८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बन्दले दार्जिलिङ अस्तव्यस्त

इलाम – लगातारको आमहड्तालका कारण भारत दार्जिलिङको जनजीवन अस्तव्यस्त बनेको छ । गोर्खाल्यान्ड राज्य माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले आह्वान गरेको आमहड्ताल डेढ सातासम्म जारी रहँदा यहाँको सबै क्षेत्र ठप्प भएको हो।

भाषाको विषयलाई लिएर दार्जिलिङमा ८ जुनयता दिनहुँ तनाव भइरहेको छ । पश्चिम बंगाल सरकारकी मुख्यमन्त्री ममता बेनर्जी क्याबिनेट बैठक गर्न दार्जिलिङ आएका बेला मोर्चाले बैठकस्थलबाहिर विरोध प्रदर्शन गरेको थियो । त्यसअघि करिब ७ दिनसम्म सामान्य नै रहेको दार्जिलिङसहित पश्चिम बंगालका पहाडी क्षेत्रको जनजीवन यतिबेला निकै कष्टप्रद बनेको छ । शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको मोर्चाले १५ जुनमा अकास्मात् आमहड्ताल आह्वान गरेको हो । 

१३ जुनमा दार्जिलिङमा बसेको सर्वदलीय बैठकले आम हड्तालबाहेकका आन्दोलन कार्यक्रम घोषणा गरेको थियो । तर, १५ जुनमा प्रहरीले मोर्चाको पातलेबासस्थित कार्यालयमा छापा मारेर धनुकाण, कोदालो, बञ्चरो, हसियाजस्ता सामान बरामद गरेपछि आक्रोशित मोर्चाले तत्काल अनिश्चितकालीन आमहड्ताल आह्वान गरेको हो । त्यसयता दार्जिलिङसहित, मिरिक, कालेम्पोङ, डुवर्सलगायत क्षेत्र ठप्प छन् । बन्दका कारण यातायात, बजार, पसल, होटल, स्कुल, उद्योग, कलकारखाना लगायत सबै ठप्प छन् । १४ र १५ मा पनि यहाँका चिया मजदुरले सेवा–सुविधा वृद्धको माग राख्दै आमहड्ताल गरेका थिए । बन्द जारी रहेका बेला प्रदर्शनमा उत्रिएका मोर्चा कार्यकर्तामाथि जुन १७ मा गोली प्रहार हुँदा मोर्चाका ३ कार्यकर्ताको मृत्यु भएको थियो । सयभन्दा बढी घाइते भएको मोर्चाको अनुमान छ । 

‘बन्दले व्यवसाय धरापमा पर्न लागिसक्यो, खुल्ने छाँट छैन,’ होटल व्यवसायी लाक्पा भोटियाले भने, ‘भर्खरे खोलेको होटलमा पर्यटक नआउँदा लगानी डुब्ने भयो ।’ यहाँ घुम्न आएका हजारौं पर्यटक आम हड्तालका कारण अलपत्र परेका थिए । उनीहरूलाई भने प्रहरीले स्कर्टिङ गरी तराई पुर्‍याएको जनाएको छ । अहिले छिटफुट रूपमा मात्रै यहाँ पर्यटक छन् । बन्दका कारण स्कुल खुल्न नसक्दा हजारौं विद्यार्थीको पढाइ प्रभावित भएको छ । 

बन्दले अलपत्र टाढाका विद्यार्थीलाई भने स्कुलको गाडीमा बन्दस्थलबाहिरसम्म पुर्‍याउन मोर्चाले अनुमति दिएको छ । ‘अलपत्र परेका विद्यार्थीलाई स्कुलकै गाडीले गोर्खाल्यान्डको सीमासम्म पुर्‍याउँदैछन्,’ मोर्चा सहसचिव विनय तामाङले नागरिकसँग भने, ‘आन्दोलनका अन्य सबै कार्यक्रम यथावत छन् ।’ मोर्चाले घर जान सहज बनाएपछि विद्यार्थीहरू भने धमाधम दार्जिलिङ छाडिरहेका छन् । 

दार्जिलिङका विद्यालयमा पूर्वी नेपालको इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लाबाट पनि विद्यार्थीहरू पढ्न गएका छन् । कतिपय भारतीय निजी स्कुलका सवारस्ले नेपाली भू–भागमै आएर दिनहुँ विद्यार्थी ओसार्नेसमेत गरेका छन् । सयौंको संख्याका नेपाली विद्यार्थी भारत पश्चिम बंगालका विद्यालयमा अध्ययनरत रहेको पशुपतिनगरका छिरिङ योल्मूले बताए । उनले भने, ‘पारि (भारत)का स्कुलहरू बन्द भएपछि अहिले धमाधम विद्यार्थीहरू घर फर्किरहेका छन् ।’ मोर्चासहितका दलले २९ जुनमा अर्काे बैठक बसेर आन्दोलनका थप कार्यक्रम गर्ने योजना बनाएपछि भने यहाँको तनाव अझ लम्बिने देखिएको छ ।  

शुक्रबार गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए)का ४५ मध्ये ४३ सभासद्ले पदबाट राजीनामा दिएका थिए । क्षेत्रीय प्रशासनिक निकाय जिटिए त्यागेर उनीहरूले गोर्खाल्यान्डका लागि मात्रै आन्दोलन र वार्ता गर्ने अडान राखेका छन् । दार्जिलिङमा आन्दोलन चर्किएपछि भूमिगत रहेका जिटिए प्रमुख तथा मोर्चा अध्यक्ष गुरुङले पत्रकारहरूलाई शुक्रबार श्रव्य–दृश्य सामग्री पठाउँदै ‘अब जिटिएको च्याप्टर क्लोज’ भएको घोषणासमेत गरेका थिए ।

जिटिए त्यागेर मोर्चा आन्दोलनमा जानु र अन्य दलले पनि समर्थन गर्दै जानुले दार्जिलिङसहित पहाडी क्षेत्रको अवस्था निकै तनावपूर्ण हुने देखिएको छ । समस्या समाधान गर्ने प्रयासमा पश्चिम बंगाल राज्य सरकारले बिहीबारका लागि सिलिगुडीमा बोलाएको बैठक मोर्चाले बहिष्कार गरेको थियो । बंगाल सरकारले सामाजिक सञ्जाल र मिडियाले हिंसा भड्काउन सहयोग पुर्‍याएको भन्दै दार्जिलिङमा इन्टरनेट र स्थानीय सञ्चारमाध्यमसमेत बन्द गराएको छ ।

प्रकाशित: १० असार २०७४ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App