गुल्मी – गुल्मीको एक नगरपालिकामा २० वर्ष अगाडिकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । आगामी असार १४ गते हुने स्थानीय तहको चुनावमा रेसंङ्गा नगरपालिकाको मेयर पदमा २० वर्ष अघिकै २ उम्मेदवारहरू बीच प्रतिस्पर्धामा हुने भएको हो ।
२०५४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भुवनप्रसाद श्रेष्ठ र एमालेबाट उम्मेदवार बनेका डिल्लिराज भुसाल अहिलेको स्थानीय तहको निर्वाचनमा पनि प्रतिस्पर्धी बनेका हुन् । त्यतिबेला तम्घास गाविस अध्यक्षका उम्मेदवार बनेका उनीहरूमध्ये कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए । पूर्व गाविस अध्यक्षका प्रतिस्पर्धी उनीहरुबीच यसपटक रेसुङ्गा नगरपालिकामा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
साविकको तम्घास गाविससहित सिमीचौर, दुबिचौर, अर्खले, पराल्मी र नयाँगाउँका केही वडा समेटेर १४ वडा रहेको रेसुङ्गा नगरपालिकामा पहिलो मेयर को बन्ने होडवाजी चलेको छ । दुवै पाटीका मेयर पदका उम्मेदवारहरुले आ–आफ्नो विजय सुनिश्चित भएको दावी गर्दै चुनावी मैदानमा प्रचार–प्रसारलाई तिव्रता दिएका छन्।
जिल्लाको सदरमुकाम रहेको नगरपालिका भएकाले कांग्रेसका जिल्ला सभापति श्रेष्ठ र एमालेका सचिवालय सदस्य भुसालबीच हुने निर्वाचन जिल्ला बासीकै लागि चाखलाग्दो विषय समेत बन्ने देखिएको छ ।
रेसुङ्गा नगरपालिकामा कांग्रेसले आफ्नो बहुमत रहेको दावी गर्दै आएको छ भने एमालेले अहिले हिजोको तम्घास नभएको र अन्य गाविसहरु पनि समेटिएकाले यसपटक आफ्नो बहुमत रहेकोे दाबी गरेको छ । कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठ २०४९ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचनमा पनि निर्वाचित भएका थिए । उक्त निर्वाचनमा अध्यक्षमा एमालेबाट बालसिंह काउछा र उपाध्यक्षमा भुसाल उम्मेदवार रहेका थिए । रेसुङ्गा नगरपालिकामा काँग्रेसको बहुमत रहेको काग्रेसबाट मेयर पदका उम्मेदवार श्रेष्ठले बताए । यहाँ काग्रेसको बलियो भएको स्थान हो उनले भने, “यो सँगै जनताहरुको धेरै काम गरेको छु, म अहिले मेयर पदको उम्मेदवार बनेको हुँ तर मतगणना पछि औपचारिक घोषणा हुन्छ ।”
यता एमालेको तर्फवाट मेयर पदका उम्मेदवार डिल्लीराज भुसालले रेसुङ्गा नगरपालिकामा एमालेको विजय पक्का भएको बताए । नेपाली काग्रेसले हिजोको तम्घास सम्झेको होला भुसालले भने “अहिले तम्घाससँगै अन्य साविकका गाविसहरू पनि समेटिएको छ, साथै बाहिरबाट तम्घासमा आएकाहरू पनि धेरै छन् ।” उनले आफूलाई रेसुङ्गा नगरपालिकामा पहिलो मेयरमा घोषणा गर्न मात्र बाँकी रहेको बताए ।
के छन मेयर पदका उम्मेदवारका प्रतिबद्धताहरु
नगरमा निर्वाचन आफ्नो पक्षमा ल्याउन श्रेष्ठ र भुसालले विभिन्न रचनात्मक एजेण्डाहरू अगाडि सारेका छन् ।
श्रेष्ठले रेसुंगा क्षेत्रमा रिङ्गरोड, घरघरमा पानी, सडक र बिजुली पुर्याउने भन्दै भोट मागिरहेका छन् । तम्घास–खाम्सेपानी–नयाँगाउँ–सडक–तम्घास–नेटा सडक कालोपत्रे सहित नमूना नगर बनाउने प्रतिबद्धता उनको रहेको छ ।
भुसालले राज्यबाट प्राप्त सरकारी सुविधा नलिने बताएका छन् । उनले पनि रेसुगां क्षेत्रको विकास, रेसुंगा विमानस्थललाई समयमै सम्पन्न गरी सेवा बिस्तार गर्ने, अर्जुनडाँडालाई पर्यटकीय स्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने, जनतालाई निःशुल्क खानेपापानी वितरणलाई आफ्ना प्रमुख चुनावी एजेण्डा बनाएका छन् । वृद्धभत्ता बढाउनुका साथै घरमै पुर्याउने, भूमिहीनलाई लालपूर्जा दिने, घरघरमा सडक संजाल पुराएर कालोपत्रे गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेका छन् ।
प्रकाशित: ९ असार २०७४ १०:०४ शुक्रबार