७ वैशाख २०८१ शुक्रबार
अर्थ

३८ संस्था तथा व्यक्तिलाई सिआइपी प्रस्ताव

काठमाडौं- व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले ३८ संस्था तथा व्यक्तिलाई विभिन्न १७ विधामा 'महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सीआईपी–कमर्सियल्ली इम्पोर्ट्यान्ट पर्सन) सम्मानको प्रस्ताव गरेको छ।

केन्द्रका अनुसार सर्वाधिक विदेशी मुद्रा भित्याएबापत हायात होटललाई, विदेशी पर्यटक भित्याउनेमा यती ट्राभल्स दरबारमार्ग, बढी रोजगारी दिनेमा अरिहन्त मल्टिफाइबर्स सुनसरी, बढी निर्यात गर्ने महिला उद्योगीमा फेसन क्राफ्ट सामाखुसीलाई तथा सबैभन्दा बढी 'आयकर दाखिला गर्ने उद्यमी व्यवसायी'को विधा अर्न्तगत एनसेललाई सिआइपी सम्मानको प्रस्ताव गरेको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले एनसेललाई आर्थिक वर्ष ०७०/७१ र ०७१/७२ मा सबैभन्दा बढी 'आयकर दाखिला गर्ने उद्यमी व्यवसायी'को विधा अर्न्तगत सिआइपी सम्मान प्रस्ताव गरेको हो।

सिआइपीको लागि प्रस्तावित एनसेलका अनुसार उक्त कम्पनीले सरकारलाई विविध शुल्क, रोयल्टी र करअर्न्तगत २०७३ वैशाख २२ सम्ममा झन्डै १ खर्ब २८ अर्ब ६३ करोड योगदान गरेको छ। यसमा अग्रिम करबापत ३० अर्ब ६९ करोड, मूल्य अभिवृद्धि करबापत ३९ अर्ब ६६ करोड, लाइसेन्स शुल्क अन्तर्गत ७ अर्बभन्दा बढी, रोयल्टी स्वरुप ८ अर्ब ९५ करोड रुपैयाँ राजस्व तिरेको कम्पनीको दाबी छ। साथै कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोषमा पनि ४ अर्ब २० करोड रुपैयाँ योगदान पुर्‍याएको बताएको छ।

आर्थिक वर्ष ०६९/७० र ०७०/७१ का लागि पनि एनसेलले सरकारबाट उत्कृष्ट करदाताको सम्मान पाएको थियो। आर्थिक वर्ष ०७१/७२ मा एनसेलले सरकारलाई आयकर लगायत अन्य विविध शीषर््ाक अर्न्तगत २८ अर्ब ६० करोड रुपैयाँभन्दा बढी राजस्व तथा शुल्क बुझाएको बताएको छ।

गत वर्ष मंसिरमा तत्कालिन अर्थमन्त्री  रामशरण महललेे आर्थिक वर्ष ०७०/७१ म्ाा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा एनसेललाई उत्कृष्ट करदाताको सम्मान दिएका थिए।

नेपाल सरकारको आधिकारिक निकायबाट कालोसूचीमा परेको, बैंक तथा वित्तीय संस्थाको कर्जा चुक्त गर्न नसकी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतले दोषी प्रमाणित गरेको, भ्रष्टाचार तथा आर्थिक अनियमिततामा संलग्न भएको प्रमाणित भएको र सिआइपी सम्मान प्रदान गर्नेभन्दा अघिल्लो आर्थिक वर्षसम्मको सरकारलाई तिर्न बुझाउन पर्ने कर बक्यौता रहेको जस्ता अवस्थामा सूचीमा परे पनि सम्मान प्रदान गरिँदैन।

यस्तै, चीनतर्फ निर्यातमा युनाइटेड ट्यानरिज–सुनसरी र न्यु इसा इन्टरप्राइजेज–काठमाडौं, हस्तकलामा एभरेस्ट फेसन–काठमाडौं र कृषिजन्यमा झापाको निर्मल स्टोरलाई सिआइपी प्रस्ताव गरिएको छ। त्यसैगरी दी सांग्रिला कार्पेट एन्ड ह्यान्डिक्राफ्ट इन्डस्ट्री, पल्स फेसन सोलुसन प्रालि–मोरङ, नेचर निट प्रालि–काठमाडौं, त्रिवेणी दाल तथा तेल उद्योग–काठमाडांै, एसियन लेदर इन्डस्ट्रिज मोरङ छन्। केन्द्रका अनुसार डाबर नेपाल प्रालि र आरती स्ट्रिप्स काठमाडौं पनि भारत बढी निर्यात गर्ने सूचीमा सिआइपी सम्मानको सिफारिसमा परेका छन्।

वस्तुगत संगठनतर्फ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघलगायत नेपाल गलैंचा निर्यातकर्ता संघ, केन्द्रीय गलैंचा उद्योग संघ, तयारी पोसाक उद्योग संघ, नेपाल पस्मिना संघ, नेपाल हस्तकला महासंघ, नेपाल महिला उद्यमी महासंघलाई केन्द्रले सिआइपी सम्मानका लागि सिफारिस गरेको छ।

सिआइपी राष्ट्रपतिबाट प्रदान गरिने व्यावसायिक क्षेत्रमा मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित सम्मान हो। राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन यस क्षेत्रमा संलग्न उत्कृष्ट निर्यातकर्ता, विदेशी आयातकर्ता, लगानीकर्ता, रोजगारदाता तथा व्यवसायीलाई सम्मान र कदरपत्र प्रदान गर्ने गरिएको छ। सिआइपी सम्मान प्राप्त गर्ने व्यक्तिले भिआइपी सरह विमानस्थल तथा सिंहदरबार प्रवेश, प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटघाट तथा र भिसा प्रक्रियामा पनि पहिलो प्राथमिकता पाउँछन्।

केन्द्रका अनुसार कुनै दाबी अथवा विरोध भए १५ दिनभित्र जानकारी दिन केन्द्रले सूचना पनि जारी गरिसकेको छ र त्यसपछि सम्मान प्रदान गर्ने सम्बन्धमा अन्तिम निर्णय हुनेछ।

प्रकाशित: ६ श्रावण २०७३ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App