चितवन – पहिरोले गएराति देखि बन्द भएको नारायणगढ मुग्लिन सडक खण्ड आज दिनभर पनि खुल्ने सम्भावना कम रहेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाले सो सडक हुँदै ओहर दोहर गर्ने गाडीहरुलाई वैकल्पिक मार्ग अपनाउन अपिल गरेको छ । सो सडकको चार किलो र कालिखोलामा गएको पहिरोका कारण रातिदेखि नै बाटो अवरुद्ध भएको हो ।
कालिखोलामा पहिरोले प्रहरीको भ्यानसमेत पुरेको छ । भ्यानमा रहेका चारजना प्रहरीमध्ये दुईजनाको शब फेला परेको छ । बाँकी दुईजनाको अवस्था अज्ञात छ । सडकदेखि तल त्रिशुली नदी किनारसम्मै पहिरो खसेको छ । ‘पहिरोमा हराई रहेको गाडी र प्रहरीहरु हुन सक्ने भएका कारण सिधै त्रिशुली तर्फ सडकमा थुप्रिएको माटो, ढुंगा र गिट्टीहरु फाल्न पाइएन’ आयोजानका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले भने ।
सडकमा थुप्रिएको माटो र ढुंगाहरु ट्रिपरमा राखेर अन्यत्र लैजाँदै फाल्नु परेका कारण पहिरो हटाउन समय लाग्ने उनले बताए । चार किलोमा भने पहिरो सफा गर्ने काम सकिन एकाध घण्टा मात्रै लाग्ने उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नम्बरको महेन्द्र पिकअप भ्यानमा चढेर प्रहरीहरु बिहीबार राति चार किलोमा भएको पहिरो खुलाउन गएका थिए ।
पहिरो सफा गरेर एक बजे मुग्लिन फर्कदै गर्दा कालिखोला नजिक अर्कै पहिरोमा परेर उनीहरु चढेको गाडी वेपत्ता भएको हो । प्रहरीको भ्यानसँगै ना ५ ख ७८२७ नम्बरको मालबहाक ट्रक पनि पहिरोमा परेको थियो । सो ट्रक त्रिशुली नदी किनारमा पुगेको छ । चालक रामकुमार लामाको अवस्था सामान्य छ । सहचालक सानु ब्लन घाइते छन् । उनको अवस्था मध्यम छ ।
नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो । यो सडक हुँदै दैनिक १० हजार गाडी ओहर दोहर गर्छन् । सो सडकलाई दुई लेनको बनाउने काम सुरु भएको छ । फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटेका कारण वर्षायाममा पहिरो झरेर यात्रुलाई सास्ती दिने गरेको छ ।
प्रकाशित: ९ असार २०७४ ०६:५९ शुक्रबार