७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘असारे विकास’ले जेब्रा क्रसमाथि पिच

  • गत माघदेखि बिग्रिएको माइतीघरदेखि सिंहदरबार प्रवेशद्वारसम्मको सडकप्रति कसैले चासो देखाएन । भत्किएको पाँच महिनासम्म कसैले वास्ता नगरेको यो सडक असार लागेपछि भने धमाधम पिच गरेर चिल्लो पारियो ।
  • एक वर्षअघिदेखि भत्किएर धुलैधुलो भएको कोटेश्वरको सेतीओपी मार्गमा असार लाग्दै गर्दा अलकत्रा ओछ्याइयो । अलकत्रा ओछ्याएको एक सातापछि मात्र सडक पिच गरियो । हतारहतारमा गरिएको कमसल पिचले वर्षात समेत थेग्ने अवस्था छैन ।
  • जेब्राक्रसको चिह्न लगाएको एक साता नबित्दै असार पहिलो साता सहिदगेट क्षेत्रको सडकमा जेब्राक्रसमाथि नै पिच गरियो । राजधानीभित्रै थुप्रै भत्किएका सडक हुँदाहुँदै सहिदगेटको सग्लो सडकमा पिचमाथि पिच थपिएको हो ।

सिंहदरबार, सहिदगेट र कोटेश्वरका सडक त उदाहरण मात्र हुन्, असार लागेपछि उपत्यकाभित्रका हरेक टोलटोलमा सडक पिच हुन थालेका छन् । ढल र फोहोर व्यवस्थापनका काम अघि बढेका छन् । तिनको गुणस्तर भने यही वर्षा समेत नथेग्ने खालको छ।

आर्थिक वर्षको अन्त्यमा बजेट सक्न सडक विभाग र यस अन्तर्गतका कार्यालयले असारमा टालटुले काम गर्न थालेका हुन् । इन्जिनियरका अनुसार वर्षाका बेला गरिएको पिच गतिलो हुँदैन । गुणस्तरहीन पिचका कारण पानी पर्नेबित्तिकै भत्किने सम्भावना हुन्छ । तर, बजेट सक्न उपत्यकाभित्र हिउँदभरि पिच नगरिएका सडकसमेत असार लागेपछि धमाधम पिच हुन थालेका छन् ।

अघिल्लो वर्ष पनि असारमै पिच गरिएको सहिदगेट सडक दुई सातामै उप्किएको थियो । ‘बजेट सक्न हतार हतार गरेको पिच एक महिना पनि टिकेको थिएन,’ सडक विभागका एक इन्जिनियरले भने, ‘पछि पानी जमेकाले पिच राम्रो नभएको भन्दै फेरि अर्को बजेटले काम गरियो।’

मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका इन्जिनियर प्रदीप श्रेष्ठ भने असारअघि भएका कामको भुक्तानी पनि अर्थ मन्त्रालयले असारमा नै गर्ने भएकाले यस महिना खर्च बढी देखिने बताए । ‘ठेकेदारले फागुनयता बिलको भुक्तानी पाइरहेका छैनन्,’ उनले भने, ‘प्रक्रिया पु¥याएर असारमा अधिंकाश रकम भुक्तानी हुन्छ।’

यसपाली पनि एक साताको अन्तरालमा जेब्राक्रसको चिह्न लगाउने र पिच गर्ने काम गरियो । दुवै काम सडक विभाग अन्तर्गतको डिभिजन कार्यालय–१ ले गरेको हो । एउटै कार्यालयबाट भएको काममा समेत समन्वय नहुँदा जेब्राक्रस लगाएको एक सातामै त्यसैमाथि पिच भएको छ।

एक ‘आसफल्ट’ कम्पनी सञ्चालकका अनुसार अरु महिनाको तुलनामा असारमा ‘आसफल्ट’ धेरै बिक्री हुन्छ । ‘अघिपछि काम गर्न हतार हुन्न । तर, असारमा गरेन भने बजेट फ्रिज हुने भएकाले धेरै काम हुन्छ, त्यसले हाम्रो बिक्री पनि बढ्छ।’

सडक डिभिजन कार्यालय–१ का एक इन्जिनियर असारमा तुलनात्मक रूपमा सडक मर्मत तथा कालोपत्रे बढी हुने बताउँछन् । ‘असारमा बढी पिच हुन्छ,’ उनले भने, ‘बजेट फ्रिज भएर जानु भन्दा आवश्यक ठाउँमा पिच गरिन्छ ।’ अघिल्ला वर्षको तुलनामा यसपाली कम असारे विकास भएको उनको दाबी छ । यसपटक सडक विभागले माग गरेको १६ अर्ब बजेट निकासा नभएकाले असारमा हुने सडक मर्मत कम भएको उनले बताए । बजेट सक्न असारमा हतार हतार गुणस्तरहीन काम गर्दा कार्यालयको विकास खर्च समेत यसै महिना बढेको देखिन्छ।

मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका इन्जिनियर प्रदीप श्रेष्ठ भने असारअघि भएका कामको भुक्तानी पनि अर्थ मन्त्रालयले असारमा नै गर्ने भएकाले यस महिना खर्च बढी देखिने बताए । ‘ठेकेदारले फागुनयता बिलको भुक्तानी पाइरहेका छैनन्,’ उनले भने, ‘प्रक्रिया पु¥याएर असारमा अधिंकाश रकम भुक्तानी हुन्छ।’

पहिले नै सकिएको कामका लागि पनि असारमा भुक्तानी गर्नुपर्दा असारे विकास जस्तो देखिने गरेको उनको दाबी छ। ‘असार २५ गतेतिर बजेट निकास भए २६ गतेबाट भुक्तानी हुन सुरु हुन्छ, बजेट निकासाको आधारमा असारमा धेरै विकास भएको देखिए पनि वास्तविकतामा त्यस्तो हुँदैन,’ उनले भने।

निर्देशनालय अन्तर्गत उपत्यकाभित्रका चार वटासमेत गरी ११ डिभिजन कार्यालय छन् । यी कार्यालयबाट असारमा १० प्रतिशत मात्र विकास निर्माणको काम हुने गरेको उनको दाबी छ। उनका अनुसार ११ वटा सडक डिभिजन कार्यालयमध्ये प्रत्येक कार्यालयको जेठ महिनाअघिको निर्माणका लागि २५ देखि ५० करोड रुपैयाँ ठेकेदारलाई भुक्तानी गर्न बाँकी छ। ‘सबवेस, सवग्रेड र नाली तयार भएको सडकमा मौसमको अनुकूलता हेरेर कालोपत्रे गर्नुपर्छ,’ उनले भने, ‘बजेट सक्नकै लागि काम गरेको होइन ।’ असारमा गरेको कालोपत्रे दिगो हँुदैन भन्ने धारणा गलत भएको उनले बताए।

नेपाल बिटुमिन तथा व्यारेल लिमिटेडका रमेश हुँमागाईंका अनुसार गुणस्तरीय बिटुमन नल्याउँदा सडक चाँडै भत्किएको हो। ‘नेपालमा कमसल खालको बुटुमिन आयात भएकाले नै लामो समय नटिक्ने समस्या देखिन्छ,’ उनले भने, ‘सडकमा नाली नहुँदा पानी जम्दा कालोपत्रे लामो समय टिक्न सकिरहेको छैन।’

सडक डिभिजन कार्यालय–१ का प्रमुख मुकुन्द अधिकारी असारमा बजेट सक्न निर्माण नगरिएको बताउँछन्। ‘सडकको काम नियमित भइरहेका हुन्छन्,’ उनी भन्छन्, ‘असारमा पनि हुन्छ ।’ असारमा दिइएको भुक्तानीका आधारमा विकासलाई असारे भन्न नमिल्ने उनको तर्क छ। यो डिभिजनअन्तर्गत भुक्तानी गर्न करिब ४० करोड बाँकी रहेको उनले बताए । रकम भुक्तानीका हिसाबले असारमा धेरै भए पनि निर्माण पहिले नै सकिएको हुने उनको दाबी छ।

सडक डिभिजन कार्यालय–२ का इन्जिनियर अरूणकुमार कर्णका अनुसार चालु आर्थिक वर्षमा २० किलोमिटर सडक कालोपत्रे गरिएको छ। कार्यालय २ लाई बजेट एक अर्ब ९ करोड बजेट छुट्याइएको थियो । हालसम्म ८० प्रतिशत बजेट खर्च भइसकेको छ । २० प्रतिशत बजेट एक महिनाभित्र खर्च गरिसक्ने उनले बताए।

सडक डिभिजन कार्यालय ललितपुरका प्रमुख सन्तोष कर्णका अनुसार ललितपुर जिल्लामा यो आर्थिक वर्षमा ११ किलोमिटर सडक कालोपत्रे गरिएको छ। त्यसमध्ये बहुवर्षीय ठेक्काबाट ९ किलोमिटर सडक मर्मतसम्भार भएको छ। असारभित्रै ४ किलोमिटर सडक मर्मत गर्ने डिभिजनको तयारी छ। उनले वर्षाअगाडि नै निर्माण सक्ने बताए । कर्णका अनुसार असारमा १० प्रतिशत पूर्वाधार निमार्ण हुने गर्छ। चालु वर्षमा ललितपुर डिभिजन कार्यालयलाई ८० करोड बजेट छुट्टाइएको थियो।

असारे विकासलाई ७१ करोड बजेट

काठमाठौं महानगरपालिकाले असार मसान्तभित्र महानगर क्षेत्रमा विकास निर्माण गर्न ७१ करोड बजेट विनियोजन गरेको छ । गत मंगलबार बसेको नगर कार्यपालिकाको दोस्रो बैठकले असारभित्रै ७१ करोड दुई लाख बजेट खर्च गर्ने निर्णय गरेको हो ।

निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न बजेट खर्चने निर्णय गरिएको नगर कार्यपालिकाले जनाएको छ । सबै वडामा बजेट समानुपातिक रूपमा खर्च गर्न लागिएको महानगरले जनाएको छ ।

महानगरका ३२ वडामा २२ लाख २५ हजार रूपैयाँ छुट्याइएको छ । ‘जनप्रतिनिधिले मतदातासमक्ष विकास निर्माण र सहरी सेवा द्रुत गतिमा गर्ने प्रतिबद्धता जनाएका छन्,’  महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘यसलाई तत्कालै पूरा गर्न सबै वडालाई बराबरी बजेटको व्यवस्था गरिएको हो ।’ उनले पाँच वटा उपशीर्षकमा बजेट खर्च हुने बताए ।

शाक्यका अनुसार हरेक वडामा सडक र फुटपाथ व्यवस्थापनका लागि १० लाख, ढुंगा तथा इँटा बिछ्याउन ७ लाख, ढल मर्मत गर्न ३ लाख, सडक सरसफाइमा २ लाख र अतिथि सत्कारमा २५ हजार बजेट विनियोजन गरिएको छ ।

सबै वडामा सडकको समस्या भएकाले त्यसैलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको शाक्यले बताए ।

प्रकाशित: ९ असार २०७४ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App