काठमाडौं – ओलम्पिक दिवसको अवसरमा नेपाल पौडी संघले आयोजना गरेको उमेरसमूह तथा खुला पौडी प्रतियोगितामा बिहीबार ४ राष्ट्रिय कीर्तिमान बनेका छन् । चारै कीर्तिमान उमेरसमूहको स्पर्धामा बनेका हुन्।
सातदोबाटोस्थित पौडी पोखरीमा भएको १२ वर्षमुनिको पुरुष ५० मिटर ब्रेस्ट स्ट्रोकमा जेनिश महर्जनले ४०.५३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यसअघि तरुण भण्डारीको नाममा ४२.५६ सेकेन्डको कीर्तिमान थियो । दोस्रो स्थानमा राजर्षि गुरुकुलका आदर्श कार्कीले ४२.०० सेकेन्डमा दूरी पूरा गरेका थिए । ४२.३७ सेकेन्डमा दूरी पूरा गरेका पाठशाला नेपालका तरुण भण्डारी तेस्रा भए ।
यसै विधामा महिलातर्फ डुवाना लामाको नाममा रहेको ४१.७२ सेकेन्डको कीर्तिमान उपास्ती महर्जन तोडेकी छिन् । उपास्तीले ४०.१३ सेकेन्डमा दूरी पार गर्दे कीर्तिमान बनाएकी हुन् । ४०.५० सेकेन्डमा दूरी पूरा गर्दै डुवानाले पनि आफ्नो समयमा सुधार गरे पनि दोस्रो स्थानमा चित्त बुझाइन् । अनुसिया तण्डुकार तेस्रो स्थानमा रहिन् ।
तथापि डुवानाले १२ वर्षमुनिको ५० मिटर फ्रिस्टायल महिलातर्फ आफ्नै नाममा रहेको ३३.५३ सेकेन्डको समयमा सुधार गर्दै ३२.४७ सेकेन्डको नयाँ रेकर्ड राख्न सफल भइन् । दोस्रो स्थानमा रहेकी अनुसिया तण्डुकारले ३३.१२ सेकेन्डमा दूरी पार गरेकी थिइन् ।
बे्रस्ट स्ट्रोकमै १४ वर्षमुनि महिला स्पर्धामा टिसा शाक्यले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै ४०.९१ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छिन् । यसअघि उनको नाममा ४१.०३ सेकेन्डको कीर्तिमान थियो । श्रेबी महर्जन दोस्रो स्थानमा रहँदा तेन्जिङ शेर्पाले तेस्रो स्थानमा चित्त बुझाइन् ।
दुई दिन चलेको प्रतियोगितामा १० वर्षमुनिको ५० मिटर बे्रस्ट स्टोकमा पुरुषतर्फ लिसन डङ्गोलले स्वर्ण पदक जिते । उनले ४८.९४ सेकेन्डमा दूरी पार गरेका थिए । महिलातर्फ रितिना शाक्यले ५२.८४ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक जितिन् ।
१४ वर्षमुनि ५० मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ सागर नायक पहिलो भए । उनले ३९.५३ सेकेन्डमा दूरी पार गरेका थिए । १७ वर्षको ५० मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ दैवज्ञराज जोशीले स्वर्ण जिते । उनले ३९.०३ सेकेन्डमा दूरी पार गरेका थिए । ४७.८४ से.मा दूरी पार गरेकी तेन्जिन यिगा लामाले महिलातर्फ स्वर्ण हात पारिन् ।
५० मिटर फ्रि स्टायलतर्फ १० वर्षमुनिको पुरुषमा इर्भिन श्रेष्ठले ३७.७८ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण जिते । महिलातर्फ आयुक्ति थापा स्वर्ण जितिन् ।
प्रकाशित: ९ असार २०७४ ०६:२८ शुक्रबार