coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

स्वामीजीको प्रवचन

मञ्जु काँचुली

मेरी विमात्री (सौतेनी) आमाले पहिले आफ्ना हातगोडा सफासँग धुनुभयो । अनि फेरि नुहाउनुभयो हात र गोडाका नङमा राता पालिस पनि लगाउनुभयो । त्यतिबेलाको चलन गोडाका कुर्कुच्चा र गोडाका वरिपरि माहुर (रातो रंग) पनि लगाउनुभयो । छिमेकीहरू कुरा काट्थे, ‘यो विधवीलाई कति धेरै रातो मन परेको होला ।’ मलाई भने उहाँको नङको रातो पालिस मात्र होइन, उहाँको निधारको अखण्ड रातो टीका पनि औधि मन पथ्र्यो, यसैले कि रातो लगाउनु भनेको हाम्रो प्रचलित संस्कृतिको विरोध गर्नु हो । संस्कृतिको विरोध गरेको मलाई औधि मन पर्छ ।

प्रवचन सुरू हुन लागिसक्यो । मैले आफ्नी विधवी विमात्रीलाई खोजेँ । कहीँ भेटिनँ । एक्लै सोचेर आफ्नो अशान्त मनलाई शान्त पारेँ– शौचालय  जानु’भा होला, अहिले आइहाल्नुहुन्छ नि ! मसँगै बसेकी एउटी भक्तिनीले मलाई भनिन्, ‘किन त्यसै पिरोलिएकी त्यसरी तिमी ? उहाँ स्वामी महाराजको भक्तिसेवामा भित्र कोठामा जानुभा’को छ, अहिले आइहाल्नुहुन्छ नि !

एक दिन छिमेकी राष्ट्रको ध्वनि र उच्चारण गरेर नेपालीमै भक्तिदर्शनका प्रवचन दिने एक आत्मज्ञानी महायोगी ब्रह्मचारी बाबाको काठमाडौंको सहरमा अचानक प्रवेश भयो । उहाँ यो रंगीचंगी सहरमा थोरै दिनमा नै निकै लोकप्रिय बन्नुभयो ।

लोकतन्त्र होस् कि निरंकुशतन्त्र, उहाँ सबै लोक र सबै कालका (भूत, भविष्य, वर्तमान) ब्रह्मज्ञाता योगी महाराज हुनुहुन्थ्यो । उहाँका नाममा भण्डारा, सालिक, संगठन, चन्दा, अनधिकृत भूमि, गाईगोठहरू कति हो कति ! साम्राज्य नै फैलँदै थियो । राजनीतिको धन्दा फस्टाएको भूमिमा ब्रह्मज्ञान वा अध्यात्मज्ञानको धन्दा पनि झन्–झन् राम्ररी फस्टाउँदै गएको थियो, यो बहुसंख्यक हिन्दू भएको उर्वरा पुण्यभूमिमा । म एउटी सत्र वर्षकी काँची केटीलाई यो यति ठूलो लाभदायक क्षेत्रको फुटिकौडी ज्ञान थिएन । म पनि आफ्नी विमात्री (सौतेनी आमा)सँग धार्मिक प्रवचन सुन्न एक दिन साथै जाने भएँ, किनकि त्यतिबेला उहाँ महिला भएकीले खान्दानी परम्परा जोगाउन एक्लै हिँड्नु हुँदैनथ्यो । सन्त ज्ञानी ब्रह्मचारी बाबाको प्रवचन सुन्न म पनि खुसी हुँदै उहाँको साथ लागेँ । मेरा दुवै आमा विधवा थिए, उहाँ जेठी हुनुहुन्थ्यो । मेरा बुबाको स्वर्गारोहण हुँदा म सात वर्षकी थिएँ ।

सांस्कृतिक भवनको प्रवचन कक्ष सिनेमा हलभन्दा पनि रौनकमय थियो । वातावरण देखेर म चकित भएँ । म चकित भएका केही विषय र कारण निम्न थिए ः

(क) बूढीहरूको बृहत् शृंगार, अधबैँसेका त्योभन्दा अलि कम शृंगार र यौवनाहरू बिनाशृंगारमै उज्याला थिए ।

(ख) प्रवचन कक्षलाई धूप, अत्तर, महिलाले अनुहार र शरीरमा घसेका शृंगारिक प्रशोधनका साधन, पूmल, फलपूmल, मिठाई, अखण्ड अन्न, अखण्ड दीप आदिका मिश्रित अनगिन्ती सुगन्धले प्रदक्षिणा गरिरहेका थिए ।

(ग) सन्त, त्यागी, सन्न्यासी, ब्रह्मचारी योगी महाराजको दिसा धुने लोटाको पानीमा भक्तिनीद्वारा मिसाइएका एक सिसी ल्यामेन्डर अत्तर थियो र प्रिय महिला भक्तजनको उपहारस्वरूप विभिन्न प्रकारका महँगा क्रिम पाउडर पनि नेपथ्यमा देख्न पाइयो ।

(घ) भक्तजनभन्दा भक्तिनीको भीडभाड बढी थियो । उनीहरू प्रवचन सुन्नभन्दा आफ्ना गहना, साडी र शृंगार मिलाउन बढी व्यस्त देखिए ।

(ङ) महिला समाजका साडी, गहना, महँगा शृंगार आदिको प्रतिस्पर्धात्मक मुस्कान र हेपान एक–अर्काको हेराइ, बुझाइ र वार्तालापमा प्रस्ट थियो ।

योगी महाराजका कालजयी वाणी यसरी व्यक्त भए, ‘तृष्णालाई बिस्तारै–बिस्तारै त्याग्दै जानुपर्छ । काम–वासनालाई त्यागेर गीताको कर्मयोग धारण गर्नुपर्छ । कामना वा विषय भोगलाई छाडेर यही जुनीमा मोक्ष प्राप्त गरेर आनन्द महसुस गर्नुपर्छ । यही नै मानव धर्म हो । योगमा शक्तिबल हुन्छ । भोगमा शक्ति र बलको विनाश हुन्छ ।’ 

प्रवचनको सारसंक्षेप पनि यही नै थियो । यति भन्नासाथ अकस्मात् स्वामी महाराजलाई भाउन्न होलाझैँ गरी रिँगटा लाग्यो । धेरैले अड्कल काटे, ‘भोको बसेर र अन्न नखाने जीवन व्रतले गर्दा होला । त्यसो त दिनदिनै योगीलाई फलपूmल, मिठाई र नगदको भोग लाग्ने गरेकै थियो । ‘खै के भा’को हो ब्रह्मचारी बाबालाई ! सबैको चिन्ताको विषय यही भयो ।

मञ्चबाट अर्को घोषणा भयो, ‘स्वामी महाराज शयन–कक्षमा केही समय आराम गरेर मात्र प्रवचन–कक्षमा फर्कनुहुनेछ ।’ 

एक घन्टा इन्टर्भल भयो । केहीबेरपछि एक अधबैँसे भक्तले स्वामीजीको पाउ मिचेर सेवा गर्दै धर्म र मोक्ष प्राप्ति गर्ने लक्ष्यले बिनाअनुमति नै सरासर जबर्जस्ती अन्तर कक्षमा प्रवेश गरे । उनको मनमा सानो शंकाको लहरको झोक्का एकदेखि अर्को कुनासम्म फैलियो, ‘स्वामीजी समाचारको आदानप्रदान पो गर्नमा व्यस्त छन् कि !’ 
धत्, यस्तो पनि चिताउनु ! पाप हो पाप ! 

ती भक्तले देखे, स्वामीजी महाराज मस्त निदाउनुभएको, उहाँको सम्पूर्ण शरीर गेरु रङको सिरकले ढाकेको । भक्तले ध्यानपूर्वक अगाडि उभिएर दुई हात जोडे । ब्रह्मचारी स्वामी महाराजको एकचोटि पाउ छोएर र मिचेर यही जुनीमा पुण्य प्राप्ति गर्ने उनलाई इच्छा जाग्यो । मौका नगुमाउने सल्लाह ती भक्तलाई उनको अन्तर्मनले दियो । त्यसैले उनले स्वामी महाराजको गोडापछि गएर गेरु सिरक उघारे । भक्तले स्वामीजीको गोडासँगै रातो नेलपालिसले सुसज्जित एक स्त्री पनि मायावी लीलामा अर्धमूच्र्छितझँै देखे । त्यसपछि त ती भक्त, ब्रह्मचारी महाराज र भक्तिनीका जम्मा गरी तीन जोर आँखा एकैचोटि चकित भए । तीनै जनालाई भ्रमझैँ लाग्यो । किनकि स्वामीजीका अमर वाणीअनुसार हामी बाँचेको संसार नै भ्रमजाल त हो ।

बाहिर प्रवचन कक्षमा ठूलो स्वरमा उद्घोषण भयो, ‘भक्तजनहरू ! शान्त भएर आ–आफ्नो आसनमा बसिदिनुहोला । स्वामी महाराजको प्रवचन फेरि सुरु हुँदै छ । प्रवचनको विषय हो, ‘भौतिक युगमा ब्रह्मचारीको महŒव र तिनका फाइदा र काइदाहरू के–के हुन् ।’ वातावरण स्तब्ध भयो । भक्तजनहरूलाई पनि आफ्नो ध्यान, सांसारिक विषय वा मायावी वस्तुबाट हटाएर प्रवचनमा केन्द्रित गर्न बडो मुस्किल भयो । मनमनै आफ्ना संग्रहित तृष्णा र आन्तरिक मागका विषयवस्तुको मनन गर्दै थिए, साक्षात् भगवान् स्वामी महाराजको उपस्थितिमा मनमनै व्यग्रतापूर्वक एक–एक गरी माग्नका लागि भनेर । विश्वास नै हो सबभन्दा ठूलो कुरा ! त्यत्तिकैमा ब्रह्मचारी महाराजको स्टेजमा उपस्थिति भयो । यतिबेला उहाँको शिर न दर्शकवृन्दमा केन्द्रित थियो न त स्वयंसेवी भक्तजनमै थियो । भर्खर गृहप्रवेश गरेकी नवदुलहीको झैँ भुइँतिर मात्रै नुहेको थियो ।

स्वामी महाराजले ओढ्नुभएको गेरु रङको सिरक अकस्मात् दनदनी बलेको आगलागीमा परिणत भयो । किनकि यस्तै भएको भक्तले आफ्नै आँखाले देखे । भक्तले आफ्ना आँखा दुवै हातले मिचे मानौँ उनले आफ्नो आँखाको पलकलाई मण्डी वा पाखी बनाएर ठूलो समुद्रको पानीमा चोपले र त्यो गेरु सिरकभित्रको आगो निभाउने प्रयत्न गरे । अझै झिल्का बाँकी नै थिए । भक्तले आँखा उघारे । स्वामीजीको महावाणीलाई सम्झे, ‘भ्रम हो भ्रम ! यो दृष्टिभ्रम हो ! संसार भ्रम हो ! प्राणीहरू भ्रम हुन् ! मायाजाल भ्रम हो ! मनुष्य क्रीडा भ्रम हो ! यो जगत् नै भ्रम हो !’ 

उसो भए सत्य के हो त ? उनको (भक्तको) मनको घनघोर प्रश्न यही रह्यो । त्यो पनि स्वामी महाराजलाई नै सोध्नुपर्ला । तर ती निभ्न नसकेका आगोका झिल्का स्वामी महाराजका प्रवचनमा लयबद्ध दुवै आँखामा ती भक्तले हरहमेसा देखिरहन लागे ।

प्रवेश गर्नेबित्तिकै मञ्चमा प्रसारित आवाजको ध्वनिले हल गुञ्जित भयो, ‘ब्रह्मज्ञानी महाराजकी जय ! सन्तज्ञानी महात्माकी जय ! ब्रह्मचारी बाबा सन्न्यासी महाराजकी जय ! सद्गुरु स्वामी महाराजकी जय !’ सबै दर्शक र भक्तजनले नारालाई दोहोर्‍याएर आफ्ना–आफ्ना सद्भाव व्यक्त गरे । ध्वनि, प्रतिध्वनिले हल गुञ्जियो । स्वामी महाराजको शिर यसपटक अलिकति अझै निहुरियो ।

प्रवचन सुरू हुन लागिसक्यो । मैले आफ्नी विधवी विमात्रीलाई खोजेँ । कहीँ भेटिनँ । हलभित्र खोजेँ । हलबाहिर खोजेँ, उहाँ कहीँ पनि भेटिनुभएन । दिनदहाडै उहाँ कसरी कहाँ बेपत्ता हुनुभयो ? मलाई अचम्म लाग्यो । एक्लै सोचेर आफ्नो अशान्त मनलाई शान्त पारेँ– शौचालय  जानु’भा होला, अहिले आइहाल्नुहुन्छ नि ! उहाँको साथी बनेर म आएकी, मलाई उहाँले अवश्य नै छोडेर घर जानुहुन्न । उहाँको एक्लै हिँड्ने बानी पनि त छैन नि ! अनि मसँगै बसेकी एउटी भक्तिनीले मलाई भनिन्, ‘किन त्यसै पिरोलिएकी त्यसरी तिमी ? उहाँ स्वामी महाराजको भक्तिसेवामा भित्र कोठामा जानुभा’को छ, अहिले आइहाल्नुहुन्छ नि !

प्रवचन सुरू हुनुअघि नै उक्त भक्तले स्वामी महाराजलाई प्रश्न गरे, ‘स्वामी महाराज ! उसो भए सत्य के हो ?’ उहाँबाट उत्तर भयो, ‘ब्रह्मसत्य जगत् मिथ्या !’ फेरि प्रश्न,  उसो भए स्वामीजी, ब्रह्म के हो ?’ 

स्वामीजीको उत्तर, ‘ब्रह्म सृष्टिको लीलाक्रम हो । अहम् ब्रह्म !!! हलमा भीषण सन्नाटा छायो । सम्पूर्ण भक्तजन ‘अहम् ब्रह्म’को ध्यानमा मग्न र लीन भए ।

प्रकाशित: १० असार २०७४ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App