१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कोरिखामा तन्नेरी उत्साह

अमृत भादगाउँले 
एक समय मृत शहरको उपमा पाइसकेको तनहुँको पुरानो सदरमुकाम बन्दीपुर बजार पछिल्लो दुई दशक अबधिमा राम्रो पर्यटन गन्तव्य बनिसक्यो । स्वदेशी÷विदेशीका आँखामा बसिसक्यो । बन्दीपुरलाई चम्काउन धेरैको श्रम, सीप र विवेक खर्च भएको छ । बन्दीपुर सामाजिक विकास समितिले गाउँलाई शिक्षा, स्वास्थ्य र पर्यटन धाम बनाउने अभियानको अगुवाई गर्दै आएको छ । 

बन्दीपुर नजिकैको कोरिखा गाउँमा होमस्टेको बीउ रोपिएको छ । गाउँलेहरु पाहुना आउने बाटो कुरेर बसेका छन् । गाउँसम्मै मोटर बाटो जोडिएको छ । बन्दीपुर बजारबाट हिँडेरै जाँदा पनि एक घन्टा लाग्छ ।   

समितिका संस्थापकहरु शिक्षाविद् चिजकुमार श्रेष्ठ, डा. मदन पिया, पर्यटनकर्मी सन्तकुमार श्रेष्ठ लगायतको ठूलो योगदान छ । त्यहीँ जन्मेर बाहिर बस्दै आएकाहरुले जन्मथलोलाई पुनःजीवन दिन चिजकुमारको संयोजकत्वमा विसं २०४९ मा समिति बनाएका थिए । त्यसले बन्दीपुरेलाई जन्मथलोमा फर्केर आ–आफ्नो क्षेत्रबाट सघाउन अभियान चलायो । अनि त छोटो समयमै बन्दीपुरको रौनक बढ्यो । 

चिजकुमार बन्दीपुर क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन लगायत विकासका हरेक काममा गाउँलेहरुसँग निरन्तर हातेमालो गरिरहेका छन् । रिटयार्ड जीवनलाई बन्दीपुरमै लगाएर । उनकै मार्गदर्शनमा बन्दीपुर क्षेत्रकै कोरिखा गाउँमा भर्खरै पर्यटनको बीउ रोपिएको छ । 

बन्दीपुर गाउँपालिका–५ मा अबस्थित कोरिखामा विसं २०७३ पुसदेखि होमस्टे सुरु गरिएको हो । त्यहाँका ३२ घर मध्ये २७ मा बसोबास छ । आज ६ घरमा होमस्टे सुविधा छ । एक पटकमा जम्मा १२ जना त्यहाँ रात विताउन सक्छन् । 

तिनै शिक्षाविद् श्रेष्ठका हातबाट पुस ११ गते होमस्टे उद्घाटन गराइयो । होमस्टे थाल्नु  अघि गाउँमा खानेपानीको दुःख थियो, उनकै पहलमा त्यो समस्या टरेको छ ।   
 
गाउँका घर उत्तर फर्केका छन् । झ्यालबाटै अन्नपूर्ण, माछापुच्छे«, मनास्लु, हिमालचुली लगायत हिमालको दर्शन मिल्छ । मनास्लु र हिमालचुलीको त रुपै बेग्लै देखिन्छ । तल मरस्याङदी किनारका दृश्य विछट्टै सुन्दर देखिन्छ । 
    
कोरिखाको अर्को बिशेषताः गुरुङ संस्कृति । गाउँलेले चुड्का (कौरा), झयाउरे र बाह्मासे घाटु जोगाएका छन् । मेलापर्वमा परम्परागत ढँगले नाच्छन् । अचेल पर्यटकको डिमान्ड अनुसार पनि आँगनमा नाच्छन् उनीहरु ।   

गाउँमा ढिकि, जाँतो चलाएका दृश्य सामान्य हुन् । गाउँलेहरु कृषि कर्ममा निर्भर छन् । उनीहरु धान, मकै, कोदो, तोरी, काँक्रो, साग, मुला, सिमी,  लौका, बोडि, स्कुस आदि उत्पादन गर्छन । गाई, भैंसी, गोरु, बाख्रा र कुखुरा पाल्छन् । लोकल कुखरा केजीको ६ सय र बोकाको मासु धार्नीको हजार रुपैयाँ पर्छ । 

चार वर्ष अघिसम्म कोरिखाले सुन्तला गाउँको चिनारी बनाएको थियो । गाउँलेहरु सुन्तला बेचेर चामल किन्थे । तर रोगले सुन्तला सखाप पारिदियो । गाउँका युवा विदेशिए । हुनेखानेहरु पनि गाउँ छाड्न थाले । त्यसैले उनीहरु वैकल्पिक आम्दानीको बाटो खोज्दै थिए । होमस्टेले उनीहरुमा आशाको किरण थपेको छ ।  

बन्दीपुर बजारबाट हिँडेरै जाँदा पनि एक घन्टा मात्र लाग्छ कोरिखा पुग्न । ‘होमस्टेलाई  तालिम जरुरी छ’, श्रेष्ठ भन्छन्, ‘र, गाउँको प्रचार प्रसारमा जोड दिइरहेका छौं ।’  

गाउँलेहरुले अहिलेसम्म कुनै तालिम पाएका छैनन् । सामुदायिक होमस्टेका रुपमा पर्यटन कार्यालयमा दर्ता गराउने योजना सुनाए गाउँका युवा लिलबहादुर गुरुङले । त्यसो त बन्दीपुर बजार, बिमलनगर, रामकोट लगायत अन्य गाउँमा पनि होमस्टे गराइन्छ । तीनलाई आपसमा जोड्न सके राम्रै हुन्छ ।

गाउँका महिला पौरखी छन् । उनीहरु हस्तकलाका सामाग्रिहरु चकटी, गुन्द्री, ढकिया, टोपी आदि बुन्छन् । गाउँ घुमेर फर्किंदा ती सामान कोसेलीका रुपमा ल्याउन भुल्नु हुँदैन । त्यसले स्थानीय सीप संरक्षणमा प्रोत्साहन मिल्छ ।   

जेठ २९ गते गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराका अध्यक्ष तारानाथ पहारीसँगै होमस्टे अनुगमन गर्नेक्रममा हामी कोरिखा पुगेका थियौं । त्यहाँ हामीले पर्यटनको प्रचुर सम्भावना देख्यौं । गाउँलेलाई तालिम र आरामदायी बेडका लागि संघ संस्थाले सहयोग गरिदिए राम्रै हुने थियो । 

हिमाल खुल्ने मौसम दशैंताका हामी फेरी कोरिखा घुम्नेछौं । 

कसरी पुग्ने : काठमाडौ–डुम्रे १३१ किमि बसमा । डुम्रे–कोरिखा १२ किमि । डुम्रेबाट दिउसो ३ बजे धरमपानी जाने बस छुट्छ । त्यसले ४ बजे बाहुन भञ्ज्याङ पु¥याउँछ । भञ्ज्याङबाट १० मिनेट हिँडे कोरिखा गाउँ ।   

 

प्रकाशित: १० असार २०७४ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App