४ वैशाख २०८१ मंगलबार
अन्य

मजबुत कमला

–एस खड्का
घरमा सागको मुठोदेखि कुच्चोसम्म, चामलको बोरादेखि तेलसम्म, छोराहरूको स्कुलको किताबदेखि पकेटमनीसम्म,  बत्तीको बिलदेखि धाराका समस्यासम्म धान्छिन्, पोखराकी कमला पहारी । काठमाडाैं, ठमेलमा झोला, ज्याकेटलगायत ट्रेकिङ सामानका व्यापार गर्दै आएकी उनी काठमाडाैंको अल्कापुरी कोलोनीमा दुई छोरासँग बस्छिन् । भन्छिन्, ‘काठमाडौँ आएको १४ वर्ष भयो, व्यापार सुरु गरेको चाहिँ २२ वर्ष भयो, काठमाडौँ आउनुअघि पोखरामा व्यापार गर्थें ।’
कमलाको विवाह २० वर्षको उमेरमा भएको थियो । विवाह गर्दा उनी स्नातकमा पढ्दै थिइन् । बिहेपछि उनले ‘एजुकेसनल प्लानिङ एन्ड म्यानेजमेन्ट’ विषयमा स्नातकोत्तर गरिन् । बिहेपछि श्रीमान्–श्रीमती मिलेर ट्रेकिङ सामानको व्यापार गर्न थाले । एक लाख रुपैयाँमा पोखराको लेकसाइडमा खोलेको पसल आफ्नो र श्रीमान्को रातदिनको मेहनतले करौडौँको बन्न पुगेको उनी बताउँछिन् ।  बिस्तारै, उनीहरूका विचार मिल्न छाडे, मतभेद बढ्न थाल्यो । सहनै गाह्रो भएपछि छुट्टिएको कमला बताउँछिन् ।

उनले विवाह गरेको २५ वर्ष भइसक्यो । पाँच वर्षअघि उनी श्रीमान्बाट छुटिइन् । कानुनी रूपमा उनीहरू छुट्टिएको चाहिँ एक वर्ष भयो । ‘समाजले मलाई श्रीमान्ले छोडेकी भनेर बुझ्छन्, समाजले बाहिरी रूपमा मात्रै हेर्छ, त्यसभित्रको वास्तविकतासँग उनीहरूलाई मतलब हुँदैन,’ उनी भन्छिन् ।
अहिले छोराहरूको हेरचाहदेखि पसलको जिम्मेवारी सबै उनको काँधमा छ । धारा, बत्तीदेखि घरका सानातिना समस्या उनी आफैँ हल गर्छिन् । ‘केही सामान टुटेफुटे आफैँ बनाउँछु, मान्छे बोलाएर साध्य लाग्दैन,’ उनी भन्छिन् । आफैँले सबैकुरा गर्नुपरेपछि ‘डू अर डार्ई’को अवस्था आउने उनी बताउँछिन् । भन्छिन्, ‘पानीमा छिरेपछि कि पौडिएर बाँच्नुप¥यो कि त्यहीँ डुबेर मर्नुपर्यो ।’
महिलाले कमजोर होइन बलियो बन्नुपर्छ भन्ने उनलाई लाग्छ । ‘आफू जति कमजोर भयो अप्ठ्याराले उत्तिकै हिर्काको हिर्काई गर्छन्, त्यसैले महिलाले मजबुत हुनुपर्छ,’ उनी भन्छिन् । कुनै जमानामा काठमाडौँमा घर, गाडी, ट्रेकिङको सामान बनाउने फ्याक्ट्री र पसल भएकी कमला अहिले आर्थिक कठिनाइ झेलिरहेको बताउँछिन् । ‘अहिले मेरा छोरा सार्वजनिक यातायातमा सवारी गर्छन्, मसँग एउटा थोत्रो स्कुटर मात्र छ, तैपनि हामी खुशी छौँ,’ उनी भन्छिन् ।
अहिले आफूले जीवन फेरि जिरोबाट सुरु गरिरहेको उनी बताउँछिन् । भन्छिन्, ‘मैले त्यो बेलामा मृत्युको बाटो रोजेको भएँ मेरा छोराहरूले कसरी बाँच्न सिक्थे ? अहिले उनीहरू मलाई हेरेर जिउन सिक्दैछन् ।’
उनी उमेरले ४५ वर्षकी भइन् ।  बिहान एक/डेढ घण्टा योगा गर्छिन् । विभिन्न पुस्तक र पत्रपत्रिका पढ्नु उनको बानी नै भइसक्यो । बिहान नौ बजेदेखि राति ११ बजेसम्मको उनको समय पसलमा बित्छ । ‘पसलमा धेरै किसिमका मान्छे आउँछन् । अनेकथरी मान्छेसँग अन्तक्रिया गर्न पाइन्छ, धेरै कुरा सिक्न पाइन्छ,’ उनी भन्छिन् ।  
उनको जेठो छोरा बीबीएमा पढ्छ । कान्छो छोरा १० कक्षामा अध्ययनरत छ । राति घर फर्केपछि छोराहरूलाई समय दिने उनी बताउँछिन् । ‘छोराहरूसँग कुरा गर्छु, उनीहरूका समस्या सोध्छु, उनीहरूले पनि पसल, व्यापार र मेरो दैनिकीमा चासो राख्छन्,’ उनी भन्छिन्, ‘घडीलाई बेवास्ता गर्दिनँ, घडीसँगै हिँड्छु ।’
पहिलादेखि नै घर चलाउँदै आएकाले आफूलाई घरभित्र र घरबाहिरको कुनै काम गाह्रो नलाग्ने कमला बताउँछिन् । भन्छिन्, ‘घर धान्न पाउनु गर्वको कुरा हो । श्रीमान्को भन्दा आफ्नै नामले चिनिनुपर्छ ।’

(नागरिक परिवारबाट साभार)

 

प्रकाशित: १० असार २०७४ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App