coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

रेष्टुरेन्ट पसेको ‘योमरी’

योमरी अर्थात नेपाल भाषामा ‘मिठो रोटी’ । केही वर्षअघिसम्म मंसिर पूर्णिमाका दिन काठमाडौंका नेवार समुदायको भान्सामा मात्र पाक्थ्यो । अहिले भने यो सहरका रेष्टुरेन्ट र खाजा पसलका भान्सामा पनि छिरिसकेको छ ।

पहिलो पटक भक्तपुरे नेवार साथीकहाँ योमरी चाखेकी लक्ष्मी केसीको जिब्रोमा योमरी ‘स्वाद’ बनेर बस्यो । तर, उनले लामो समयसम्म योमरी चाख्न त के देख्न समेत पाइनन् । एकदिन सुनिन्– ‘कुपण्डोलमा योमरी पाइने रेष्टुरेन्ट खुलेको छ ।’

‘योमरी पाइने रेष्टुरेन्ट खुलेको थाहा पाएपछि मन थाम्न सकिनँ,’ कुपण्डोलको भिलेज क्याफेमा योमरी किनेर खाएको सम्झना गर्दै उनले भनिन् । भिलेज क्याफेबाट उनी समयसमयमा योमरी लगेर खाने गरेको बताउँछिन् । नेवारी परिकार योमरी मन पराउनेको गन्तव्य भिलेज क्याफे बनेको छ ।

छिल्ला पुस्ताले योमरी बनाउने सीप बिर्संदै गएपछि लोप हुन नदिन आफूहरूले योमरी प्रवद्र्धन गरेको सुपरभाइजर श्रेष्ठले बताइन् । सहरमा जताजतै खुलेका आधुनिक रेष्टुरेन्टका विदेशी खानामाझ नेपालको मौलिक परिकार योमरीले व्यावसायिक प्रतिस्पर्धा गरिरहेको छ ।

६ वर्षपहिले ६ जना महिला मिलेर कुपण्डोलमा ‘द भिलेज क्याफे’ खोलेका थिए, जसले सहरमा मानिसमाझ योमरीलाई परिचित गरायो । उनीहरूलाई ‘सबाह नेपाल’ले उद्यमशीलता तालिम दिई क्याफे खोल्न सहयोग र उत्प्रेरणा दिएको थियो । अहिले पनि ‘सबाह’ले यो क्याफेको प्रवद्र्धन गरिरहेको छ । 

‘योमरीलाई नै प्रवद्र्धन गर्न हामीले यो क्याफे खोलेका थियौं,’ क्याफेकी सुपरभाइजर हरिदेवी श्रेष्ठ भन्छिन्, ‘हाम्रो सांस्कृतिक खानालाई व्यावसायिक बनाएर आत्मनिर्भर बन्न सफल भएका छौं ।’

पछिल्ला पुस्ताले योमरी बनाउने सीप बिर्संदै गएपछि लोप हुन नदिन आफूहरूले योमरी प्रवद्र्धन गरेको सुपरभाइजर श्रेष्ठले बताइन् । सहरमा जताजतै खुलेका आधुनिक रेष्टुरेन्टका विदेशी खानामाझ नेपालको मौलिक परिकार योमरीले व्यावसायिक प्रतिस्पर्धा गरिरहेको छ ।

‘द भिलेज’ क्याफेले योमरीलगायत नेवारी परिकारलाई मौलिक शैलीमा पस्कने गरेको छ । यहाँको योमरी सेटमा आलु अचार, आलु तामा, गुन्द्रुक साँधेको र इम्लीको अचार दिइन्छ।

योमरी प्रवद्र्धन गर्न ‘सबाह’को उद्यमी सदस्यले ललितपुरकै खोकना र बखुण्डोलमा पनि क्याफे चलाएका छन् । तीनवटै क्याफेमा स्वाद र गुणस्तर दुरुस्त बनाइएको छ । यहाँको अर्को विशेषता भनेको सबै खाना ‘अर्गानिक’ हुन्। ‘खोकना र थानकोटबाट आएको ताइचिन चामलको पीठोबाट योमरी बनाउँछौं,’ श्रेष्ठले भनिन्, ‘सेटका लागि चाहिले अरु परिकार पनि ‘सबाह’कै किसानले उत्पादन गरेको प्रयोग गर्छौ।’

योमरीका लागि काभ्रेको खावाबाट खुवा ल्याउने गरको उनले बताइन् । अहिले स्थानीय बजारबाट चाकु ल्याएर योमरीमा प्रयोग गरिरहेको र अब छिट्टै चाकु आफैं उत्पादन गर्ने तयारी रहेको उनले जानकारी दिइन् । कुनै पनि परिकारमा अजिनामोटोको प्रयोग नगरिएको उनले बताउँछिन् ।

‘भिलेज क्याफे’की ‘सर्भिस मेम्बर’ सविना महर्जनका अनुसार यहाँ घरमा बनाउनेभन्दा फरक तरिकाले योमरीलाई स्वादिलो बनाउने प्रयास गरिन्छ । ‘चामलको पीठोलाई तातोपानीमा मुछेर बनाइने भएकाले यो नरम र रसिलो हुन्छ,’ महर्जन भन्छिन्, ‘योमरीमा पीठोको पत्र पातलो बनाइने भएकोले परम्परागत रूपमा घरमा बनाइने योमरीभन्दा स्वादमा फरक पर्छ ।’ समूहकै महिलाले योमरी बनाउने गरेका छन् । योमरी बनाउँदा सरसफाइमा विशेष ध्यान दिइने बताउँदै महर्जनले भनिन्, ‘तिल पखालेर, छानेर, घाममा सुकाइसकेपछि मात्र योमरीमा हालिन्छ ।’

‘द भिलेज क्याफे’मा चाकुको योमरी धेरैले मन पराउँछन् । क्याफेमा चाकु योमरी, खुवा योमरी, चकलेट योमरी, स्पेसल योमरी र सन्डे योमरी मेन्युमा समावेश छन् । योमरीलाई काटेर आइसक्रिम र चाकु वा चकलेट सिरपले सजाएर ‘सन्डे योमरी’ सर्भ गरिन्छ ।

मंसिरको धान्य पूर्णिमाका दिन नयाँ धानको चामलबाट योमरी खाने परम्परा रहे पनि अहिले भने रेष्टुरेन्ट यसको व्यापार चम्किरहेको छ । ‘योमरी खानकै लागि ग्राहक आउने गरेका छन्,’ महर्जन भन्छिन्, ‘यसलाई व्यावसायिक बनाउँदा एकातिर मौलिक परिकारको प्रचारप्रसार हुनुका साथै गृहिणीले रोजगारी पनि पाएका छन् ।’ योमरी पूर्णिमाका दिन क्याफेमा योमरी खानेको घुइँचो लाग्ने गरेको छ । त्यसदिन थप जनशक्तिको व्यवस्थापन समेत गर्नुपर्ने हुन्छ । ‘भिलेज क्याफे’ले विभिन्न अवसरमा विशेष योमरी ‘भोज’को आयोजना पनि गर्छ ।

 

प्रकाशित: ९ असार २०७४ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App