुरमा सामाजिक सद्भाव कायम गर्न र थारु–पहाडियाबीच बढेको दूरी कम गर्न सहयोगी बनेको उनको बुझाइ छ। 'निर्वाचनले कुन जात, क्षेत्र र समुदाय भन्ने सीमालाई हटाइदिएको छ,' उनले भने, 'पहाडियाको घरमा थारु र थारुको घरमा पहाडिया समुदायका मान्छे (उम्मेदवार) पुगेर भोट मागिरहेका छन्।' एकअर्काप्रति दुराग्रह हटाएर सद्भाव बढाउन स्थानीय निर्वाचनले महŒवपूर्ण भूमिका खेलेको उनको बुझाइ छ। उनले भने, 'निर्वाचन टीकापुर घटनाले लागेको घाउ मेटाउन सहयोगी बनेको छ।'

वीरेन्द्र माविका पूर्वशिक्षक दामोदर पण्डितले टीकापुरवासी कुनै पनि अतिवादको पक्षमा नरहेको सुनाए। सबै पक्ष सामाजिक सद्भाव र एकताको पक्षमा रहको सुनाउँदै उनले भने, 'त्रास अझै कायमै छ। पहिलाभन्दा धेरै कम भएको छ। फेरि केही हुने त होइन भन्ने आशंका अझै हटेको छैन।'

भदौ ७ को घटनाको प्रतिक्रियास्वरुप ८ गते थारु बस्तीमा गरिएको आगलागी र लुटपाटलाई अघिल्लो अपराधको न्यायका रुपमा चित्रण गर्दा परिस्थिति बिग्रेको कतिपयको बुझाइ छ। पूर्वशिक्षक पण्डितले शंखपुर घटना दुःखद भए पनि राज्यले सामाजिक सद्भाव कायम गर्न चुकेको सुनाए। 'नाबालकदेखि सुरक्षाकर्मीको हत्या भएको घटनालाई कसैले पनि ठीक  भन्न सक्दैन,' उनले थपे, 'तर, राज्य पनि त्यसपछिका दिनमा आफ्नो जिम्मेवारी पूरा गर्न केही चुकेको र सामाजिक सद्भाव कामय गर्ने कार्यबाट विमुख भएको अनुभूति भएको छ।'

सहारा खोज्दै आएकालाई राज्यले संरक्षण गर्न नसकेको, दोषीलाई कारबाही गर्नुभन्दा संरक्षण भएको र निर्दोषले सजाय पाएको कतिपयको गुनासो छ।

टीकापुर नगरपालिकाका पूर्वप्रमुख रत्नप्रसाद सन्ज्यालले टीकापुरमा सामाजिक सद्भाव विस्तारै फर्कने क्रममा रहेको सुनाए। 'जतिमात्रामा त्यसलाई चिर्नुपर्ने हो त्यो हुनसकेको छैन,' उनले भने, 'तर पहिलाभन्दा दूरी घटेको छ। आत्मियता बढेको छ।' जातजाति, समुदाय र क्षेत्रीयताका कारण अझै पुरानो अवस्थामा टीकापुर पुग्न नसकेको उनको बुझाइ छ। उनले भने, 'जनतालाई दिगभ्रमित बनाउने काम अहिले पनि भइरहेको छ।'

सबै पक्ष एकअर्कालाई सम्मान, इज्जत र आदर गर्न तयार रहेको बताउँदै उनले भने, 'हामी सबै कैलालीको भन्ने भावना विकास हुनुपर्छ।'

टीकापुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्ण रिमाल एकअर्काप्रति 'मिसलिड' हुँदा शंखपुर घटना भएको बताउँछन्। त्यसले छाडेको छाप अविस्मरणीय र दीर्घकालसम्म रहने सुनाउँदै उनले भने, 'आफ्नो दुनो सोझो गर्न राजनीतिक दलहरूले भाइ/भाइ लडाउने र आफ्नो स्वार्थ पूरा गर्ने जुन काम गरे त्यो दुःखद थियो।'

निर्वाचनको माध्यमबाट  विभाजित मनलाई जोड्ने प्रयास सबै पक्षबाट जारी रहे पनि पुरानो अवस्थामा पुग्न अझै समय लाग्ने उनको भनाइ छ।  उनले थपे, 'जातीय र साम्प्रदायिक नाराले शान्ति हुँदैन, कसैको भलो गर्दैन र हुँदैन।'

स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्री यो वा त्यो नभनी सबैको घरमा भोट माग्न पुगे पनि जातीय र क्षेत्रीय दल आफ्नो समुदायमा मात्र सीमित छन्। सर्वसाधारण अझै कोहीसँग पनि खुलेर आफ्ना कुरा राख्न चाहँदैनन्। 

संविधानसभाबाट जारी हुने संविधानमा थारु पहिचानसहितको प्रदेश माग गर्दै सडकमा ओर्लेको भिडले १८ महिनाका बालकसहित सुरक्षाकर्मीको निर्मम हत्या गरेपछि टीकापुर अशान्त बनेको थियो।

प्रकाशित: ९ असार २०७४ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App