स्मृति

विमोचन

शनिबार, १० असार २०७४, १२ : ४८ डा. तारानाथ शर्मा


विमोचन भन्ने शब्दको सामान्य अर्थ दासताबाट मुक्ति हो । यसको लक्ष्य कसैले थुनेर, समातेर वा बाँधेर राखेको मान्छे, प्राणी वा कुरालाई खोलेर, फुकालेर वा छोडेर स्वतन्त्र तुल्याउने काम हो । यता केही वर्षदेखि यस शब्दको प्रयोग विशेष अर्थ प्रकट गर्ने रुपमा हुन थालेको छ । यसलाई छापिसकेको पुस्तक कुनै समारोहमा सार्वजनिक रुपले देखाई लौ छापिएर तमतयार छ, पढ्नुहोला भन्ने सूचना दिने वा प्रचार गर्ने अर्थमा लगाइन थालेको छ । विमोचनको यो प्रयोग लगातार वर्षौंसम्म भइरहेकाले र पुस्तक मुद्रित भइसकेपछि कुनै समारोहको आयोजना गरेर त्यसलाई विमोचन गराउने प्रथा व्यापक भइरहेकाले यस्तो कार्यप्रति ध्यान खिचिने नै भयो । 

झन्डै–झन्डै २० वर्षजति अघिको माघमा त्यस्तै भयो । म साईबाबाको पुट्टपर्ती आश्रममा दुई हप्ता बिताई तिरुपति बालाजीको दर्शन गरेपछि घर फर्कन भनी बैंग्लोर पुगेको थिएँ । शान्ता हाँप र झाँप गर्दै ढोका ढकढक्याउन थाली, ‘सुनिस्स्यो, अचम्म भएछ ।’

म एक–एक चिठी खोल्थेँ र बडाहाकिम तथा उनका परिवारका चिठीमा ‘आफ्नो विमोचन चाहने भए शान्तिपूर्वक आत्मसमर्पण गर्नू’ भनेर लेख्थेँ । हरेक टिप्पणीपछि आफ्नो नाम लेख्न म बिर्सन्नथेँ । महिना डेढ महिनाभित्र मैले ५०औँ चिठीमा ‘विमोचन’ शब्द लेख्दै सही गरेर पठाए हुँला ।

‘के भएछ ?’ ढोकाको छेस्किनी खोल्दै मैले सोधेँ । ‘हेरिस्स्योस् न पुस्तक विमोचनको अनौठो चित्र ।’ एउटा बाँदरले पुस्तक खोलेर मञ्चबाट देखाइरहेको चित्र अंग्रेजी दैनिकको मुखपृष्ठमै अंकित थियो । शान्ताले नजिकको मन्दिरमा दर्शन गरेर फर्कंदा तल होटलको स्वागत कक्षमा सो समाचारपत्र देखेकीले अचम्म मान्दै हाम्रो कोठामा ल्याई र हामी दुवैले त्यो अनौठो खबर चाखसाथ पढेका थियौँ । 

खबर पनि गजबैको थियो, कर्णाटक राज्यका एक प्रसिद्ध साहित्यकारको नयाँ ग्रन्थ छापिएछ । चलनबमोजिम त्यस ग्रन्थको विमोचन गर्ने इच्छा लेखकका मनमा उठेछ । विमोचन गर्ने इच्छा तर गराउने कसका हातबाट ? ती लेखकले आफ्नो राज्यका राजनीतिक नेताबाट मैजस्तो वाक्क भइसकेका रहेछन् । 

बुद्धि, ज्ञान र विवेकबाट वञ्चित व्यक्ति नै आजको राजनीतिका शीर्षस्थ बनेका हुन्छन् । ग्रन्थको कुनै मर्म नबुझ्ने, ग्रन्थकारिताको कुनै गरिमा थाहा नपाउने र कला तथा काव्यलाई अनुत्पादन मानी षड्यन्त्र, घुस र चाप्लुसीका भरमा माथिल्ला आसन ओगट्न पुग्ने त्यस्ता व्यक्तिहरूका हातबाट आफ्ना महŒवपूर्ण पुस्तकको विमोचन गराउन उनलाई मन नपरेकाले आफैँ हातले रंगीन फिता खोली झिलिमिली कागतले बेरेको ग्रन्थ सार्वजनिक गर्ने उद्देश्यले उनले राज्य केन्द्र बैंग्लोरमै भव्य बौद्धिकसभा बोलाएका रहेछन् । तर, आमन्त्रित प्रबुद्ध पाठकले सभाभवन खचाखच भएपछि जब लेखकले आफ्नो नयाँ पुस्तक हातमा लिएका थिए, कताकताबाट बुलुक्क उफ्रँदै मञ्चमा लेखककै कुर्सीछेउ टेबलमाथि एउटा मझौला आकारको बाँदर अकस्मात आइपुग्यो । त्यस ढेँडुले लेखकका हातबाट उक्त किताबको पोको खोस्यो र श्रोतातिर हेरेर ङिच्च हाँस्तै त्यसलाई बाँधेको फित्ता खोल्यो । हाम्रा ठुल्ठूला राजनीतिक नेताभन्दा त्यो बाँदर कता हो कता दक्ष रहेछ । विमोचनको फित्ता खोल्न नसकेर वा जान्दै नजानेर तिनले रुन्चे हाँसो प्रदर्शन गरेको त तपाईंहरूले धेरैपटक देखिसक्नुभएकै छ । पुस्तकको लेखक वा प्रकाशक फुर्तिलो रहेछ भने अघि सरेर विमोचनकारलाई फित्ता फुकाउने वा चुँडेर पुस्तक खोल्ने सहायताका लागि परम भक्तिसाथ सेवक हुँदै पुग्छ र सेवाबाट प्रशन्नचित्त विमोचनकार घोडाझैँ हिन्हिनाउँदै पुस्तक उचालेर त्यसको आवरण श्रोतालाई घुमाइघुमाई देखाउँछ । तर बैंग्लोरको बाँदर सहायक, सेवक वा चाकर खोज्ने नक्कली नेपाली नेताजस्तो थिएन । उसले फूर्तिसाथ फित्ता खोल्यो, पुस्तक बेरेको कागत एकातिर पन्छाएर सिद्धहस्त अभिनेताले जस्तै त्यसको आवरण श्रोतातर्फ उचालेर देखायो र परर्र पृष्ठहरू पल्टाएर हेरेजस्तो गरेपछि चटक्कसँग त्यस पुस्तकलाई लेखको हातमा राखिदियो । श्रोताले उन्मुक्तभावले थपडी बजाए । यसरी विमोचनको विधि सम्पन्न भयो । त्यसपछि ग्रन्थकारले र केही विश्लेषकले त्यस पुस्तकका विषयमा उपस्थित जनसमक्ष औपचारिक छलफल गरुन्जेल त्यो ज्ञानी बाँदर दर्शकसँगै शान्तसँग बसेको देखियो । सभा समाप्त भएपछि त्यो कता गयो, कसैले कुनै भेउ पाएनन् ।

काठमाडौंमा अनेकौँ ढाँचाले टाउको उठाउँछन्, खुब हल्लिन्छन् र मच्चिँदै पोखिन्छन् ती, अनि समय बित्तै जाँदा बासी भएर, झर्कोलाग्दा भएर र अर्थहीन भएर सडेर जान्छन् ती । त्यस्तै ढाँचा एक व्यक्तिले ‘विमोचन’ शब्दलाई हटाएर बढी सार्थक प्रयोग पहिलोपल्ट गर्दै छु भन्ने भ्रमात्मक प्रचारका साथ ‘लोकार्पण’ लेख्न र भन्न थाल्यो । वास्तवमा ३०औँ वर्षदेखि चलेको ‘लोकार्पण’ नौलो शब्द थिएन । मित्रराष्ट्र भारतमा विशेषगरी बंगाली र हिन्दीमा साहित्यकार ‘लोकार्पण’सित प्रशस्त परिचित छन् । तिनकै देखासिकीमा जे कुरा पनि जे सिद्धान्त पनि र जे शब्दावली पनि हिन्दीबाटै सिक्ने, नक्कल गर्ने र पछ्याउने प्रकृतिमा हुर्केका एक स्वनामधन्य महालोचक गुरुबाट निज व्यक्तिले ‘लोकार्पण’ पनि फुत्काएछ र नेपालीमा त्यस शब्दको बाढी नै ल्याइदियो । यसै प्रसंगमा ‘लोकार्पण’ को बढी प्रयोगबाट वाक्क भई केही वर्षअघि ‘जापानी साहित्यको इतिहास’ शीर्षक ग्रन्थको विमोचन गर्दा ‘विमोचन’ शब्द राख्न मन नलागेकाले त्यसका लेखक क्षेत्रप्रताप अधिकारीले ‘पाठकार्पण’ शब्दको प्रयोग गरेका थिए । तर ‘लोकार्पण’, ‘पाठकार्पण’ र ‘प्रकाशनको समाचार’ जेसुकै प्रयोग गरे पनि कुरो चाँहि विमोचन नै हो भन्ने मेरो ठोकुवा छ, किनभने ‘विमोचन’ भनेको दासताबाट छुट्कारा हो भने ‘लोकार्पण’ भनेको जनतामा चढाउने र ‘पाठकार्पण’ भनेको पाठकमा चढाउने काम हो । चाहे ‘पाठकार्पण’ गरियोस् या पाठकमा चढाइयोस्, चाहे ‘लोकार्पण’ गरियोस् र जनतामा चढाइयोस्, कुरो त लुकिरहेको वा अँध्यारामा गुम्सिरहेको ग्रन्थलाई फुक्का गरेर वा विमोचित गरेर प्रचार गर्नु नै यस प्रकारको गतिविधिको मूल उद्देश्य हो ।

जेहोस्, ‘विमोचन’ शब्दलाई म ज्यादै माया गर्छु । यो शब्द मेरो मुटुको ज्यादै नजिकमा छ र यसको सम्बन्ध मसित २००७ सालको क्रान्तिताका नै गहिरोसित गाँसिएको थियो ।

मलाई २००७ सालको झलझली सम्झना छ । झापा जिल्लालाई पूर्ण रूपले मुक्तिसेनाको कब्जामा ल्याउने नेतात्रय नरेन्द्रनाथ बाँस्तोला, भैरवप्रसाद आचार्य र बलबहादुर चेम्जोङ थिए । उनीहरूकै अगाडि झापास्थित राणा ब्यारेकका सुसज्जित सेनाले बन्दुकका टुप्पामा सेता रुमाल बाँधी पंक्तिबद्ध रुपले बाहिर निस्केर आत्मसमर्पण गरेका थिए । आत्मसमर्पणको प्रेरणा ती राणाका सिपाहीले कुनै व्यक्ति विशेषबाट पाएका थिएनन् । विराटनगरमा ट्र्याक्टरलाई ट्यांकजस्तै देखिने गरी सजाएर राणा बडाहाकिम उत्तम शमशेरलाई आत्मसमर्पण गराएपछि त्यही ट्र्याक्टर ल्याएर झापा आफ्नो कब्जामा लिने मुक्तिसेनाको दाउ थियो, तर त्यस ट्यांकजस्तो ट्र्याक्टरलाई गिरिजाप्रसाद कोइरालाले झापातर्पm ल्याउँदा गन्तव्य स्थानमा पुग्नुअगावै त्यो भत्केको थियो । ट्यांक बिग्रे पनि बारुदका गोला बनाएर बम पड्काई ब्यारेक उडाइदिने धम्की मुक्तिसेनाले दिएपछि र केही गोला पड्काएपछि राणाका सिपाहीले आत्मसमर्पण गरेका थिए । चकचकी भन्ने ठाउँमा पुग्दा भत्केको सो ट्र्याक्टर मर्मत गरेर गिरिजाप्रसाद कोइराला झापा पुग्नुअगावै समस्त जिल्ला पहिले नै मुक्त भइसकेको थियो ।

झापा राणाशासनबाट मुक्त भएपछि मुक्तिसेना इलामतर्फ बढ्यो । मुक्तिसेनाको ठूलो समूह लगत्तै इलाम पुग्न सकेन । यसैबीच पूर्वी इलाम भने स्थानीय व्यक्तिका प्रयासले राणामुक्त मानिन्थ्यो । बलबहादुर लामा वा फिक्कल आदर्श चन्द्र पाठशालाका ‘सेकेन्ड सर’ नै त्यस मुक्त क्षेत्रका नेता थिए । म सोह्रवर्षे फुच्चो मुक्तिसेनामा काम गर्थें र त्यसताका तिनै ‘सेकेन्ड सर’ को सचिवजस्तो भएको थिएँ । झापा मुक्त भइसकेपछि इलामको पूर्वी भागमा फर्केर हामीमध्ये कतिजना त्यतिबेला आइतबारे भन्ने डाँडागाउँमा इलामस्थित बडाहाकिम बसेको बजारतर्फ गोप्य रणनीति मिलाएर होसियारीसाथ बढ्ने योजना थियो । यसबीचमा म मेरो सीमित बुद्धि अनुसार आफ्नै प्रकारले जनक्रान्तिलाई सहयोग गर्न थालेँ । इलाम गौँडामा जाने समस्त चिठीपत्र त्यही बाटो गरी हुलाकीले बोकेर ल्याउँथ्यो । दार्जिलिङतिरबाटै हुलाक चल्थ्यो, जुन इलाम हुँदै पहाडैपहाड धनकुटातर्पm जान्थ्यो । भारतको सुकियापोखरी हुलाकका पोका पशुपतिनगर हुलाकका हाकिमले लाहछाप लगाई हुलाकीका काँधमा बोकाई इलाम बजारतर्पm हिडाउँथे । पशुपतिनगर सीमादेखि लिएर आइतबारे डाँडो र तल जोगमाईसम्म नै हाम्रो अधिकार क्षेत्र मानिन्थ्यो । दुवैतिरका हुलाकी पोका खोलेर एकएक जाँचेर मात्र छाड्ने मलाई ‘सेकेन्ड सर’ को आदेश थियो । म ती पोका खोल्थेँ र बडाहाकिम र उनका पारिवारिक सदस्यका व्यक्तिगत चिठी समेत खाम खोलेर भित्र हेरीकनै जाँच्थे । ‘अर्काको चिठी खोल्नु हुँदैन र खोल्यो भने साढे ७४ लाख गाई मारेकोसरह पाप लाग्छ भन्ने संस्कारमा हुर्केकाले हरेक चिठी खोल्दा मेरो मन ढक्क फुल्थ्यो । तर जति ढुक्क गरेर मन फुले पनि म एक–एक चिठी खोल्थेँ र बडाहाकिम तथा उनका परिवारका चिठीमा ‘आफ्नो विमोचन चाहने भए शान्तिपूर्वक आत्मसमर्पण गर्नू’ भनेर लेख्थेँ । हरेक टिप्पणीपछि आफ्नो नाम लेख्न म बिर्सन्नथेँ । महिना डेढ महिनाभित्र मैले ५०औँ चिठीमा ‘विमोचन’ शब्द लेख्दै सही गरेर पठाए हुँला ।

जतिबेला हाम्रा नेता नरेन्द्रनाथ बाँस्तोला र बलबहादुर चेम्जोङ झापा विजय गरेपछि मुक्तिसेनालाई इलाम हान्न तमतयार पार्दै थिए, मेरा ‘सेकेन्ड सर’ बलबहादुर लामा भने आइतबारेमा मुक्ति सेनाका मूल समूहको स्वागतको तयारीमा व्यस्त थिए । र मचाहिँ बडाहाकिमका चिठी खोलेर ‘आत्मसमर्पण गर’ भनेर लेख्दै थिएँ । आज आएर आपूmलाई नै सातसाले क्रान्तिका प्रणेता मान्ने कतिपय इलामे नेता इतिहासको त्यस महŒवपूर्ण भूकम्पबाट पूर्ण अनभिज्ञ रही बालसुलभ लुकामारी खेल्दै चियाबारीभित्रका गोरेटामा कुहिरहेका थिए ।

हुन पनि त्यतिबेलाका इलामका बडाहाकिम विज्ञान शमशेर जंगबहादुर राणाले हाम्रा मुक्ति सेनाको मूल समूह आइतबारे शिविरमा आइपुग्नेबित्तिकै हाम्रा नेता नरेन्द्रनाथ बाँस्तोलालाई शान्तिपूर्वक आत्मसमर्पण गर्ने वचनबद्धताका साथ पत्र पठाए । मुक्ति सेना ढुक्क भएर इलाम जिल्लाको केन्द्रमा पुग्यो, अनि बडाहाकिम विज्ञान शमशेरले भव्य समारोहबीच प्रशासनको अभिभारा बाँस्तोलाका हातमा सुम्पे । कार्यक्रम सकिएपछि विज्ञानशमशेरले बाँस्तोलालाई सोधे, ‘तारानाथ शर्मा भन्ने व्यक्ति खोई त ?’

म नजिकै उभिएको थिएँ । ‘ए ताराबाबुलाई खोज्नुभएको ? यी यहीँ हुनुहुन्छ ।’ बाँस्तोलाले चिनाउनुभयो । 

म विज्ञानशमशेरजस्ता जल्दाबल्दा राणा बडाहाकिमलाई अन्याय र अत्याचारको, शक्ति र अहंकारको, निरंकुशता र एकतन्त्रात्मकताको अजेय, अभेद्य र अगम्य किल्लाका भयावह सेनानीका रुपमा हेर्थें । 

त्यस्ता क्रूरताका प्रतिमूर्तिलाई अगाडि उभिएर ठाडै म विमोचन र आत्मसमर्पणको आग्रह मौखिक रुपले गर्ने आँट अवश्य पनि गर्न सक्ने थिइनँ । आत्मसमर्पण गरिसकेपछि त उनको शासकीय मुखाकृतिबाट धप्पधप्प ज्योतिको मुस्लो निक्लिरहेको थियो भने मेरा विमोचन शब्दका झटारा उनका वैयक्तिक पत्रभित्र प्राप्त गर्दा उनी कस्ता रक्तिम अनुहारका भए होलान् । निजी चिठीमा प्रजातन्त्र, मुक्ति र विमोचनका व्याख्या लेख्ने धृष्टता गर्ने मजस्ता केटालाई अघिल्तिर भेटेका भए उनले मलाई काँचै चपाउने थिए होलान् । तर अहँ, उनी त शिष्टता, सभ्यता र सुसंस्कारका ज्वलन्त नमुना पो रहेछन् । 

‘सुन्नु‘भो बाँस्तोलाजी मैले त तारानाथ शर्मा भन्ने व्यक्ति पाको वा देश खाई शेष भएको छिप्पिइसकेको हुनुपर्ने ठानेको थिएँ । जेहोस् किशोर भए पनि बुद्धिमान मान्छु म तारानाथ शर्मालाई !’

अनि उनका कलकलाउँदा हात अगाडि बढाएर उनले मेरो हात समाए । ठूला मान्छेसँग हात मिलाएको त्यही मेरो पहिलो अनुभव थियो । 

‘त्यसरी निजी चिठी खोल्नुपरेकामा म ज्यादै दुःिखत छु, क्षमा माग्छु,’ मैले भनेँ ।

 ‘थाहा छ बाँस्तोलाज्यू, मैले यसरी शान्तिपूर्वक आत्मसमर्पण गर्ने जुन मानसिकता बनाउन सकेँ, त्यस कार्यमा तारानाथ शर्माकै हात छ,’ विज्ञानशमशेर मुस्काए । विमोचनको रहस्य हामी दुईमै रहिरह्यो, अरु त मुक्तिको सुखमा मग्न थिए ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...

विराट र अनुस्काको इटालीमा लगनगाँठो

विराट र अनुस्काको इटालीमा लगनगाँठो

भारतीय क्रिकेट टोलीका कप्तान विारट कोह्ली र बलिउड अभिनेत्री अनुस्का शर्मा वैवािहक बन्धनमा बाँधिएका छन्। उनीहरुले आज इटालीको फ्लेरेन्स सहरमा...

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...