coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'सिद्धान्तभन्दा तटबन्धन प्यारो'

बर्दिया- २०७१ साउन अन्तिममा बबईमा आएको बाढी बस्तीमा पस्दा ५ गाविसका र गुलरिया नगरपालिकाका १ लाख घर धुरी पूर्ण रूपमा प्रभावित भए। ३० जनाको बाढीबाट मृत्यु भयो। ४ जनाको अवस्था अझै अज्ञात छ। तर, बाढी नियन्त्रणका लागी पर्ने न्यून बजेटले प्रायःठाउँका तटबन्धनको काम अपूरो छ। स्थानीय तहको निर्वाचनको भोट माग्न नेता घर दैलो गरिरहेका बेला बाढी आएमा त्यही नियती दोहोरिने त्रासमा मतदाता छन्।

'भोट दिन मन छ,' तुल्सीपुर खुला चौरमा बस्ने बाढीपिडित ६५ वर्षीया नन्दकला डाँगीले भनिन्, 'तर पीडा सुन्ने कोही भएन, हामीलाई सिद्धान्तभन्दा तटबन्ध प्यारो छ, तटबन्ध नगरिदिँदा बाढीले घर बगाएपछि तीन वर्षदेखि छाप्रोमा वास छ।'

'दिउँसो चर्को गर्मीमा बाहिर बसेर जेनतेन दिन कट्छ,' उनले दुःख बिसाइन्, 'बाघ लाग्ने हुनाले केटाकेटी कसरी बचाउने चिन्ताले रातिको निद्रा बिथोलिन्छ ।'

उनले चुनावका बेला मात्र भोट माग्न आउने नेतालाई भोट नदिने बताइन्। 'नेता भएपछि हाम्रो सुख–दुःख बु‰न सक्ने हुनुपर्छ,' उनले भनिन्, 'चुनावमा मात्र मुख देखाउनेले जितेपछि हामीलाई बिर्सन्छन। हाम्रो समस्या बुझ्दैनन्।' उनले अहिलेसम्म बाढीपीडितको मर्म बुझेको नेता फेला नपारेको बताइन्। उनलाई  २०५४ सालको स्थानीय निर्वाचनमा भोट खसालेको सम्झना छ। 'विगतमा पनि स्थानीय तहको चुनावमा सल्लाह गरेरै भोट दियौं,' उनले भनिन्, 'त्यति बेला नदी नियन्त्रणका लागि पहल गर्ने आश्वासन दिएका नेताले रामपुरटप्परको समस्या ध्यान नदिँदा बाढीले ६ जनाको ज्यान गयो, ४३ घर परिवार बेघरबार भए।' भोट खसाल्ने प्रतीक्षामा बसेकी डाँगी भन्छिन्, 'यसअघि दलका नेताले चुनावका वेला  घोषणा पत्रको विकासको खाका लिएर घर पुग्ने नेताले भोट पाए। आश्वास दिएकै भरमा  सैद्धान्तिक मत पाएर  सहजै चुनाव जिते। अहिलेको अवस्था फेरिएको छ।'  मतदाता पनि आफ्नै पार्टीको नेतालाई भोट हाल्दा पार्टीको जित नै आफ्नै जित सम्भि्कन्थे। पटक–पटक खोक्रो आश्वासन बाँडेका नेता यसअघि सफल पनि भए। तर प्रजातन्त्रपछि चुनिएका जनप्रतिनिधि विकासको पक्षमा नरहेकोे उनको आरोप छ। आफ्नो अमूल्य भोट सिद्धान्तको भरमा  दिदा धोका भएको डाँगीको बुझाइ छ।

यसअघिका चुनावमा दलको घोषणा पत्रमा बबई नदी नियन्त्रणका लागि दीर्घकालीन योजना, नेपाल भारतको सीमाका नाका संचालन र भुरिगाउँ तेलपानी सडक प्रथामीकतामा परे।

'पहिलोपटक भोट दिँदैछु, पार्टी मतलब छैन, राम्रो उम्मेदवारलाई दिने हो,' बाढीपिडित विमला विकले भनिन। गाउँका लागि काम गर्ने व्यक्तिलाई प्राथमिकता दिइने उनको भनाइ छ। 'हामीले त गाविस सचिव मात्र देख्यांै, चुनाव जितेर आएका नेता देख्न पाइएन', उनले भनिन्, 'गाउँकै मान्छेलाई जिताएर नेता बनाउँ्क भन्ने लागेको छ।'

यस्तै, गुलरिया नगरपालिका लटकनियाको कान्ता हरजन सबैले मन पराएका नेतालाई जिताउने सोचमा छन्। 'विकास गर्न एउटा न एउटा पार्टीलाई भोट दिनैपर्‍यो नि,' माओवादी समर्थक बताउने उनले भने, 'म त पार्टीलाई भन्दा विकास गर्ने उम्मेदवारलाई भोट दिने हो।'

अर्का स्थानीय वाधु मल्लाहा आफ्नो ठाउँमा कांग्रेस, एमाले र माओवादी केन्›को पकड राम्रो रहेको दाबी गर्छन्। 'हाम्रै पार्टीले जित्छ, भन्ने होइन,' उनले भने, 'नयाँ मान्छेले धेरै काम गर्छ, त्यसैल दिग्गजलाई अवसर दिने हो।' आफूले भोट हालेर जिताएको व्यक्तिले बिजुली लगेर गाउँ उज्यालो पारोस् भन्ने उनको चाहना छ। यहाँका विकट गाउँमा अझै स्थायी रूपमा बिजुली पुगेको छैन। बर्षेनी बाढी पस्ने महजिदिया बस्ती विद्यालय, बिजुलि र सडकविहीन छ।

दक्षिण बेल्टको महजिदियामा अति विपन्न समुदायको बसोबास छ। गुलरिया नगरपालिकामा पर्ने उक्त वस्ती भारतको सिमानासँग जोडिएको छ। यहाँको सबैभन्दा विकट गाउँमा मल्लाहा, लोध, पासी, गोडीया हुन्। अधिकांश वृद्धवृद्धा नेपाली भाषा बुझदैनन्, बस्तीमा नेपाली पैसा चल्दैन, यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्ने गर्छन्।

तर, अहिले यो गाउँमा चुनावी माहोल चर्किसकेको छ। यहाँ फुस्का ३५ घरमा चुनावी झन्डा फहरिएका छन्। मल्लाहा यस गाउँका अगुवा हुन्। चुनाव जितेका सांसद्ले नै विकासको गति शिथिल पारेको उनको आरोप छ। 'साना योजना बन्न पनि दश वर्ष लागेको देखियो,' उनले भने, 'विकास निर्माणको काम छिटो गराउन जनताले चुनेका नेताले भूमिका खेल्नुपर्ने हो। जनतामा नेतासँग अविश्वास हुनु कुनै हालतमा राम्रो होइन।'

प्रकाशित: ९ असार २०७४ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App