ङावा तामाङ
तेत्तीस वर्षको उमेरमा आइपुग्दा मलाई लाग्छ–जिन्दगीमा मैले जति दुःख कसैले पाएको छैन ! म जन्मथलो हाकु गाउँ रसुवाको विद्यालयमा कक्षा १ मा पढ्दैथिएँ, त्यस्तै ६ वर्षको हुँदो हुँ, त्यहीबेला आमा–बुबा बित्नु भयो । मैले पढ्न पाइन ।
अनि दुई वर्षजति ठूली आमाकोमा बसेपछि म धुन्चे पुगें । त्यहाँ मैले भाँडा माझे, गोठाला बनें । त्यस्तै १० वर्षको हुँदा धुन्चेका होटलमा भाँडा माझ्थें । समय बगिरह्यो, १४ वर्षको उमेरमा काकासँग काठमाडौं आएँ । उहाँले सिफलमा दाबा तामाङसँग चिनापर्ची गराइदिनु भयो । दाबा एशियन ट्रेकमा काम गर्नु हुन्थ्यो । उहाँकै घरमा सहयोगीका रुपमा बसें ।
भरियाको जति दुःखदायी जिन्दगी कसको होला ! भारी बोकेर हिमालतिर उकालो लाग्दा मनले भन्थ्यो–कहिले गाइड बन्न पाइएला ! अहिले चाहिँ आफ्नै कम्पनी खोल्ने सपना देख्दैछु ।
पहिलोपटक ३ दिन चिसोपानी–नगरकोट पदयात्रामा गएँ । ४५ किलो भान्छाको सामान बोकेर किचन व्वाइका रुपमा । त्यसपछि २७ दिन लामो पदयात्रामा भरिया बन्ने अबसर पाएँ । ३५ लिटर मट्टितेलको ग्यालीन र १०–१० किलो तौलका दुइटा स्टोभ बोकेर मकालु हुँदै शेर्पिनी कोल पार गरेर हामी लुक्ला पुग्यौं ।
मलाई सम्झना छ, त्यो बेला बिदेशीले हामी भरियाका लागि ट्रेकिङ जुत्ता बाँडेको । मलाई साथीहरुले जुत्ता दिएनन । उनीहरुले भने, ‘तिमी बीचबाटै फर्किन्छौं होला ।’ तर मेरो आत्मविश्वास दरो थियो । हामी गोरा र नेपाली गरि करिब ७० जना थियौं । यात्रामा सबैभन्दा बलियो म साबित भएँ । साथीहरु चकित परे ।
त्यही यात्रामा भेटिएकी बेल्जियमकी महिला बेटि माडेमले मलाई माया गर्नु भयो । उहाँसँगको भेट जीवनको टर्निङ प्वाइन्ट बन्यो । उहाँले नै मलाई सन् २००९ मा गाइड तालिम र सन् २०१० मा पर्वतारोहण तालिम गराउन सहयोग गर्नु भयो । त्यति मात्र होइन, सन् २०१६ मा युरोप पनि घुमाउनु भयो । बेल्जियम, जर्मन, हल्याण्ड र स्पेन दुई महिना घुमेर फर्कें ।
पदयात्रा पर्यटनमा सबैभन्दा दुःख भरियालाई हुन्छ । न राम्रो पैसा पाइन्छ । न राम्रो बास र खाना । हरेक भरियाको सपना हुन्छ–गाइड बन्ने । किनकि गाइड बनेपछि भारी बोक्नु पर्दैन, बेलैमा न्यानो टेन्ट वा होटलमा बास बस्न पाइन्छ । खाना र कमाई पनि राम्रो हुन्छ ।
कहिलेकाहिँ १०–१५ दिनसम्म हिउँमा हिँड्नु पर्छ । सजिलो हुँदैन यात्रा । मैले पनि सन् २००४ सम्म एशियन टे«क्स मार्फत भारी बोकेर पदयात्रा गरें । त्यसपछि असिस्टेन्ट गाइडका रुपमा तीन वर्ष काम गरेपछि गाइड बनें ।
बीचमा सन् २००० देखि तीन वर्ष म मलेसियामा काम गरेर फर्कें । मलेसिया बसेपछि अँग्रेजी बोल्नमा सुधार आयो । त्यसैगरि सन् २००५ मा म एक वर्ष कतार बसें । सन् २००७ मा अफगानिस्तान जान भनेर दुबई पुगेको थिएँ । एजेन्टले अफगानिस्तान पठाउन नसकेपछि ३६ दिन बसेर नेपाल फर्कें ।
मैले सबैतिर पदयात्रा गरेको छु । सगरमाथा, लाङटाङ अन्नपूर्ण, ढोरपाटन, टासीलाप्चा, धौलागिरि, डोल्पा, मुस्ताङ, मानसरोवर आदि ठाउँमा । सन् २००७ देखि भने पर्वतारोहणतिर पनि लागेको छु । सहयोगी बनेर चुली चढ्न र चढाउन थालेको हुँ । खासमा पदयात्रा भन्दा पर्वतारोहण जोखिमपूर्ण छ । तर, यसमै राम्रो कमाई हुन्छ ।
हिमालतिर हिँड्दा कहिलेकाहिँ दुःख पाइन्छ । ताप्लेजुङको तोप्केगोला जाँदा तीन दिन बाटो बिराएर हराइयो । बिशेषतः हाइ अल्टिच्यूडका भञ्ज्याङमा गारो हुन्छ । आफू मात्र पार गरेर हुँदैन, भरिया र पर्यटकलाई समेत सकुशल पार गराउनु पर्छ ।
हिमालतिर हाइ लागेर वितेका मान्छेको शब भेटिन्छ । शेर्पिनी कोलमा ५ वटासम्म शव देखेको छु । जिन्दगी यस्तै हो, कतिबेला अस्त हुन्छ भन्नै सकिन्न ।
मलाई लाग्छ, जन्मथलोप्रति हाम्रो दायित्व छ । हामीले त्यसको विकासका लागि केही न केही गर्नै पर्छ । पार्वतीकुण्ड गाउँपालिका, रसुवामा पर्ने हाम्रो हाकु गाउँ पनि १२ वैशाखको भुइँचालोबाट ध्वस्त भयो । त्यतिबेला म पदयात्रामा थिएँ । मनाङबाट फर्केपछि विदेशीको सहयोग बटुलेर हामी गाउँमा राहात लिएर पुग्यौं । भुइँचालोका कारण कति बालबालिका टुहुरा भए । म जस्तै टुहुरा बालबालिकाका लागि खाने÷बस्ने भवन बनाउन हामी संगठित प्रयास गर्दैछौं । हामीले असहाय बालबालिका विकास केन्द्र खोलेका छौं । भबिश्यमा हाकुगाउँमा ४५ जना टुहुरालाई राखेर पढाउने केन्द्रको योजना छ ।
हाम्रो हाकु गाउँका करिब ३ सय परिवारको हातमा लालपूर्जा थिएन । हामीले गुठीका नाउँमा रहेका जग्गाको मोही हक कायम भएको लालपूर्जा बनाएर गाउँलेलाई बाँड्ने अभियान चलाइसकेका छौं ।
आज म फ्रिलान्सरका रुपमा काम गरिरहेको छु । बिशेषतः फेन्ड्स एडभेन्चर टिम, सोलुखुम्बु टे«क्स एण्ड एक्सपिडिसन र अल्पाइन एडभेन्चर टे«क लगायतका कम्पनी मार्फत । जीवनमा सोचेका सबै कुरा कहाँ पाइन्छ र ! तर, आफूले पढ्न नपाए पनि आफ्ना दुई सन्तानलाई पढाएर असल मान्छे बनाउने छु ।
मनमा एउटा सपना छ–आफ्नै टे«किङ एण्ड एक्सपिडिसन कम्पनी खोल्ने । केही मान्छेलाई रोजगारी दिने । र, आफ्नै धुनमा आनन्दले काम गर्ने । मलाई लाग्छ, त्यो दिन धेरै टाढा छैन ।
फर्केर हेर्दा लाग्छ–जीवन त दुःखै दुःखको माला रहेछ ।
प्रकाशित: १० असार २०७४ ०४:२७ शनिबार