७ वैशाख २०८१ शुक्रबार
समाज

खेल आवरणमा गम्भीर अपराध

काठमाडौं- खेलाडी र खेल पदाधिकारी बनाएर क्यानाडा लैजान्छु भनी ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघका पूर्वमहासचिव लोकबहादुर शाही पक्राउ परेका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर शाही नेपाल आइस हक्की संघको अध्यक्षसमेत हुन्।

खेलाडीको आवरणमा मानव तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ पर्ने शाही खेल क्षेत्रका तेस्रो व्यक्ति हुन्। यसअगाडि गैरखेलाडीलाई खेलाडी बनाएर बेलायत र कोरिया पठाउन सक्रिय रहेको अभियोगमा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरी पक्राउ परेका थिए।

शाक्यमाथिको आरोप पनि गिरीकै जस्तो छ। गिरीले मार्सल आर्टको नक्कली खेलाडी र रेफ्री बनाएर बेलायत र कोरिया पठाउने गरेका थिए भने शाक्यले फुटबलका नक्कली खेलाडी र खेल अधिकारी बनाएर अमेरिका र क्यानाडा पठाउने भन्दै पैसा लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतमा रहेका उनीमाथि प्रहरीले गैरखेलाडीलाई खेलाडी बनाएर क्यानाडामा आयोजना हुने फुटबल प्रतियोगितामा लैजाने भनी २५ जनाबाट ३ करोडभन्दा बढी रकम उठाएर ठगी गरेको आरोप लगाएको छ।

'क्यानाडा पठाउँछु भन्दै पैसा लिएर ठगी गरेको निवेदन परेपछि शाहीलाई पक्राउ गरेका हौं,' महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले भने, 'अहिलेसम्म २५ जनाको उजुरी आएको छ, उजुरीमा खुलेअनुसार ३ करोडभन्दा बढी ठगी गरेको देखिन्छ।'

महाशाखाका अनुसार उनले कुसुन्ती युवा क्लब र द एसोसिएसन फर इन्टरनेसनल स्पोर्टस् फर अल–नेपाल नामक संस्थाको नाममा गैरखेलाडीलाई खेलाडी र खेल अधिकारी बनाएर क्यानाडा लैजाने भन्दै पैसा उठाएका थिए।

एसएसपी अमात्यले शाहीले क्यानाडा लैजाने भन्दै रसिदै काटेर प्रतिव्यक्ति २ लाख लिएको खुलेको बताए। उजुरीकर्ताले २ लाखको रसिद दिए पनि उनले ८ लाख रुपैयाँसम्म लिएको दाबी प्रहरीसँग गरेका छन्।

द एसोसिएसन फर इन्टरनेसनल र्स्पोर्टस् फर अल अन्तर्राष्ट्रिय संस्था हो। नेपालमा नेपाल खेलकुद परिषद् यसको सदस्य भए पनि शाहीले दाबी गरेझैं उनी सो संस्थाको सदस्य रहेको देखिएन। उनले आफूलाई सो संस्थाको अध्यक्ष भएको दाबी गर्दै आएका थिए।

एसएसपी अमात्यका अनुसार उनले ठगी गरेको भन्दै सम्पर्क गर्नेको संख्या बढिरहेकाले पीडित र ठगीको बिगो रकमसमेत बढ्ने देखिन्छ।

अमेरिका जान १८ लाख

शाहीले अमेरिका र क्यानाडा लैजाने भनेर ठगी गरेका दुई पीडित नागरिकको सम्पर्कमा आएका थिए। म्याग्दीका राजन बानियाँका अनुसार उनीसहित धेरै युवालाई शाहीले फेब्रुअरीमा अमेरिकामा हुने अन्डर–१९ फुटबल प्रतियोगितामा लैजान्छु भनेर १८ लाख मागेका थिए। प्रारम्भमा उनी र उनका आफन्तले उनलाई २ लाख रुपैयाँ दिए तर शाहीले अमेरिका पठाउन सकेनन्।

अमेरिका नपठाएपछि काठमाडौं आएर पैसा फिर्ता माग्दा क्यानाडा पठाइदिने आश्वासन दिए पनि विश्वास नलागेर धर्ना कसेर पैसा फिर्ता लिएको बानियाँले नागरिकलाई बताए।

'मैले त बल्लबल्ल पैसा फिर्ता लिएँ, ८ लाखसम्म फसेका युवा जिल्लामा छन्,' उनले भने, 'केहीलाई चेक दिए पनि बाउन्स भएको थियो।'

अमेरिका जाने प्रलोभनमा २ लाख ३० हजार फसाएका भरत खत्री म्याग्दीबाट सम्पर्कमा आए। खत्रीका अनुसार उनका छोरा सुवासलाई अमेरिका लैजान्छु भनेर शाहीले ८ महिनाअगाडि २ लाख ३० हजार र पासपोर्ट लिएका थिए। तर शाहीले न पैसा फिर्ता दिए न पासपोर्ट नै।

'अमेरिका लैजान्छु भनेर पैसा लियो। पछि क्यानाडा लैजान्छु भन्यो,' खत्रीले टेलिफोनमा नागरिकसँग भने, 'क्यानाडा पनि नलगेपछि पैसा फिर्ता माग्दा इन्भेस्टमेन्ट बैंकमा रहेको खाताको चेक दियो तर साटिएको छैन।'

अमात्यले खेल अधिकारीको आवरणमा शाहीले मानव तस्करीको प्रयास गरेको देखिएको बताए। उनले भने, 'गैरखेलाडी खेलाडी बनेर विदेश पुगेका छन्/छैनन्, त्यो पाटोमा पनि अनुसन्धान हुन्छ।'

खेलको आवरणमा तस्करी

२०७३ जेठ २८ मा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरी पक्राउ परे। उनी पक्राउ पर्नुको कारण थियो ठगी। खेलाडी बनाएर कोरिया पठाइदिने भनी पैसा लिएर ठगी गरेको उजुरी टेकप्रसाद लामगाडे र दीपक सुनारले महाशाखामा दिएपछि उनी पक्राउ परेका थिए।

रब्बी संघको महासचिवसमेत रहेका उनको कार्यालयमा छापा मार्दा ५० वटा पासपोर्टको फोटोकपी, आइटिएफको नक्कली परिचयपत्रको चाङ नै फेला पार्‍यो। अुसन्धानकै क्रममा उनले तेक्वान्दोको रेफ्री बनाएर बेलायत पठाएका राजेन्द्र दवाडीसहित दुईजना बेलायतको विमानस्थलबाट नेपाल फर्काइएको समेत खुल्यो।

दवाडीले ७ लाख लिएर ठगी गरेको भन्दै गिरीविरुद्ध उजुरी दिएका थिए। गिरी अहिले धरौटीमा हिरासतमुक्त भएर ठगी मुद्दा खेपिरहेका छन्।

गत वर्ष नक्कली खेलाडीलाई क्रिकेट खेलाडी बनाएर जापान लगेर उतै छाडेको घटना सार्वजनिक भयो। 'बेस्ट काठमान्डु एफसी' नामक क्लबमार्फत जापान गएको टोलीमा भएका नौजना उतै लुकेपछि क्रिकेटको आवरणमा चलिरहेको मानवतस्करीबारे खुलेको थियो।

सिनियर राष्ट्रिय टिमका पूर्वसदस्य सिद्धान्त लोहनी र बेस्ट काठमान्डु एफसीका अध्यक्ष सुन्दर थापा र किरण राणा मुछिएको यो घटनाबारे राष्ट्रिय खेलकुद परिषद्ले छानविन समिति गठन गर्‍यो। स्रोतका अनुसार छानबिनमा नेपालमै सेटिङ मिलाएर भगाउने योजनासहित ९ गैरखेलाडीलाई खेलाडी बनाएर लगेको खुल्यो। घटना मानवतस्करीसँग जोडिएपछि परिषद्ले थप अनुसन्धानका लागि प्रतिवेदन प्रहरीकोमा पठाउने भने पनि सदस्य सचिव केशर बिष्टले प्रतिवेदन प्रहरीमा पठाएका छैनन्।

जाली नोट, सुन तस्करी र फिक्सिङ

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेन्डी शेर्पा सुन तस्करीको आरोपमा पक्राउ परेका थिए। २०७१ चैतमा हङकङबाट नेपाल आएका उनले २५ तोला सुन भन्सार छलेर बाहिर ल्याउने प्रयास गरेपछि पक्राउ परी १३ लाख धरौटीमा छुटेका थिए।

नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष रविराज सिंह नक्कली भारतीय रुपैयाँको कारोबारमा पक्राउ परेका थिए। जाली भारु कारोबारमा सजाय काटेर मुक्त भएका उनी पुनः २०७३ कात्तिकमा अवैध कलबाइपासको अभियोगमा पक्राउ परेका थिए।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पैसा लिएर 'म्याच फिक्सिङ' गरेको अभियोग लागेका तत्कालीन राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलरक्षक रितेश थापा, थ्री स्टारका पूर्वखेलाडी विकाससिंह क्षत्री, पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसीले विशेष अदालतमा मुद्दा खेपिरहेका छन्।

प्रकाशित: ९ असार २०७४ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App