७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘मधेस विखण्डनको मुद्दा समाधान नगरे भोली गम्भीर समस्या हुन्छ’

फाइल फाेटाे

उदयपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले देशमा देखा परेको विखण्डनको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् । दोस्रो चरणको स्थानीय तहको चुनावी सभामा सहभागी हुन गाईघाट आएका थापाले मधेसमा विखण्डनकारीको जन्म भईसकेको भन्दै त्यसलाई बेलैमा सम्बोधन नगरिए भविष्यमा गम्भीर खतराको सामना गर्नुपर्ने बताए ।

राजतन्त्रबारे मुखै नखोली धर्मको कुरामा बढी केन्द्रित रहेका थापाले पृथ्वीनारायण शाहले गरेको राज्य एकीकरण ताकादेखि २ सय ३८ वर्षसम्म देशमा धेरै खाले आपसी झै–झगडा र व्यवस्था परिवर्तनका आन्दोलन भए पनि देश अखण्ड रहेको बताउँदै राजतन्त्र ढलेपछि विखण्डनको विजारोपन भएकोमा चिन्ता व्यक्त गरे । 

‘प्रचण्डकै भाषामा भन्ने हो भने ०५२ फागुनमा सुरु भएको माओवादी जनयुद्ध ४ वटा भरुवा बन्दुक, केही थान पेस्तोल र सयजना लडाकुबाट सुरु भएको थियो’ सिके राउतप्रति लक्षित गर्दै थापाले भने ‘त्यतिखेर यसलाई सरकारले वास्तै नगर्दा जसरी राजतन्त्रै ढल्यो, त्यसैगरी आज मधेस विखण्डनको मुद्दा समाधान नगरे भोलि गम्भीर खतरा निम्तिन सक्छ ।’

थापाले आप्mनो पार्टीले स्थानीय तह चुनाव जिते टोलटोलमा मन्दिर बनाइदिने वचन पनि दिए । अघिल्लो दिन माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गरेकै मञ्च गाईघाट लोकतान्त्रिक चोकमा आयोजित सभामा बोल्दै थापाले राप्रपा सर्वधर्मको नारा लिएर अघि बढेको भन्दै देश हिन्दु राज्य हुनुपर्ने पूर्वपत अडान दोहोर्याए । ‘हामी किरात, इसाई, बौद्ध, मुस्लिम र हिन्दु सबै धर्मको स्वतन्त्रता चाहन्छौं’ उनले पार्टीको धार्मिक अडान दोहोर्याउँदै भने ‘तर, नेपाल हिन्दु सनातन राज्य हुनुपर्छ भन्ने हाम्रो माग कायमै छ ।’

गएको १० वर्षमा देशले धेरै दुखकष्ट झेल्नुपरेको भन्दै उनले त्यसको जिम्मेवारी कांग्रेस, एमाले र माओवादीले लिनुपर्ने बताए । ०६२÷६३ को राजनीतिक परिवर्तनदेखि अहिलेसम्म कांग्रेस र एमालेले ३÷३ पटक र माओवादीले २ पटक सरकारको नेतृत्व गरेको स्मरण गर्दै त्यसकारण देशको बरबादीको सम्पूर्ण जिम्मेबार उनीहरु नै हुनुपर्ने थापाको जिकिर थियो । 

थापाले बोल्न थाले लगत्तै वर्षा सुरु भएपछि उनको भाषण विथोलिएको थियो । पानीले सभा विथोलिन थालेपछि ढिलो गरी भाषण गर्ने थापाले छिटो छिटो शब्दमा ‘सधँै आफू गाईघाट आउन नपाउने भएकाले छाता ओढेर र कतै ओत लागेर आप्mनो भनाई सुनिदिन आग्रह गरेका थिए । थापाको भाषण सुन्न जिल्लाका विभिन्न नगर र गाउँपालिकाबाट बस रिजर्भ गरेर कार्यकर्ता र जनता गाईघाट ल्याइएको थियो । 

त्रियुगा नगरपालिकामा राप्रपाले ध्रुव रायमाझीलाई मेयरमा उठाएको छ । पार्टी जिल्ला अध्यक्षसमेत रहेका रायमाझीका अनुसार जिल्लाका ४ नगर र ४ गाउँपालिकामै राप्रपाले सबै पदमा उम्मेद्वारी मनोनयन गरेको छ । 

प्रकाशित: ९ असार २०७४ ०८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App