दिलबहादुर छत्याल / बालकृष्ण अधिकारी
धनगढी – धनगढी उपमहानगरपालिका–१८, फुलबारीको डिपो बजारस्थित एनएस स्टेडियममा शुक्रबार एकै दिन दुई सभा भए । दुवै सभामा दुई ठूला दलका शीर्ष नेताले मतदातालाई फकाउन करिबकरिब मिल्दाजुल्दा भाषण गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहान १० बजे चुनावी सभालाई सम्बोधन गरे ।
बिहान बुद्ध यअरबाट धनगढी आइपुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धनगढीको क्याम्पस चोकमा र दिउँसो २ बजे फुलबारी डिपोबजारमा चुनावी सभालाई सम्बोधन गरे । सुदूरपश्चिमको विकास हुन कांग्रेसले जित्न जरुरी भएको उनले बताए । ‘कांग्रेसले जिते गाउँगाउँ सडक, कालोपत्रे, ढलनिकासलगायत सुदूरपश्चिमको सबै विकास हुने छ’, उनले भने । विकास निर्माणमा सुदूरपश्चिम पछि परेको उल्लेख गर्दै उनले कांग्रेसले जिते सबै विकास हुने बताए । सुदूरपश्चिममा विकास आयोजना आफूले ल्याएको उनले बताए । प्रजातन्त्र टिकाउन र सुदृढ बनाउन कांग्रेसको जित आवश्यक भएको उनको भनाइ थियो । २००७ सालको आन्दोलनदेखि प्रजातन्त्र र संघीय गणतन्त्र स्थापनाका लागि भएका आन्दोलन कांग्रेसकै अगुवाइमा भएको उनले बताए ।
देउवाले पश्चिम सेती, पञ्चेश्वरलगायत आयोजना पनि सञ्चालन गर्ने बताए । नमुना मेडिकल कलेज, आयुर्वेदिक अस्पताल, गौरिफन्टा भन्सार नाका बन्द हुन नदिने र स्तरोेन्नति गर्ने, नदी कटान रोक्नेलगायत विकासका काम गर्ने प्रतिबद्धता जनाउँदै देउवाले धनगढी उपमहानगरपालिका प्रमुखमा नृप वडलाई जिताउन उनले आग्रह गरे।
यसअघि बिहान १० बजे माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले धनगढी उपमहानगरपालिकामा पार्टीका तर्फबाट मेयरका उम्मेदवार रामसमझ रानाले चुनाव जिते ढल निकास, खानेपानी समस्या समाधान, नदी नियन्त्रण, सडक निर्माणलगायत विकासका काम गरिने बताए । यहाँको विकासमा आफैं लाग्ने आश्वासन पनि उनले मतदातालाई दिए । रानालगायतका उम्मेदवारलाई आफू नै उम्मेदवार ठानेर मत दिन उनले आग्रह गरे । सुदूरपश्चिम काठमाडौंबाट उपेक्षित भएको उल्लेख गर्दै उनले आफ्नो पार्टीले जनयुद्धदेखि नै यो क्षेत्रलाई प्राथमिकतामा राखेको सुनाए।
‘धनगढीमा माओवादी उम्मेदवारले जिते म हाम्रा उम्मेदवार रामसमझ रानाले होइन, प्रचण्डले जितेको ठान्नेछु’ उनले भने, ‘पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासमार्फत धनगढीलाई ‘मोडेल सिटी’ बनाउन पहल गर्नेछु ।’
दाहाल बिहीबारदेखि कैलालीमा मतदाता फकाउन व्यस्त छन् । बिहीबार टिकापृुरमा सम्बोधन गरेका दाहालले शुक्रबार बिहान अत्तरियामा सम्बोधन गरेका थिए ।
चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले विकासमा पछि परेको सुदूरपश्चिमलाई आफूले प्राथमिकतामा राखेको बताएका थिए । उनले पहिलोपटक आफू प्रधानमन्त्री भएका बेला सुदूरपश्चिम विश्वविद्यालय स्थापनालगायतका काम गरेको र दोस्रो पटक प्रधानमन्त्री हुँदा पञ्चेश्वर परियोजना, महाकालीमा पक्की पुल, सुख्खा बन्दगाह, पश्चिम सेती, हुलाकी मार्गजस्ता परियोजना निर्माण प्रक्रियामा लगेको बताए ।
प्रदेश नम्बर ७ को एक मात्र उपमहानगर धनगढीमा ढल निकास, सडक, खानेपानी, बिजुली, नदी कटान लगायत समस्या छन् । त्यस्तै गौरीफन्टा नाका बन्द भएर छोटी भन्सार हुन लागेको विषय पनि मतदाताले उठाइरहेका छन् । ‘यहाँ ढल निकास, सडक, खोलानाला अतिक्रमण, नदी कटान, डुवान समस्याको चाङ छ’, धनगढी उपमहानगरपालिका–५ का युवक किशोर जोशी भन्छन, ‘यहाँका मतदाता फकाउन अहिले सबै दलका नेताका उस्तैउस्तै अजेन्डा बनाएर भाषण गरिरहेका छन् । मतदातालाई भाषणको आश्वासनभन्दा पनि देखिने विकास चाहिएको छ ।’
धनगढी उपमहानगरपालिकाके चुनावलाई ठूला राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएका छन । नेपाली कांग्रेसलाई आफ्नो प्रभुत्व कायम राख्नुपरेको छ । दोस्रो संविधानसभा चुनावमा यहाँबाट पनि चुनाव लडेका प्रधानमन्त्री देउवाको समेत प्रतिष्ठासँग यहाँको चुनाव गाँसिएको छ । एमाले कांग्रेसको प्रभुत्व भत्काउन चाहन्छ । एमाले उपाध्यक्ष भीम रावलले यहाँका विभिन्न स्थानमा आयोजित सभालाई सम्बोधन गरिसकेका छन् । एमाले नेता माधवकुृमार नेपाल शनिबार याहाँ आउने कार्यक्रम छ ।
माओवादी केन्द्र २०६४ साल फर्काउने दाउमा छ । २०६४ सालको संविधानसभा चुनावमा यहाँबाट जितेको माओवादी केन्द्र दोस्रो संविधानसभा चुनावमा खुम्चिएको थियो । अहिले माओवादी केन्द्रको अवस्था पनि बलियो देखिएकाले यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उपमहानगरपालिकामा व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिएका कारण उनको पनि चर्चा बढी छ ।
प्रकाशित: १० असार २०७४ ०२:३१ शनिबार