coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

महँगोमा रेकर्ड बनाउँदै चमेलिया

काठमाडौं – चमेलिया जलविद्युत्् आयोजना अहिलेसम्मकै महँगो लागतमा निर्माण भएर नयाँ रेकर्ड बनाउँदै छ । यसअघिको आयोजना निर्माण लागतलाई उछिन्दै प्रतिमेगावाट ५० देखि ५२ करोड रुपैयाँ पुग्ने भएपछि चमेलियाले नयाँ रेकर्ड बनाउने भएको हो।

यसअघि ७० मेगावाटको मध्यमस्र्याङ्दीलाई सबैभन्दा बढी लागतमा निर्माण भएको आयोजना भन्ने गरिन्थो । मध्यमस्र्याङ्दी निर्माण गर्न प्रतिमेगावाट ४१ करोड रुपैयाँ लागेको थियो । उक्त आयोजनालाई उछिन्दै चमेलियाले नयाँ रेकर्ड बनाउन लागेको हो।

निर्माणको अन्तिम चरणमा रहेको दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना अब सबैभन्दा बढी लागतमा निर्माण हुने आयोजनामा पर्दैछ।

सरकारले निर्माण गर्ने आयोजनाको लागत र समय निजी क्षेत्रबाट निर्माण हुने आयोजनाभन्दा बढी लाग्ने गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)का उपाध्यक्ष कुमार पाण्डे बताउँछन् । ‘अहिलेसम्म निर्माण भएका आयोजनालाई हेर्ने हो भने पनि सरकारले निर्माण गरेका आयोजनाको लागत र सयम बढी लाग्ने गरेको छ,’ उनले भने, ‘अपनत्वको अभावका कारण यस्तो हुन गएको हो।’

तेस्रो बढी लागतमा निर्माण हुनेमा १४ मेगावाटको कुलेखानी जलविद्युत् आयोजना हुने भएको छ । निर्माणाधीन उक्त आयोजनाको लागत प्रतिमेगावाट ४० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। 

यसैगरी, ६९ मेगावाटको मस्याङ्दी आयोजनाको लागत प्रतिमेगावाट ३२ करोड रुपैयाँ लागेको थियो । एक सय ४४ मेगावाटको कालीगण्डकी जलविद्युत्् आयोजनाको लागत प्रतिमेगावाट २५ करोड रुपैयाँ थियो।

सामान्यतः नदी प्रवाह (रन अफ द रिभर)मा आधारित आयोजना निर्माणको लागत प्रतिमेगावाट १८ देखि २० करोड रुपैयाँ लाग्ने गर्छ । निजी क्षेत्रबाट स्थापित आयोजना त्योभन्दा पनि सस्तोमा निर्माण हुँदै आएका छन् । तर, सरकारले निर्माण गर्ने आयोजनाको लागत निजी क्षेत्रले निर्माण गर्नेको तुलनामा तेब्बरसम्म लाग्ने गरेको छ ।

आयोजना निर्माणको पैसा पार्टीका कार्यकर्तालाई चन्दा दिने र नेतादेखि कार्यकर्ता रिझाउनसम्म आयोजनाको स्थलगत भ्रमण गराउने लगायत कारणले आयोजनाको लागत बढ्ने गरेको ऊर्जाविद् बताउँछन् ।

सरकार नौ–नौ महिनामा परिवर्तन हुने भएकाले पनि सरकारी आयोजना प्रभावित हुँदै आएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले बताए । ‘आयोजना ओगटेर बस्ने परिपाटी छ,’ उनले भने, ‘त्यस्तो परिपाटी अन्त्य हुनुपर्छ ।’

सबैभन्दा बढी लागतमा निर्माण हुने चमेलिया आयोजना सुरुमा चार वर्षमा सकाउने भनिएको थियो । तर, उक्त आयोजना १० वर्षपछि सम्पन्न हुँदैछ ।

सन् २००७ बाट निर्माण थालिएको आयोजना यही वर्ष सकिँदै छ । सुरुमा आयोजना ०६८ वैशाख (९ मे २०११) मा सक्ने लक्ष्य राखिएको थियो ।

आयोजना निर्माणको समय पटक–पटक थपिँदै आएको छ । पछिल्लो पटकको कार्यतालिका अनुसार अहिले ०७४ को पुस १६ गते (डिसेम्बर) सम्ममा आयोजनाबाट विद्युत्् उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

आयोजनाको काम लक्ष्यभन्दा ६ वर्ष ढिला भएको छ । समयसँगै लागत पनि बढ्दै गएको छ । सुरुमा साढे आठ अर्ब रुपैयाँ लागत अनुमान गरिए पनि अहिले करिब १६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

 

 

प्रकाशित: ९ असार २०७४ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App