खोटाङ – खोटाङको खार्मीमा दुई महिने सुत्केरी महिलामाथि कुटपिट भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी २५ वर्षीय सुत्केरी दुर्गा दाहाल कुटिएकी हुन् । छिमेकीसँगको सामान्य भनाभनको विषयलाई लिएर दाहालमाथि बिहीबार कुटपिट भएको हो । दाहालमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले स्थानीय २२ वर्षीय चेतनारायण श्रेष्ठ र दिपेन्द्र श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ।
कुटपिटबाट दाहालको दाहिने हातमा निलडाम लाग्नुका साथै पेट र छातीमा असर पुगेको आफन्तले बताएका छन् । उनलाई उपचारकालागि शुक्रबार जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ । कुटपिटपछि पीडितपक्षले दिएको मौखिक उजुरीका आधारमा श्रेष्ठद्धयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सई मनोज यादवले बताए।
छिमेकी लिला भुजेलसँग घाँसको विषयमा ठट्टा गरिरहेकाबेलामा स्थानीय सम्झना श्रेष्ठ आएर कुटपिट सुरु गरेपछि चेतनारायण लगायतले छुट्याउने निहुमा जगल्टाएर छाती र पेटमा लात्तीले हानेको दाहाल परिवारको भनाई छ । आरोपित सम्झनाले भने घाँस काटिरहेको समयमा दुर्गाले गालीगलौज गर्दै हात हाल्न आएपछि सामान्य झगडा भएको बताएकी छन् । पीडितको ठाडो उजुरीको आधारमा दुबैपक्षलाई राखेर सहमतीका लागि मिलापत्र गराइने सई यादवले बताए।
प्रकाशित: १० असार २०७४ ०२:२८ शनिबार