जुम्ला – एक महिनाअघि सम्म नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको सैयामा मृत्युसँग लडेका तातोपानी गाउँपालिका–५, लाम्राका पूर्णचन्द्र चौलागाईं सञ्चो भएर घर फर्किएपछि गाउँमा खुसीयाली छायो । उनलाई भेट्न आउने आफन्त र छिमेकीको लर्काे लाग्यो । छिमेकी तथा आफन्तजनले उनलाई चोपाइँ गर्न सल्लाह दिए ।
उनीहरूकै सल्लाहबमोजिम साताअघि चौलागाईंले आफन्तजन र छिमेकी बोलाएर चोपाइँ गरे ।
वर्षभरका सुखद कामको खुसीयालीमा जुम्लामा चोपाइँ गर्ने परम्परा छ । यो कृषिमा आधारित संस्कृति हो । व्रतबन्ध भएको घरमा कुमार, विवाह भएको घरमा बेहुला वा अन्य कुनै शुभकार्य भएको घरमा घरमूलीलाई हलीले काँधमा बोकेर पुल्ती (बहुरंगी कपडा लामो निगालोमा राखी अल्झाइएको त्रिकोणात्मक आकारको वस्तु) हालेको स्थानमा तीनपटक परिक्रमा गराउने चलन छ ।
सिजनको अन्तिम रोपाइँ गर्ने खेतमा चोपाइँ गरिन्छ । चोपाइँ गर्नुअघि युवायुवती हिलो खेल्ने गर्छन् । जसलाई बल परीक्षण गर्ने मौकाका रूपमा लिइन्छ । हिलो खेल्दा लगाइएको लुगा झिकेर हलीलाई दिइँदै आएको छ ।
स्थानीय संस्कृतिविद् रमानन्द आचार्य चोपाइँले रोपाइँको महŒव अझ प्रगाढ बनाएको बताउँछन् । चोपाइँ हेर्न गाउँले जम्मा हुन्छन् ।
चोपाइँपछि पानीमा नुहाइधुहाई गरेर सुपारी, नरिवल, छर्रा, लङ, सुगमेल बाँड्ने चलन छ । चोपाइँका बेला पर्म लागेका महिलालाई मीठो परिकार दिइन्छ ।
चन्दननाथ बाबाले धान खेती परीक्षण गरेपछि चोपाइँ सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएको किम्बदन्ती छ । ‘चोपाइँ पाँचौं शताब्दिअघि सुरु भएको देखिन्छ । यसले प्रत्येक वर्षमा हुने शुभ कामको संकेत गर्छ,’ संस्कृतिविद् आचार्य भन्छन्।
कालीमार्सी धान रोप्ने खेतमा चोपाइँ गरिन्छ ।
जिल्ला कृषि विकास अधिकृत भरतप्रसाद कँडेल चोपाइँ रोपाइँभित्रको महत्त्वपूर्ण अंग भएको बताउँछन् । चोपाइँ किसानबीच एक–आपसमा सद्भाव कायम राख्ने र सुख–दुःख बिसाउने चौतारी बनेको उनको ठम्याइ छ ।
कार्यालयले हरेक वर्ष रोपाइँ महोत्सव आयोजना गरी चोपाइँ संरक्षण गर्ने अभियान थालेको छ । कृषि विकास अधिकृत कँडेलले कालीमार्सी संरक्षण गर्न चोपाइँ महŒवपूर्ण पाटो भएको बताउँछन् । यहाँका अधिकांश गाउँपालिकामा चोपाइँ गरिन्छ ।
तागे संक्रान्ति
वैशाख पहिलो दिनमा यहाँका महिलाले तागा लगाइसकेपछि महिलाले बनाएको पुवा लिएर बेर्नामा पुर्रा (क्षेत्रपाल) को पूजा गर्ने चलन छ । त्यो दिन खेतमा चैतमा लगाएको पानी बीस पटक आलीमा फाल्ने गरिन्छ । नयाँ वर्षका बेला कृषि मजदूरलाई पुवा बाँड्ने गरिन्छ । जेठमा रोपाइँ चल्छ । बेर्नामा रहेको धानको बीउ खेतमा सार्ने काम हुन्छ । दोस्रो रोपाइँ जेठमा हुन्छ, त्यसलाई रोपाइँभित्रको चोपाइँ भनिन्छ । त्यो अवधिमा अनुकूलता हेरेर चोपाइँ हुन्छ । चोपाइँमा गाउँभरका रोप्नेरी एकै ठाउँमा रोपाइँ गर्ने र माँगल गाउँछन् । चोपाइँ हुने खेतमा बाजागाजासहित पुल्ती छेकिन्छ । पञ्चेबाजा बजाइन्छ । दमाई जातिले पुल्ती हाल्छन् । रोपीसकेपछि अगुवा रोप्नेरीले रोपाइँ गरेको खेतमा बीउले पुल्तीको आकार दिन्छन् ।
धान खेतीको तालिका
सामान्यतयाः श्री पञ्चमीको दिनदेखि कृषि तालिका सुरु हुन्छ । चैत १२ गते धानको बीउ भिजाइन्छ । चैत १६ गते बीउ उतारेर घाममा सेकाइन्छ । ओस मर्न नपाउँदै उनको कपडाले ढाकछोप गरिन्छ । चैत २० गते बेर्नामा लिएर छरिन्छ । जेठ पहिलो सातामा बेर्नामा उमारिएको धान खेतमा रोप्न सुरु हुन्छ । दोस्रो हप्तामा चोपाइँ सुरु हुन्छ । अन्तिम दिनको रोपाइँलाई ‘मैजाणो’ भनिन्छ ।
प्रत्येक वर्ष घटस्थापनामा धानको बाला काट्ने र न्वागी खाने चलन छ । न्वागी चन्दननाथ भैरवनाथ मन्दिरमा चढाइन्छ । कात्तिक ६ गते वैशाखमा राखिएको तागाँ सेलाउँछन् । दूध चिउरा खाएर धान काट्ने चलन छ । काटेको धानलाई दुई दिन घाममा सुकाइन्छ । त्यसपछि धान घरमा भिœयाइन्छ ।
यहाँ कात्तिकमा नयाँ धान नखान’ भन्ने किम्बदन्ती छ ।
चोपाइँ संस्कृति बचाउने अभियान
परापूर्वकालदेखि चल्दै आएको चोपाइँ संस्कृति हराउँदै गएपछि किसानले संरक्षण अभियान थालेका छन् । यो वर्ष विभिन्न क्षेत्रमा चोपाइँ गरिएका छन् । चोपाइँ गर्दा धान उत्पादन बढी हुने जनविश्वास छ ।
चोपाइँमा जति बढी हिलो खेल्यो, त्यतिकै बढी धान उत्पादन हुने चन्दननाथ नगरपालिकाका भैरबहादुर धरालाले बताउँछन् । ‘चोपाइँ जोगाउन किसानले अभियान थालेका छन्,’ उनी भन्छन् ।
नयाँ घर बनाए, विवाह, व्रतबन्ध र छोरा जन्मेको खुसीयालीमा चोपाइँ गर्ने गरिन्छ ।
यस दिन मीठा परिकार बनाउने, आफन्तजनलाई भेला गराउने, मान्यजनलाई दुबो र टीका लगाई खेतमै चोपाइँ गरिन्छ । रोप्नेरी, हली र बाउसे हिलो खेल्छन् ।
चोपाइँमा खेतमै खसी काटेर खानपान गर्ने चलन रहेको धरालाा बताउँछन् ।
पुख्र्यौली खेतमा पुल्ती हाली वरी परि नाच्ने गाउने चलन छ । ‘पहिले जसको घरमा शुभ कार्य भयो त्यस घरमा चोपाइँ गरिन्थ्यो,’ उनी भन्छिन्, ‘हाल फाट्टफुट्ट चोपाइँ गरेको सुनिए पनि खासै महŒव दिएको पाइँदैनथ्यो । तर, अहिले फेरि अधिकांस खेतमा चोपाइँ गरेको देखिन्छ ।’
खडेरीले एकमुष्ट रोपाइँ हुन नसक्ने भएकोले चोपाइँ संस्कृति हराउँदै गएको भए पनि अहिले किसानले पानीको जोहो गरेर रमाइलो गर्छन् ।
पछिल्लो पिढीलाई परम्परागत संस्कृति भन्दा पनि आधुनिक संस्कृतिप्रतिको मोह बढेकाले चोपाइँ संस्कृति हराउँदै गएको स्थानीय बताउँछन् ।
जतिबेला यहाँ धान लगाउन सुरु गरियो त्यतिबेलादेखि नै चोपाइँ संस्कृतिको विकास भएको हो । यो वर्षदेखि चोपाइँ गर्नेको लर्को लागेको स्थानीय बताउँछन् ।
२०५४ सालमा छोरा जन्मेका बेला गरिएको चोपाइँ गरेको सम्झन्छन्, स्थानीय भैरबहादुर । उनले भने, ‘अब चोपाइँ संस्कृतिलाई केन्द्रविन्दु बनाएर अघि बढ्न जरुरी छ ।’
आगामी दिनमा चोपाइँलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने उनको सुझाव छ ।
प्रकाशित: १० असार २०७४ ०२:३९ शनिबार