७ वैशाख २०८१ शुक्रबार
राजनीति

विरासत जोगाउन ‘हेभिवेट’

इलामको बरबोटेमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस नेता गगन ।

भीम चापागाईं/दुर्गा दुलाल
इलाम – पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिन (असार ४) मा जिल्लाको रोङ गाउँपालिका आइपुगे । खनाल त्यहाँ एमालेका स्थानीय उम्मेदवारको उम्मेदवारी दर्तामा सहभागी भएर सूर्याेदय नगरपालिका पुगे । सूर्याेदयमा पनि उनले ‘चुनावी रणनीति’ बारे स्थानीय नेता–कार्यकर्तासँग छलफल गरे । 

सूर्याेदय नपा र रोङ गापा खनालले संविधानसभाका दुईवटै निर्वाचन जितेको इलामको क्षेत्र नम्बर १ मा पर्छन् । खनालले २ पटक चुनाव जितेको क्षेत्र नं. १ मा २०५६ सालको संसदीय निर्वाचनमा भने नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले खनाललाई नै पराजित गरेका थिए । २०६४ सालको संविधासभा निर्वाचनमा पुनः खनालले प्रसाईंलाई पराजित गरे । खनालले ०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्यलाई १ नम्बर क्षेत्रमै पराजित गरेका थिए । 

२०७४ माघ ७ सम्ममा प्रदेश र संघको निर्वाचन पनि सम्पन्न हुने भएकाले ती निर्वाचनको परिणाम समेत आफ्नो पक्षमा सुरक्षित गर्ने प्रयासमा ‘हेभिवेट’ अहिलेदेखि नै चुनावी अभियानमा जोडतोडसाथ लागेका हुन्

पहिलो संविधानसभा चुनाव जितेर प्रधानमन्त्रीसमेत भएका खनालले आफ्नो निर्वाचन क्षेत्रका लागि जनताले सोचेजति काम गर्न नसकेको आरोप खेपेका थिए । तर, दोस्रो संविधानसभा चुनाव जितेरै आफूमाथिको आरोपको ‘खण्डन’ गरेपछि भने खनाल बारम्बार आफ्नो चुनाव क्षेत्रमा आइरहेका छन् । स्थानीय तह निर्वाचनमा आफ्नो क्षेत्रका एमाले उम्मेदवार छान्ने क्रममा खनालले ‘जनताका भन्दा नेताका उम्मेदवार छानेको’ आरोप खेप्दैछन् । आरोपको खण्डन गर्ने प्रयासमा अहिले उनी आफ्नै निर्वाचन क्षेत्रको दौडाहामा लागेका हुन् । ‘एमालेले छानेका उम्मेदवार जनताकै सर्वमान्य उम्मेदवार हुन्,’ उनी दाबी गर्छन्, ‘एमालेभित्र न कुनै अन्तर्घात हुन्छ, न कुनै मतभेद । आउँदो चुनावमा एमालेकै जित सुनिश्चित छ ।’

खनाल असार ५ गते बिहानै सदरमुकाम आएर आफ्नो जन्मगाउँ साखेजुङ हुँदै पुवामझुवा पुगे । त्यहाँ पुगेर पनि उनले एमाले नै देशलाई उचित निकास दिनसक्ने पार्टी भएको बताए । उनले एमालेमाथि जनताको विश्वास रहेको भन्दै एमालेलाई जिताउन मतदातालाई हौस्याए । ‘राष्ट्रियताको रक्षा, संविधान कार्यान्वयन र गाउँको विकासका लागि एमाले सधैं दृढ छ,’ उनले थपे, ‘गाउँ–गाउँमा विकासका योजना ल्याउन, सामाजिक सुधारका काममा एमालेले नै जनताको नेतृत्व गरिरहेको छ ।’ खनाल जिल्लाका बरबोटे, सुलुबुङ, माइजोगमाई, सुम्बेकलगायतका गाउँ घुमिरहेका छन् । पार्टीले आयोजना गर्ने सभा र भेलामा उनी उपस्थित हुने गरेका छन् । ‘चुनावसम्म म इलाममै बस्नेछु,’ उनले नागरिकसँग भने ।

संविधानसभाका पूर्वअध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ पनि असार ४ को उम्मेदवारी दर्ता गर्ने दिन आफ्नो निर्वाचन क्षेत्र (इलाम–२) मा पर्ने माङ्सेबुङ गाउँपालिका पुगे । एमालेका स्थानीय उम्मेदवारको उम्मेदवारी दर्तापछि उनी अहिले आफ्नै क्षेत्रका चुनावी सभा, बैठक, भेला र समारोहमा सहभागी भइरहेका छन् । माङ्सेबुङसहित फाकफोकथुम र चुलाचुली गाउँपालिका, देउमाई नगरपालिकालगायतका क्षेत्रमा उनी अहिले चुनावी गतिविधिमा छन् ।

यो क्षेत्रबाट नेम्बाङले चौथोपटक चुनाव जितिसकेका छन् । २०५१ र २०५६ सालका संसदीय निर्वाचन, २०६४ साल र २०७० सालकासंविधानसभा निर्वाचन पनि नेम्बाङले नै जितेका थिए । अहिले स्थानीय एमाले उम्मेदवारको ‘मनोबल बढाउन’ र मतदातालाई एमालेको पक्षमा रिझाउन उनी गाउँ–गाउँ घुमिरहेका हुन् । आफ्नो विरासतझैं बनेको क्षेत्र नम्बर २ मा नेम्बाङले जोगाएको एमाले मतलाई संघीय समाजवादी फोरम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले तान्नसक्ने चुनौती छ । नेपाली कांग्रेस नै एमालेको प्रतिस्पर्धी भए पनि जनजाति समुदायको बसोबास बढी रहेको यो क्षेत्रमा नेम्बाङ आफैं एमाले उम्मेदवारसँग घरदैलोमा पुगिरहेका छन् । 

‘इलामको कर्णालीका रूपमा चिनिने २ नम्बर क्षेत्र अहिले समृद्ध हुने क्रममा छ, अबको नयाँ संविधानले भौतिक, सामाजिक, आर्थिक सबै क्षेत्रको विकासलाई चुलीमा पु¥याउनेछ,’ उनी सार्वजनिक समारोहमा भन्दैछन्, ‘नयाँ संविधान कार्यान्वयन गर्न र स्थानीय तहको अधिकार प्रभावकारी बनाउन देशलाई एमाले नेतृत्वको खाँचो छ ।’ नेम्बाङ आउँदो निर्वाचनसम्मै इलाममा बस्ने तालिका रहेको उनका स्वकीय सचिव बुद्धि खनालले बताए । 

एमाले नेता रघुवीर महासेठ पनि चुनावी अभियान लिएर इलाम आएका छन् । ‘चुनावको अवधिसम्म यहीं बसेर एमाले इलामले बनाएको कार्यक्रममा सहभागी हुनेछु,’ उनले भने, ‘चुनावबाट स्थानीय तहको नेतृत्व चयन गर्दा मात्रै नयाँ संविधानले दिएका अधिकार नागरिकसम्म पुग्ने सन्देश दिन आएको हुँ ।’

पूर्वसभामुख तथा नेपाली कांग्रेस नेता कुलबहादुर (केबी) गुरुङ पनि चुनावी अभियानका लागि शुक्रबार इलाम आउँदैछन् । उनी चुनावसम्म यहीं बसेर मतदातासम्म पुग्ने नेपाली कांग्रेसले जनाएको छ । इलाम नगरपालिका घर भएका गुरुङले इलाम क्षेत्र नम्बर ३ बाट २०६४ सालको संविधानसभा निर्वाचनमा विजय हासिल गरेका थिए । उनी ज्येष्ठ सदस्यका नाताले संविधानसभाको अध्यक्षसमेत भएका थिए । तर, विजयी भएपछि उनी आफ्नो निर्वाचन क्षेत्रमा फर्केर नआएको मतदाताको गुनासो छ । निर्वाचनपछि गृहजिल्ला ‘नहेरेको’ आरोप चिर्न उनी पनि स्थानीय तह निर्वाचनको अवसर पारेर यहाँ आउन लागेका हुन् । 

पूर्वमन्त्री तथा कांग्रेसका प्रभावशाली युवा नेता गगन थापा पनि इलामका स्थानीय तहमा जनतासँग भोट माग्दै आइपुगेका थिए । उनले ३ दिनअघि इलामकै देउमाई नगरपालिका, इलाम नगरपालिकाको बरबोटे र माई नगरपालिकाका चुनावी सभामा सहभागी भएर मतदातालाई कांग्रेस उम्मेदवार जिताउन आह्वान गरेका थिए । शान्ति र संविधानका लागि नेपाली कांग्रेसले इतिहासदेखि अहिलेसम्म नेतृत्व गरिरहेको भनाइ मतदातासमक्ष राख्न उनले छुटाएनन् । कांग्रेस नेता विश्वप्रकाश शर्मा पनि इलामका विभिन्न चुनावी सभामा सम्बोधन गरेर फर्केका छन् । त्यस्तै कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे र सुजाता परियार पनि जिल्लाको चुनावी माहोल तताउन दौहाडामा छन् । नेताहरू महेश आचार्य र मीन विश्वकर्मा पनि इलाम आउने तयारी भइरहेको कांग्रेसले जनाएको छ । 

केन्द्रीय तहका नेताहरू मतदातासम्म पुग्दा जिल्लास्तरका नेताले राहत अनुभव गरेका छन् । ‘केन्द्रका नेताले राष्ट्रिय राजनीतिको कुरा गरिदिन्छन्, राजनीतिक अवस्थाबारे मतदातालाई बुझाउन केन्द्रीय नेताको ठूलो सहयोग हुने गरेको छ,’ कांग्रेस जिल्ला सचिव निरोज खड्गी भन्छन्, ‘दलकै केन्द्रीयस्तरको प्रतिबद्धता उहाँहरूकै मुखबाट सुनेर मतदाता प्रभावित हुन्छन् ।’  
     
चार नगर, छ गाउँपालिका 

इलाममा ४ नगरपालिका र ६ गाउँपालिका छन् । तिनमा कुल १ लाख ८९ हजार २ सय ७४ मतदाता छन् । सूर्योदय, इलाम, देउमाई र माई नगरपालिका छन् भने सन्दकपुर, रोङ, फाकफोकथुम, चुलाचुली र माइजोगमाई माङ्सेबुङ गाउँपालिका छन् । 

यीमध्ये सूर्याेदय र माई नगरपालिका तथा रोङ गाउँपालिका पूर्वप्रधानमन्त्री खनालले निर्वाचन जितेको क्षेत्र नं. १ का हुन् । देउमाई नगरपालिकासहित चुलाचुली, माङ्सेबुङ र फाकफोकथुमको बढी भूभाग नेम्बाङको क्षेत्रमा पर्छ । इलाम नगरपालिका, सन्दकपुर र माइजोगमाई गाउँपालिका कांग्रेस नेता गुरुङले जितेको निर्वाचन क्षेत्रमा छन् । २०७४ माघ ७ सम्ममा प्रदेश र संघको निर्वाचन पनि सम्पन्न हुने भएकाले ती निर्वाचनको परिणाम आफ्नो पक्षमा सुरक्षित गर्ने प्रयासमा ‘हेभिवेट’ अहिलेदेखि नै चुनावी अभियानमा जोडतोडसाथ लागेका हुन् । 

 

प्रकाशित: १० असार २०७४ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App