आगामी शुक्रबार रिलिज हुन लागेको चलचित्र ‘कारखाना’ अहिले चर्चामा छ । ‘मायाले बोलेको...’ बोलको यो चलचित्रको गीत युट्युबमा लाखौंले हेरिसकेका छन् भने यसको ट्रेलर पनि उत्तिकै हिट भइरहेको छ।
असार १६ गते यो चलचित्रका निर्माता सुदीप खड्काको वर्षौंदेखिको तपस्या पनि पूरा हुँदैछ । फिल्म बनाउने उनको २० वर्षअघि देखिको लगाव, रुचि र तपस्या थियो । प्लस टु पढेपछि पुना फिल्म इन्स्टिच्युटमा सिनेमाटोग्राफी र डाइरेक्सन पढ्ने उनको इच्छा थियो । तर, विभिन्न पारिवारिक उतारचढाव र परिवेशका कारण उनको इच्छा पूरा हुन सकेन । यद्यपि, उनमा एक दिन फिल्म बनाउने सपना पूरा गरेरै छाड्छु भन्ने अठोट कायम थियो । परिवारको रुचि अन्तै भएकाले उनले मन लागेको विषय पढ्न सकेनन् र आइटीमा मास्टर्स गरे । अमेरिका जाने र युएनमा काम गर्ने सबैको सपना नै हुन्छ । तर, उनले फिल्म बनाउनकै लागि यी काम गर्दागर्दै छोडे । केही वर्ष अमेरिकामा बसेर पनि काम पनि गरे । अन्ततः केही वर्षअघि नेपालमा आएर आफूले पढेको भन्दा फरक काम गर्न सुरु गरे ।
खड्काको काठमाडौंमा कफी र बेकरीको व्यापार छ । उनी हिमालयन बिन्ज र सारा बेकरीका निर्देशक हुन् । चलचित्र निर्माताका रूपमा यो उनको पहिलो चलचित्र हो । उनीसँगै यसमा राजेन्द्र केसी, ओम बज्राचार्य र सूर्याश खड्का पनि यस फिल्मका निर्माता हुन् ।
गत वर्ष भारतले नेपाललाई नाकाबन्दी लगाइरहेका बेला उनको भेट निर्देशक अमरदीप सापकोटासँग भयो । फिल्म निर्माणमा डेब्यु गर्न खोजिरहेका खड्कालाई सापकोटाले आफूसँग एउटा कथाको कन्सेप्ट भएको बताए । उनले पूरा कथा सुनाएनन् । तर, ‘सरोगेसी’का विषयमा फिल्म बनाउने भने । खड्काले ओके त गरिदिए । तर, यो विषय डकुमेन्ट्री बनाउने जस्तो विषय भएकाले एउटा सर्त राखे । ‘सरोगेसीका विषय डकमेन्ट्रीजस्तो हुने भएकाले मैले निर्देशकलाई यो फिल्म डकुमेन्ट्री जस्तो नबनोस्, चलचित्र जस्तो बनोस् भनेर सर्त राखें,’ उनले भने । त्यसैअनुसार, कथा लेख्न सुरु भयो । ६ महिना लगाएर कथा लेखियो । निकै परिमार्जन भए । निर्माता र निर्देशकको टोलीले अन्य लेखकलाई पनि देखाएर फिडब्याक लियो अनि सुटिंग सुरु भयो ।
धेरैजसो भाग हेटौंडामा सुटिङ गरिएको ‘कारखाना’को विषय नयाँ भएको उनी बताउँछन् । ‘सरोगेसी थिममा विश्वमै सायदै चलचित्र बनेको होला । सरोगेसी किन गरिन्छ, कस्तो अवस्थामा मानिस सरोगेसीमा सामेल हुन्छन् भनेर वास्तविक पात्रसँग भेटेर, कुरा गरेर यसको कथा फाइनल गरिएको हो,’ खड्का भन्छन् । फिल्ममा निकै उतारचढाव भएकाले दर्शकलाई फिल्म हेर्दा रोलर कोस्टर जस्तो महसुस हुने उनको दाबी छ । ‘फिल्म हेर्दै जाँदा मानिसलाई पीडा, छटपटी हुँदै जान्छ र एक्कासी खुसीको माहौलमा लैजाने सिन आउँछ । करिब दुई घण्टा मजाले टाइमपास हुन्छ,’ उनी चलचित्रको उतारचढावबारे बताउँछन् । धेरैजसो नेपाली फिल्म केही दिनमै हलबाट उत्रिरहेको अहिलको अवस्थामा ‘कारखाना’ राम्रोसँग चल्ने उनको अपेक्षा छ ।
प्लस टु पढेदेखि नै फिल्म बनाउने सपना देखेका खड्काको पर्दामा देखिने भने रहर थिएन । उनलाई सधैं पर्दापछाडि बसेर काम गर्ने रहर थियो । त्यसैले, उनले औसत निर्माता जस्तो पैसा हालेर चुप लागेर बस्ने मात्र नभइ सुटिङ, पोस्ट प्रोडक्सनमा पनि निकै सहभागी भए । निर्माताका रूपमा आफूले एकदमै मिहिनेत गरेको उनी बताउँछन् ।
खड्का परम्परागत चलचित्र निर्माता भन्दा फरक भए । सामान्यतयाः फिल्म बनाउँदा अरुले कथा चोरिदेला अथवा लिक होला भन्ने सोच्छन् । तर, आफूलाई त्यस्तो कुरामा विश्वास नभएको बताउँछन् उनी । ‘म फिल्म बनाउँदा धेरै भन्दा धेरै मान्छेलाई कथा देखाएँ । मलाई पैसाको माया छ भने कलाकारलाई आफ्नो करियरको चिन्ता हुन्छ,’ उनी बताउँछन् । अरुले दिएको फिडब्याकले फिल्मलाई अझ राम्रो बनाउन सहयोग गर्ने उनी दाबी गर्छन् ।
उनले अन्य लेखक र कलाकारलाई कथा मात्र देखाएनन्, फिल्म सुटिङ पूरा भएपछि आफ्नो क्याफेका कर्मचारीलाईसमेत देखाए । कर्मचारीबाट उनले राम्रो फिडब्याक पाए । ‘उनीहरूले यहाँनेर एक्सन तथा रोमान्स, यहाँ फिल पुगेन भन्ने एकदमै सिर्जनात्मक प्रतिक्रिया दिए । त्यसकै आधारमा पनि मैले कति वटा सिन रिसुट गरेको छु,’ खड्का दाबी गर्छन्, ‘मनदेखि छुने फिल्म बनाएका छौं । रिसर्च गरेका छौं । मिहिनेत गरेका छौं । एकदमै राम्रो फिल्म बनाएका छौं ।’ फिल्म मेकिङ लाइफको सबैभन्दा गाह्रो काममध्ये एक भएको उनलाई यो फिल्मको निर्माणले बुझाएको छ । पहिले पनि गाह्रो छ भन्ने थाहा थियो । तर, यति गाह्रो हुन्छ भन्ने नसोचेको उनी बताउँछन् ।
‘कारखाना’ आफ्नो कठिन तपस्या भएकाले त्यो तपस्यालाई दर्शकले हलसम्म पुगेर मूल्यांकन गरिदिन उनी अनुरोध गर्छन् । नयाँ टिमले बनाएको फिल्म भएकाले दर्शकले प्रतिक्रियाले अर्को फिल्म निर्माणमा ठूलो भूमिका खेल्ने उनी बताउँछन् ।
नायिका वर्षा शिवाकोटी र नायक सुशील श्रेष्ठ यो फिल्ममा मुख्य पात्रका रूपमा देखिने छन् । त्यस्तै मौसमी मल्ल, जेबिका कार्की र नागेन्द्र रिजालले पनि यस फिल्ममा अभिनय गरेका छन् ।
प्रकाशित: १० असार २०७४ ०२:४९ शनिबार