७ वैशाख २०८१ शुक्रबार
कला

कवितामा शिल्पको अन्यौल

काठमाडौं – शिल्पले काव्यलाई सुन्दर बुझाउँछ । कविताको सुर, तालसँगै यसले बोक्ने विचार, भाव, बिम्ब, प्रतीक, स्थानीयता आदिले कवितामा शिल्प भर्दछ । तर, समकालीन कवितामा शिल्पको प्रयोगमा विज्ञबीच अन्यौल देखिएको छ ।  बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको हिरक जयन्तीको अवसरमा आयोजित ‘समकालीन नेपाली कवितामा शिल्प’ विषयक विमर्शमा विज्ञबीचको अन्यौल प्रकट भएको हो । सो विषयमा कार्यपत्र प्रस्तुत गरेका नारायणप्रसाद गड्तौला समकालीन समय र शिल्पको परिभाषामै दुविधाग्रस्त देखिए । उनले कार्यपत्रमा घरि तीस त घरि बीसवर्ष यताको समयमा लेखिएका कवितालाई समकालीन कविताका रूपमा अथ्र्याए भने शिल्पको ठम्याइमा पनि उस्तै दुविधा प्रकट गरे।

उनले शास्त्रीय शिल्प नै कविताको मूलाधार रहेको भन्दै परम्परागत धारको शिल्पबाटै कविता बाहिर निस्कन नसकेको औंल्याए । ‘शिल्प ज्यादै सुक्ष्म वस्तु हो,’ उनले भने, ‘अलंकारले आफ्नै ढंगले, बक्रोक्तिले आफ्नै ढंगले कवितामा शिल्प निरूपण गर्छ ।’ उनका अनुसार पूर्र्र्वीय र पश्चिमा कविताको शिल्पमा पनि फरक छ । पश्चिमी वाकशास्त्रले सुक्ष्म रूपविन्यास, अन्तर रूप विन्यास, सामाजिक र सांस्कृतिक रूप विन्यास, विचारधारात्मक रूप विन्यास, धार्मिक रूप विन्यासलाई मुख्य सौन्दर्य मान्दछ । पूर्वमा भने गड्तौलाले वर्णविन्यासगत शिल्प, पदविन्यासगत शिल्प र वाक्य विन्यासगत शिल्प, बिम्ब विधान, प्रतीक विधान, भाषिक विपर्यास र शब्द त्रासदी आदि शिल्पको प्रयोग हुने बताए । नयाँँ पुराना कविताको उदाहरण दिँदै उनले मध्यकालका श्रृंगारिक कविता बाहेकका कविताका शिल्पमा शास्त्रीय धार नै बलियो रहे पनि समकालीन कविताको शिल्प भने सरलतातिर मोडिएको बताए । उनले २०४६ पछिको देशको परिवर्तनसँगै कविताको शिल्पमा परिवतर्न आउन थालेको बताए । प्रजातन्त्र, दशवर्षे शसस्त्र द्वन्द्व, त्यसपछिको संक्रमणकाल, जातीय विभाजन, वर्गीय विभाजन र त्यस्ता विभाजनको खाडल पुर्न भएका प्रयासले कविताको शिल्पमा थप अन्यौल र यससँगै विविधता आएको उनको भनाइ थियो । ‘अचेल पाठकको खोजीमा कवितामा नयाँ नयाँ शिल्प प्रयोग हुन थालेका छन्,’ उनले भने ,‘हिजो प्रबुद्ध वर्गले खोजी गर्ने क्लिष्ट कविता आज समाज खोज्दै हिडेको छ।’

उनको कार्यपत्रमाथि टिप्पणी गर्दै टिप्पणीकर्ता कृष्ण प्रधानले गड्तौलाको कार्यपत्रमा कविताको वैचारिक शिल्पलाई बेवास्ता गरिएको बताए । ‘सीमान्तकृत विचार, वर्ग र जातका कुरा कवितामा आउन थालेका छन्,’ प्रधानले प्रश्न गरे, ‘शिल्प हरायो भन्दै अब कवितामै द्वन्द्व गर्ने त ?’ हाइकु, गद्य, पद्य, छन्द जस्ता कविताका रूपको चर्चा गर्दै उनले कविताको शिल्प यसको भावसँग जोडिएर आउने बताए।

अर्का टिप्पणीकार मधुसुदन गिरीले पनि पछिल्लो चरणमा आएका कवितामा पहिचानका कुरा  बढी आउन थालेको बताए । ‘नश्लीय, लैंगिक, क्षेत्रीय पहिचान बोकेका हरेक कविताका आफ्नै शिल्प विधान छन् । एउटा शिल्प विधानमा कविता अल्झनेवाला छैन,’ गिरीले भने । बद्लिँदो सौन्दर्यजस्तै परम्परागत  शास्त्रीय शिल्प विधानले समकालीन कवितालाई समेट्न नसकिने उनको तर्क थियो।

प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले समाज सापेक्ष कविता लेखिन थालेपछि नै समकालीन कविताको सुरुवात भएको बताए । ‘एउटा व्यक्तिले स्रष्टाका रूपमा अनुभूति गरेका अनुभव भाषिक संरचनामा प्रस्तुत गर्नु नै कविता हो,’ उनले भने, ‘उहिले शास्त्रले बाँधेकाले शिल्प भर्न सजिलो थियो अब उन्मुक्त हुँदै गएकाले गाह्रो हुँदै गएको छ ।’

उपस्थित कवि तथा पाठकहरू लक्ष्मी ऐडी, कन्हैया नासननी, गोपीकृष्ण शर्मा, गोपाल अश्क, वालकृष्ण अधिकारी, सोझो गाउँले, विष्णु राई, रोशन जनकपुरीलगायतले कविताको अन्तर लय, स्थानीयतालाई बेवास्ता गरिएको भन्दै कार्यपत्र अपूर्ण रहेको टिप्पणी गरेका थिए । पात्र, प्रवृत्ति, भाषा र शाब्दिक प्रयोग र विश्लेषणको शिल्पमा समेत विज्ञहरू अन्यौलमै रहेको उनीहरूको धारणा थियो । तर, प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भने काव्यिक बहसमार्फत् नै कविताका प्रवृतिका बारेमा ठम्याउन सकिने भन्दै आगामी दिनमा पनि यस्ता विषयमा विमर्श हुनु पर्ने बताए।

कार्यक्रम संयोजक प्रतिष्ठानका साहित्य पद्य विभागका प्रमुख अमर गिरीले कविताको स्तर बढाउन काव्य शिल्पले महत्वपूर्ण भूमिका खेल्ने बताए । शिल्प कस्तो हुनुपर्छ ? अनि कविताको अन्तरवस्तुलाई नेपाली कविताले कसरी लिएको छ ? भन्नेमा अझै बहस हुनुपर्नेमा उनको जोड थियो।

प्रकाशित: ९ असार २०७४ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App